१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

क्रिकेटमा ‘स्पट फिक्सिङ’ : नेपाली चार र विदेशी तीन खेलाडीमाथि सिआइबीको निगरानी

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५५:oo

काठमाडौंमा जारी टी–२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंका भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालीसहित सात खेलाडीलाई उच्च निगरानीमा राखेको छ । प्रहरीका अनुसार विराटनगर सुपर लिगका क्याप्टेन आन्द्रे म्याकार्थीसहित वेस्टइन्डिजका तीन र नेपाली चार खेलाडीलाई उच्च निगरानीमा राखिएको छ । लिग जारी रहेकै वेला केही खेलाडीले राजधानीको होटेलमा शंकास्पद भेट गरेको सूचनापछि सिआइबीले उनीहरूमाथि निगरानी बढाएको हो । 

सिआइबीका अनुसार केही दिनयता लिगमा आबद्ध खेलाडीले क्रिकेटकै पूर्वखेलाडीसँग गोप्य भेटघाट बढाएको सूचनापछि प्रहरीले पूर्वखेलाडीलाई समेत निगरानीमा राखेको छ । तर, हालसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन । 
सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले टी–२० सुपर लिग क्रिकेटमा ‘म्याच फिक्सिङ’को आशंकामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । उनले भने, ‘टी–२० सुपर लिग क्रिकेटमा ‘म्याच फिक्सिङ’को आशंका छ । ‘स्पट फिक्सिङ’ भएको पनि सूचना आएका छन् । विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौँ । तथ्य संकलनकै चरणमा भएको हुँदा अहिले यसभन्दा धेरै भन्न सकिने अवस्था छैन । तर, अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।’

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै ‘म्याच फिक्सिङको अफर आएको’ भनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एसपीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको थियो । टोलीले विशेषगरी वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ । नेपालको विभिन्न क्लबबाट वेस्टइन्डिजका चार खेलाडी मैदानमा छन् । 

 एसपी सञ्जयसिंह थापा, प्रवक्ता, सिआइबी

‘म्याच फिक्सिङ’को आशंकामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । तथ्य संकलनकै चरणमा भएको हुँदा अहिले यसभन्दा धेरै भन्न सकिने अवस्था छैन । अहिलेसम्म कोही पक्राउ परेका पनि छैनन् ।

अनुसन्धानका क्रममा सिआइबीले नेपाल क्रिकेट संघ (क्यान)को टोलीसँग पनि सोधपुछ गरेको थियो । ‘म्याच फिक्सिङ’को आशंकापछि क्यानले पनि वेस्टइन्डिजका खेलाडीलाई खेलमा रोक लगाएको छ । क्यानका अनुसार टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका गरिएको छ । ब्याटिङ तथा बलिङमा अब्बल खेलाडीलाई क्याप्टेनले खेलमै सहभागी नगराउनुलाई ‘स्पट फिक्सिङ’ भनिन्छ । 

टी–२० लिग कीर्तिपुरस्थित क्रिकेट रंगशालामा १२ दिनदेखि जारी छ । लिगको आयोजक क्यान हो । लिगलाई व्यवस्थापन भने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले गरिरहेको छ । सेभेन थ्री स्पोर्टस्सँग क्यानले आगामी आठ वर्षका लागि लिगको व्यवस्थापन गर्न सम्झौता गरेको छ । लिग जारी रहेकै वेला स्पोर्टस्का सञ्चालक जतिन अहुवालिया ज्यानको असुरक्षा भएको कारण देखाउँदै एकाएक भारत भागेपछि फिक्सिङको आशंका झन् बढेको छ । 

टी–२० लिगकै क्रममा गत १३ पुसमा पनि प्रहरीले रंगशालाबाट बेटिङ गरेको आशंकामा रुपन्देही तिलोत्तमा नगरपालिका– ३ का २८ वर्षीय प्रकाश पाण्डेसहित तीनजनलाई पक्राउ गरेको थियो । त्यस दिन रंगशालामा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल चल्दै थियो । 

बेटिङकै आशंकामा प्रहरीले ३ मंसिरमा कीर्तिपुर क्रिकेट रंगशालाबाट ५० जनालाई पक्राउ गरेको थियो । त्यसवेला रंगशालामा नेपाल र युएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइरहेको थियो । पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले सोधपुछपछि छाडेको थियो । बाँकी ४४ जनालाई भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो । दर्शकदीर्घाबाट पक्राउ गरिएका उनीहरू सबै भारतीय नागरिक हुन् । उनीहरूले मोबाइलमार्फत क्रिकेटमा ‘लाइभ’ बेटिङ गरेका थिए । हारजितको रकम भने अनलाइनबाटै लेनदेन गर्ने गरेको प्रहरीको भनाइ छ ।

ad
ad