उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीहरूका समस्याको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन्।
बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरूका समस्याको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन्।
उनले चेम्बरले मुलुकको आर्थिक समुन्नतिको लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताए। उनले मुलुकको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको बताए। अर्थमन्त्री पौडेलले चेम्बरले उठाएका मागहरूलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासंघसँगको छलफलमा अर्थतन्त्र अप्ठ्यारोमा रहेको भन्दै अप्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेलसमक्ष बैंकको उच्च ब्याजदर र चालू पुँजी कर्जाको कारण अर्थतन्त्र संकुचनमा परेको ‘ब्रिफिङ’ गरे।
त्यस्तै, अर्थमन्त्रीसँगको भेटमा सेयर लगानीकर्ता संघका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सेयर लगानीकर्ताहरूले महिनामा १ करोड २० अर्ब रुपैयाँ कर तिर्ने गरेको तर अहिले सेयर बजारमा गिरावट आउँदा लगानीकर्ताको धेरै आम्दानी घटेको बताए।