हिमाली जिल्ला डोल्पाको दुनैमा सुविधासम्पन्न रंगशाला बन्ने भएको छ। ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने दुनैमा सहरी विकास मन्त्रालयको सात करोड ५० लाख सहयोगमा सुविधासम्पन्न रंगशाला बन्ने भएको हो।
जिल्लाभरिका युवाको खेलप्रतिको रुचिलाई मध्यनजर राख्दै दुनैमा रंगशाला बनाउन लागिएको नगर प्रमुख सुवर्ण बुढाले बताए। स्वास्थ्यका लागि महत्वपूर्ण मानिने खेलका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि जिल्लामा सुविधायुक्त रंगशाला अत्यावश्यक रहेको उनको भनाइ छ।
लामो प्रयासपछि रंगशाला निर्माणका लागि बजेट पार्न सफल भएको बताउँदै यसको डिपिआर भएर पनि टेन्डर खुलिसकेको उनले बताए। सदरमुकाम दुनै ठुलीभेरी नगरपालिकामा पर्ने भए पनि समग्र डोल्पाली युवाको आवश्यकतालाई ध्यानमा राखी रंगशाला निर्माण गर्न लागिएको हो।