१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भोटखोला–४ को गोलाबजार । यो बजारनजिकै अपर अरुण आयोजनाको बाँधस्थल निर्माण हुने भएको छ । फाइल तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नयाँ पत्रिका संखुवासभा
२०७९ पौष ३० शनिबार १०:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अपर अरुणमा पर्ने जग्गाको मुआब्जा वितरण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७९ पौष ३० शनिबार १०:०९:००

पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण सुरु गरेको छ ।

मुआब्जा लिनका लागि स्थानीयहरू जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय खाँदबारीमा भिड लागेका छन् । प्रभावित स्थानीयहरू वडाबाट सिफारिसपत्र बोकेर जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा कागजी प्रक्रिया पूरा भएपछि मात्रै प्रभावितहरूको बैंक खातामा प्रशासन कार्यालयले मुआब्जा पठाउने गरेको छ । 

अपर अरुण आयोजनाले भोटखोला गाउँपालिकाभित्रका वडा नं २, ४ र ५ साबिक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण सुरु गरेको हो । अपर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढाएको छ । 

आयोजनाबाट प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारले मुआब्जा पाउनेछन् । आयोजनाबाट प्रभावित स्थानीयलाई मुआब्जा वितरण सुरु गरेको अपर अरुण आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । उनका अनुसार हालसम्म भोटखोला वडा नं २, हटियाका २५ घरपरिवारलाई करिब १० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ ।

यसअघि नै तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको संयोजकत्वमा बसेको बैठकले आयोजनाको मुआब्जा निर्धारण गरिसकेको छ । जसले उत्तर–दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरेको छ भने कोसी राजमार्गले छोएको, तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, हटिया ८, ९ र चेपुवा १ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला–३ को अलैँची बाली नभएको पाखाबारीको प्रतिरोपनी सात लाख रुपैयाँ कायम गरिएको थियो ।