मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Thursday, 19 December, 2024
जाँचका लागि पिसाब संकलन कसरी गर्ने ?
२o७९ पौष २५ सोमबार o९:२४:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पिसाब जाँच गर्दा ध्यान दिनुस्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार o९:२४:oo

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले नै हो विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्दछ ।

  कस्तो अवस्थामा पिसाब जाँच गरिन्छ ?
अनेकौँ रोगका लागि पिसाबमार्फत अनेकौँ जाँच गर्न सकिन्छ । साधारणतया बहिरंग र अन्तरंग विभागबाट पठाइने जाँच भनेको सामान्य पिसाब जाँच मात्र हो । सामान्यतया निम्न अवस्थामा पिसाब जाँच गर्ने गरिन्छ :

  • पिसाब पोल्ने, पिसाबमा रगत देखा पर्ने
  • साबिकभन्दा छिटो पिसाब लाग्ने, पिसाब निख्रिएर नआउने
  • पिसाबको धारा मसिनो आउने, अन्डकोष तथा तल्लो पेट दुख्ने
  • कोखा दुख्ने र काँप ज्वरो आउने, पिसाब चुहिने समस्या
  • मूत्र प्रणाली तथा त्यसका वरपरका अंगसम्बन्धी कुनै शल्यक्रिया गर्नुपूर्व आदि ।

 जाँचका लागि पिसाब संकलन कसरी गर्ने ?
प्रयोगशालाकर्मी, बहिरंग अथवा अन्तरंग विभागमा कार्यरत नर्स, कर्मचारी तथा स्वास्थ्य सहायकले बिरामी र उनका आफन्तलाई पिसाब जाँचका लागि पिसाब संकलन गर्ने तरिकाबारे उचित परामर्श गर्नु आवश्यक हुन्छ ।

उचित सरसल्लाहविना संकलन गरिएको नमुनाबाट अनावश्यक र गलत तरिकाको रिपोर्ट आउन सक्ने सम्भावना रहन्छ । पुरुषले पिसाब संकलन गर्नुअगाडि लिंग र लिंगवरपरको छाला राम्ररी साबुन पानीले सफा गर्नुपर्छ । त्यसपछि बीच धारको ५—१० मिलिलिटर पिसाब प्रयोगशालाबाट दिइएको भाँडामा संकलन गर्ने र उक्त नमुना तुरुन्त प्रयोगशालामा जाँचका लागि बुझाउनुपर्छ । 

महिला बिरामीले पनि नमुना संकलन गर्नुअगाडि सफा पानीले यौनांग राम्ररी सफा गर्नुपर्छ । त्यसपछि बीच धारको ५—१० मिलिलिटर पिसाब प्रयोगशालाले प्रदान गरेको भाँडामा संकलन गरी तुरुन्त बुझाउनुपर्ने हुन्छ ।

बच्चामा पिसाब संकलन गर्ने प्रक्रिया आफैँमा अलि जटिल कार्य हो । बच्चा बुझ्ने भइसकेको छ भने समस्या नहोला । तर, कम उमेरको बच्चामा पिसाब फेर्ने अंगमा विशेष किसिमको एउटा झोला लगाई नमुना संकलन गर्नुपर्ने हुन्छ । उक्त किसिमको झोला प्रयोगशालाकर्मीको सहयोगबाट उपलब्ध गराउन सकिन्छ । कहिलेकाहीँ आवश्यक परे पिसाब गर्ने ठाउँबाट क्याथेटर लगाई पिसाबको नमुना संकलन गर्नुपर्ने हुन सक्छ ।

 क्याथेटर लगाइएका बिरामीको पिसाब संकलन
अस्पतालमा उपचारका क्रममा विभिन्न कारणवश पिसाब गर्ने ठाउँमा क्याथेटर लगाइएका बिरामी पनि प्रशस्त भेटिन्छन् । उनीहरूमा पिसाब जाँचका लागि नमुना संकलन गर्नुपरे क्याथेटरबाट सिरिन्जको मद्दतले पिसाब लिन सकिन्छ अथवा क्याथेटर लगाई एकछिन क्लाम्प गरी त्यहाँबाट पनि बीचको धारको नमुना लिन सकिन्छ । 

पिसाब संकलन गर्दा प्रयोग हुने भाँडो कस्तो हुनुपर्दछ ?
यसरी पिसाब संकलन गर्दा प्रयोग हुने भाँडो नयाँ, सफा, राम्रो अवस्थाको बिर्को भएको र नफुटेको हुनुपर्दछ । पिसाब कल्चर गर्न प्रयोग हुने भाँडा पूर्ण रूपमा कीटाणुरहित हुनुपर्दछ, जुन प्रयोगशालाबाट नै प्रदान गरिन्छ । केही विशेष किसिमका रोगको जाँचका लागि बिरामीको २४ घन्टाको पिसाब संकलन गर्नुपर्ने हुन्छ । यसका लागि प्रयोगशालाबाट एक किसिमको विषादी राखेको ठूलो भाँडो लिन सकिन्छ । 

 संकलन गरिएको नमुना के गर्ने ?
यसरी विभिन्न विधिबाट संकलन गरिएको पिसाबको नमुना तुरुन्त प्रयोगशालामा बुझाउनुपर्ने हुन्छ । प्रयोगशालामा पठाइएको नमुना बढीमा एक घन्टाभित्र जाँच गरिसक्नुपर्ने हुन्छ । यदि जाँचका लागि केही समय लाग्ने अवस्था भएमा उक्त स्याम्पललाई २–८ डिग्री सेल्सियसको तापक्रममा फ्रिज गरिराख्नुपर्ने हुन्छ ।

 पिसाबमा के जाँच गरिन्छ ?
साधारणतया पिसाबको रङ, रूप, एसिडिटीको तह, सुगर र प्रोटिन हेरिन्छ भने माइक्रोस्कोपमा पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छ । यसरी हेरिने एक–एक कुराको विभिन्न रोग निदान गर्न आ–आफ्नै महत्व हुन्छ । अन्य गरिने जाँचमध्ये पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न किसिमका हर्मोनको जाँच, मूत्र प्रणालीको पत्थरीको विशेष जाँच इत्यादि हुन् ।

चिकित्सकले बिरामीको पिसाबबाट पिसाबको संक्रमण, मूत्र प्रणालीका केही रोग, मूत्र प्रणालीको क्यान्सर, मिर्गौलाको पत्थरीसम्बन्धी विभिन्न किसिमका अवस्थाबारे जानकारी लिने गर्दछन् ।