१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ ३१ शुक्रबार ०६:२४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

५३.३४ अर्ब स्वदेशी र ९७.०६ अर्ब विदेशी ऋणमा १०६१ मेगावाटको अपर अरुण बन्ने

दुई खर्ब १४ अर्ब लागत अनुमान गरिएको आयोजनामा एक खर्ब ५० अर्ब ४० करोड ऋण जुटाइने

Read Time : > 2 मिनेट
२०७९ भदौ ३१ शुक्रबार ०६:२४:००

प्रस्तावित राष्ट्रिय गौरवको आयोजना एक हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत अगाडि बढाइएको उक्त आयोजनामा स्वदेशी संस्थाहरूले ५३ अर्ब ३४ करोड ऋण लगानी गर्ने पक्का भएको छ । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल)को नेतृत्वमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले उक्त आयोजनामा ऋण लगानी गर्ने भएका हुन् ।

बिहीबार काठमाडौंमा विशेष समारोह गर्दै प्रवद्र्धक कम्पनी अपर अरुण हाइड्रोपावर लिमिटेड र ऋण लगानी गर्ने संस्थाहरूबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यद्यपि, यो अन्तिम सम्झौता भने होइन । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समयमै आयोजनाको निर्माण सुरु गर्ने बताइन् । साथै, ऊर्जासचिव सुशीलचन्द्र तिवारीले उक्त आयोजना पावर बैंकका रूपमा अघि बढ्ने बताए । यसको निर्माण गर्न सबै निकायले सहयोगसमेत गर्नुपर्ने उनको भनाइ छ । 

हाललाई ऋण लगानी गर्ने गरी समझदारी मात्रै भएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले बताए । आवश्यक प्रक्रिया पूरा गरी एक वर्षभित्र ऋण लगानीसम्बन्धी अन्तिम सम्झौता (वित्तीय व्यवस्थापन) गरिने उनले जानकारी दिए । ऋणको ब्याजदरलगायतका सर्तहरू अन्तिम सम्झौतामा टुंगो लाग्ने उनले बताए । साथै, त्यसवेलासम्म थप स्वदेशी साझेदार बैंक तथा वित्तीय संस्थाहरूसमेत खोज्ने योजना छ । सम्भवतः कर्मचारी सञ्चय कोष र बैंकहरू पनि यसमा सहभागी हुने गौतमको भनाइ छ । 

संखुवासभामा बन्ने उक्त आयोजनामा कुल दुई खर्ब १४ अर्ब ८६ करोड लागत अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत रकम अर्थात् एक खर्ब ५० अर्ब ४० करोड लगानी भने ऋणमार्फत जुटाउने योजना छ । कुल ऋण रकममध्ये ५३ अर्ब ३४ करोड स्वदेशी हुने पक्का भइसकेको छ । बाँकी ९७ अर्ब ६ करोड ऋण भने विश्व बैंकले दिने प्रतिबद्धता जनाइसकेको छ । विश्व बैंकले युरोपियन इन्भेस्टमेन्ट बैंकसँग मिलेर सफ्ट लोन (सहुलियत कर्जा) दिन लागेको हो । सोही प्रयोजनका लागि विश्व बैंकको टोलीले दुईपटक आयोजना बन्ने ठाउँको अवलोकनसमेत गरिसकेको छ ।

अब छिट्टै विश्व बैंकसँग ऋण लगानीसम्बन्धी समझदारी हुने आयोजनाको मुख्य प्रर्वद्धक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर यो आयोजना विकासको काम गरिरहेको छ ।  अबको एक वर्षमा स्वदेशी र विदेशी ऋणलाई अन्तिम टुंगो लगाएर संयुक्त रूपमा वित्तीय व्यवस्थापन गरिने प्राधिकरणको भनाइ छ ।

 विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङ भन्छन् ‘विश्व बैंकसँग छिट्टै ऋण लगानीसम्बन्धी समझदारी हुनेछ । प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर यो आयोजना विकासको काम गरिरहेको छ ।  अबको एक वर्षमा स्वदेशी र विदेशी ऋणलाई अन्तिम टुंगो लगाएर संयुक्त रूपमा वित्तीय व्यवस्थापन गरिनेछ ।’
 

यस्तै, कुल लागतको ३० प्रतिशत अर्थात् ६४ अर्ब ४६ करोड लगानी भने कम्पनीले स्वपुँजीमार्फत गर्नेछ । स्वपुँजीको ४९ प्रतिशत रकम ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअनुसार सर्वसाधारणमार्फत उठाइनेछ । बाँकी ५१ प्रतिशत भने प्रर्वद्धक कम्पनीले लगानी गर्नेछ ।   लगानी आउने करिब पक्का भएपछि प्राधिकरणले २०२३ बाट निर्माण कार्य सुरु गर्ने योजना बनाएको छ । हाइड्रोसम्बन्धी पूर्वाधारको निर्माण कार्य भने सन् २०२४ को अन्त्यबाट मात्रै सुरु गर्ने योजना छ । आयोजना बनाउन झन्डै ६ वर्ष लाग्ने अनुमान छ । सोहीअनुसार सन् २०३० भित्र आयोजनाको निर्माण सम्पन्न गरिसक्ने प्रवद्र्धक कम्पनीका सिइओ फणीन्द्रराज जोशीले बताए ।

‘हामीले चालू आवमा निर्माणको सम्पूर्ण तयारी पूरा गर्छौँ । सम्भवतः कात्तिकबाट विस्थापित हुने २२ घरपरिवार तथा जग्गाधनीलाई मुआब्जा वितरण गर्न सुरु गर्छाैँ,’ उनले भने, ‘त्यसपछि अन्य प्राविधिक तयारी पूरा गरेर निर्माण सुरु गर्छाैँ ।’ अहिले आयोजना बन्ने स्थानसम्म सडक पुर्‍याउन झन्डै २४ किलोमिटर सडक बनाउनुपर्ने हुन्छ । चालू आवमा उक्त सडक बनाएर अर्काे वर्षदेखि आयोजना निर्माण गर्ने बताइएको छ । 

सरकारले सन् १९८५ मा यस आयोजनाको अवधारणा अघि बढाएको थियो । सन् १९८६ मा यसको सम्भाव्यता अध्ययन भएको थियो । त्यसपछि लामो समयसम्म यस आयोजनासम्बन्धी थप गतिविधि हुन सकेन । २०११ मा उक्त आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिइएको थियो । हाल यसको निर्माणका लागि टेन्डर डिजाइन गर्ने तथा सुपरिवेक्षणका लागि परामर्शदाता छनोट गर्ने काम भइरहेको छ ।  

पिकिङ रन अफ रिभरको उक्त आयोजनाको अरुण नदीमा एक सय ८३  मिटर लामो र करिब सय मिटर उचाइको बाँध निर्माण गरिनेछ । त्यहाँको पानीलाई ८.५ किलोमिटर लामो सुरुङमार्फत छोंग्राकस्थित भूमिगत जलविद्युत्गृहमा खसालिनेछ । उक्त आयोजनाबाट वार्षिक चार अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुनेछ । सुक्खा याममा भने त्यसको ३० प्रतिशत विद्युत् उत्पादन हुनेछ । त्यो विद्युत्लाई पावरहाउसबाट करिब ६ किमि लामो चार सय केभी डबल सर्किटको प्रसारण लाइन निर्माण गरी हाइटार संखुवासभास्थित सबस्टेसनमा जोडिनेछ । यस आयोजनाले कुल गार्हस्थ्य उत्पादनमा ०.५ प्रतिशत योगदान गर्ने अनुमान छ । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राख्न ऊर्जा मन्त्रालयले हालै मन्त्रिपरिषद्मा प्रस्तावसमेत पठाएको छ ।