१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ पौष १३ बुधबार २२:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मानव अधिकार आयोग भन्छ- घटनाको सूक्ष्म अनुसन्धान होस्

चरम यातना दिई कामदारको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार २२:५o:oo

राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको सम्सी गाउँपालिका– २ पर्सा देवाडका ४० वर्षीय खुर्सेद अन्सारीको चरम यातनापछि हत्या भएको घटनाको सूक्ष्म अनुसन्धान हुनुपर्ने जनाएको छ । 

घटनास्थलको अवलोकन, पीडित परिवार र प्रत्यक्षदर्शीहरूसँगको अनुसन्धान र सार्वजनिक भएको भिडियोसमेत हेरेपछि आयोगले घटना चरम यातनाको उत्कर्ष भएको प्रतिक्रिया दिँदै सूक्ष्म अनुसन्धानको माग गरेको हो । 

आयोगको मधेस कार्यालय प्रमुख मञ्जु खतिवडाले घटनास्थल, पीडित परिवार, प्रत्यक्षदर्शी तथा प्रहरीलाई भेटेकी थिइन् । उनले निर्ममतापूर्वक हत्या गरिएको घटनामा मानवताको कुनै ख्याल नगरिएको बताइन । 

नयाँ पत्रिकासँग कुरा गर्दै प्रमुख खतिवडाले भनिन्, ‘योभन्दा बढी यातना कल्पना गर्न सकिँदैन । घटनाको सूक्ष्म अनुसन्धान हुनुपर्छ ।’

उनले घटनास्थल पुग्दा मृतक खुर्सेदले लगाएको ज्याकेट र अन्य कपडाहरू घटनास्थलबाहिर फ्याँकिएको अवस्थामा भेटिएको भन्दै प्रहरीले घटनाका महत्वपूर्ण सबुत प्रमाणहरू त्यसै छाड्नुले प्रहरी घटनाको अनुसन्धानप्रति संवेदनशील नरहेको देखिएको बताइन् । उनले घटनासँग संलग्न हरेक कुरालाई सूक्ष्म तरिकाले अनुसन्धान आवश्यक रहेको थपिन् ।

आरोपितले आफूले यातना दिँदै गर्दाको भिडियो बनाउन लगाएको स्पष्ट देखिएको, तर भिडियो खिच्ने व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरी चुकेको उनले बताइन् । 

उनले घटनास्थलमा थप सबुत प्रमाणहरू हुन सक्ने भएकाले तालिमप्राप्त कुकुर र अनुसन्धान टोली खटाउनुपर्ने अवस्था रहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएकी छिन् । उनले फरार भनिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन आग्रह गरिन् । 

साथै, उनले मृतक खुर्सेदका ६ बालबच्चा रहेकोमा एक छोराबाहेक अरू सबै नाबालिग रहेको भन्दै उनीहरूको भरणपोषणको समेत समस्या देखिएको बताइन् 

तत्काल क्षतिपूर्ति दिन माग 
इन्सेकका मधेस प्रदेश प्रमुख राजु पासमानले पीडित परिवारलाई तत्काल सहायता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

हत्या गरिएका व्यक्तिमाथि निर्भर रहेको परिवार अहिले बिचल्लीमा रहेको भन्दै उनले पीडित विपन्न परिवारलाई तत्काल क्षतिपूर्ति र राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले पनि घटनामा संलग्न हरेक आरोपितलाई पक्राउ गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए । 

गत ६ पुसमा खसी नकाटेको निहुँमा खुर्सेदलाई सोही ठाउँनिवासी ३५ वर्षीय साहु शेष अब्दुस सलामले चरम यातना दिएर गम्भीर घाइते बनाई फालेका थिए । 

मलद्वारमै आगो लगाउने, खुर्सानी, टमाटर, उखुको लौरो कोचिदिने र करेन्ट लगाउने क्रियाकलाप गरी चरम यातना दिएका थिए । नालीमा फालिएको अवस्थामा भेटिएका खुर्सेदको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका तीन आरोपित अझै फरार छन् । 

 

 

ad
ad
ad
ad