श्रीलंकाका राष्ट्रपतिको टेलिफोन, अमेरिका, बंगलादेश, पाकिस्तानले पनि दिए बधाई
छिमेकी भारत र चीनका प्रधानमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई चिठी पठाउँदै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । शुक्रबार एकै दिन सुरुमा भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनियाँ कार्यवाहक राजदूत वाङ जिनले आफ्ना सरकार प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डका नाममा पठाएको चिठी हस्तान्तरण गरेका छन् । शुक्रबारै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भारतीय प्रधानमन्त्री मोदीको चिठी लिएर राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए । मोदीले प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई ट्विटरमार्फत बधाई दिएका थिए भने भारतीय विदेशसचिव विनयमोहन क्वात्राले टेलिफोनमा बधाई दिए । भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्रीलाई शपथग्रहण गरेका दिन फोनमा बधाई दिएका थिए । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेन मोदीको निधन भएकै दिन प्रचण्डले चिठी पाएका हुन् । प्रचण्डले समकक्षी मोदीकी आमाको निधनप्रति ट्विटरमार्फत दुःख व्यक्त गरेका छन् ।
प्रचण्ड प्रधानमन्त्री भएपछि सुरुमा चिनियाँ राजदूतावासका प्रवक्ताको ट्विटर ह्यान्डलबाट बधाई सन्देश आएको थियो । त्यसपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिँदै नेपालको स्थायित्व र उन्नतिका लागि मिलेर काम गर्न इच्छुक रहेको बताए । चिनियाँ प्रधानमन्त्री ली खछियाङले लेखेको चिठीमा बिआरआईअन्तर्गत नेपालको नयाँ सरकारसँग चीनले सहकार्य गर्ने उल्लेख गरेको कूटनीतिक स्रोतले बताएको छ ।
श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले टेलिफोन गरेकोमा प्रचण्डले खुसी व्यक्त गरेका छन् । नेपाल र श्रीलंकाबीच मित्रवत् सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डलाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ट्विटरमा बधाई दिएका थिए । बिहीबार नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बधाई दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहनवाज सरिफले ट्विटरमा बधाई दिएका छन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि प्रधानमन्त्री प्रचण्डलाई चिठीमार्फत बधाई दिएकी छन् । बंगलादेशस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री हसिनाले प्रचण्डलाई बंगलादेश भ्रमणको निमन्त्रणा पनि दिएकी छिन् ।