लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगितामा आइतबार दुई टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । सामना युवा क्लब तुरतुरे तनहुँ र समाज कल्याण युवा क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेका हुन् । आइतबार भएको क्वाटरफाइनलमा बुद्ध युवा क्लब भोटेओडारलाई १/० गोल अन्तरले हराउँदै सामना अन्तिम चारमा पुगेको हो ।
सामनाको जितमा विपिन कँडेलले १५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । क्वाटरफाइनलमा समाज कल्याण काठमाडौले नखिपोट युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४/२ ले हराएर अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १(१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा समाज कल्याणका एलेक्स, निशान्त, पुस्कर खड्का र सन्तोष श्रेष्ठले गोल गरेका थिए ।
नखिपोटका युवराज ढकाल र करणले गोल गर्दा राम शाही र भरत शाह गोल गर्न चुके।पेनाल्टी अघि भरत शाहले गोल गर्दै नखिपोटलाई अग्रता दिलाएका थिए ।तर, अब्दुल्लाहले गोल गर्दै समाज कल्याणलाई १/१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै नखिपोटका आशिष सुनार र समाज कल्याणका अब्दुल्लाहले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।
अब पहिलो सेमिफाइनलमा बागमती एफसी र सामना एफसीबीच प्रतिस्पर्धा हुनेछ ।दोस्रो सेमिफाइनलमा समाज कल्याण र रोड्स रामपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् । प्रतियोगितामा देशभरका १४ टिमले सहभागिता जनाएको त्रीवेणी युवा क्लबका अध्यक्ष बिनोद गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ ।