मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २८ बिहीबार ०९:०१:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गाम्बिया मृत्यु प्रकरण : भारतको औषधि उद्योगमाथिको संकट

मिसावटयुक्त औषधिकै कारण सन १९९८ मा मुम्बईको एक ठूलो अस्पतालमा १४ व्यक्तिको मृत्यु भएको थियो, जुन मुद्दा अझै टुंगिएको छैन 

Read Time : > 1 मिनेट
२०७९ पौष २८ बिहीबार ०९:०१:००

गत जुलाईदेखि अक्टोबरका बीचमा गाम्बियामा ७० बालबालिका मिर्गाैला बिग्रिएर मरे । डिसेम्बरमा उज्वेकिस्तानमा मिर्गाैला र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिएर १८ व्यक्तिको मृत्यु भयो । गाम्बियाको संसदीय समिति र उज्वेकिस्तानका अधिकारीका आरोपअनुसार यी दुवै मामलामा भारतीय कम्पनी उत्पादित खोकीको झोल औषधि (कफ सिरप)को हात छ । भारतका लागि यो एउटा दुःस्वप्न हो ।

उज्वेकिस्तानको मामलामा औषधि उत्पादक मेरियन बायोटेकलाई फार्मेक्सिलबाट निलम्बित गरिएको छ । फार्मेक्सिल भारत सरकारसम्बद्ध एउटा व्यापार समूह हो, जसले फर्मास्युटिकल निर्यातमा भूमिका निर्वहन गर्छ । यो कम्पनीको बेवसाइट अहिले बन्द देखिन्छ ।

गाम्बियामा गडबडी पाइएको भनिएको औषधि उत्पादन गर्ने मेडन फर्माका एक कार्यकारीले एक भारतीय अखबारलाई बताएअनुसार उनको कम्पनी यी मृत्युबाट स्तब्ध र दुःखी छ । कम्पनीले आफ्नो फेसबुक पेजमा भारतस्थित एक सरकारी औषधि जाँच प्रयोगशालाको परीक्षणमा आफ्नो झोल औषधि समस्यारहित पाएको दाबीसहित एक रिपोर्ट पोस्ट गरेको छ । यसैबीच, गाम्बियाको सांसदहरूले मेडनलाई मुद्दा चलाउन सिफारिस गरेका छन् । यसबारे आफ्नो भनाइ राख्न द इकोनोमिस्टले गरेको अनुरोधमा यी दुवै कम्पनीले प्रतिक्रिया दिएनन् ।

यी दुवै साना र निजी स्वामित्वअन्तर्गतका कम्पनी हुन् । यद्यपि, यी कम्पनीका उत्पादन (कफ सिरप) र मृत्युबीचको सम्बन्ध प्रमाणित नै भने भइसकेको छैन । भारतमा गरिएको नमुना परीक्षणमा अहिलेसम्म मेडन दोषमुक्त छ । मेरिअनको अनुसन्धान भर्खरै सुरु भएको छ । यद्यपि यी घटनाले भारतको विशाल औषधि उद्योगको स्नायु केन्द्रलाई नै हल्लाएको छ । भारतका तीन हजार फर्मद्वारा सञ्चालित १० हजार कारखानाले वर्षमा लगभग ५० अर्ब अमेरिकी डलरबराबरको औषधि उत्पादन गर्छन्, जहाँबाट विश्वको २० प्रतिशत र अमेरिकाको जेनेरिक औषधिको ४० प्रतिशत आपूर्ति हुन्छ ।

भारतका तीन हजार फर्मद्वारा सञ्चालित १० हजार कारखानाले वर्षमा लगभग ५० अर्ब अमेरिकी डलरबराबरको औषधि उत्पादन गर्छन्, जहाँबाट विश्वको २० प्रतिशत र अमेरिकाको जेनेरिक औषधिको ४० प्रतिशत आपूर्ति हुन्छ । 

आफूलाई विश्वको फार्मेसी भन्न रुचाउने भारतका औषधि उत्पादकहरू स्क्यान्डल (काण्ड) लागि अपरिचित छैनन् । सन् २०२२ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले चार ठूला भारतीय कम्पनीमाथि इम्पोर्ट अलर्ट जारी गरेको थियो । सामान्यतः विदेशी कारखानाको निरीक्षण पछि जारी हुने यस्ता सूचनाले कुनै विशेष खेपमा खराबीको भौतिक प्रमाणविना नै अमेरिका निकासी अवरुद्ध गर्न सक्छन् । 

पर्याप्त प्रक्रिया नपु¥याइने र कमजोर गुणस्तर नियन्त्रण अत्यन्त सस्तो मूल्यका अँध्यारा पाटा हुन् । यही पक्षले विगत केही दशकयता भारतीय औषधि उद्योगको वृद्धिलाई मलजल गरेको छ । औषधि उद्योगका पूर्वकार्यकारी दिनेश सिंह ठाकुर र कानुनविद प्रशान्त रेड्डीको नयाँ पुस्तक ‘द ट्रुथ पिल : द मिथ अफ ड्रग रेगुलेसन इन इन्डिया’मा सन् १९७० को दशकयता बजारमा प्रवेश गरेका खतरनाक औषधिका कम्तीमा पाँच घटनालाई दस्ताबेजीकरण गरिएको छ ।

अरू थुप्रै घटनामा कमजोर उत्पादन विधिले अप्रभावकारी औषधिको उत्पादनतर्फ लगेका हुन सक्छन् । रेड्डी भन्छन्, ‘जटिल र अपारदर्शी निरीक्षण प्रणालीले गर्दा यी कमजोरी ओझेलमा परेका छन् । उनी र ठाकुरजस्ता ओलोचकले व्यक्त गरेका चिन्तालाई प्रायः बेवास्ता गरिन्छ वा घरेलु उद्योगको प्रतिष्ठामा आँच पु¥याएको भन्दै सरकारबाट धम्कीपूर्ण कानुनी नोटिस पनि आउने गरेका छन् ।’

रेड्डी पछिल्लो त्रासदीप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया निकै सुस्त भएको र सम्बन्धित आपूर्ति शृंखलाको विस्तृत सार्वजनिक संपरीक्षणको अभाव छ भन्छन् । यस्ता घटनामा छिटो निष्कर्षमा पुग्ने आशा कमै मात्र गर्न सकिन्छ । सन् १९९८ मा मुम्बईको एउटा ठूलो अस्पतालमा १४ जनाको मृत्यु भएको एक घटनामा अहिले पनि मुद्दा चलिरहेको छ । यस्तो अलमलले धेरै बिरामीको ज्यानलाई जोखिममा पार्छ । यसले अन्ततः औषधि उत्पादकलाई पनि हानि पुर्‍याउँछ । किनकि यो उद्योगको स्वास्थ्य तीनका ग्राहकको स्वास्थ्यसँग जोडिएको छ । 
– द इकोनोमिस्ट