काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने–गाभिने (मर्जर हुने) भएका छन् । दुई संस्थाले मर्जर सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरपश्चात् दुवै संस्थाबाट तीन–तीनजना सञ्चालक रहने तथा एकीकृत संस्थाको अध्यक्षमा मिर्मिरे लघुवित्तका हालका अध्यक्ष टेकबहादुर बोहरा रहने जनाइएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेरुडे लघुवित्तका हालका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल रहने गरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको उल्लेख छ ।
एकीकृत संस्थाको केन्द्रीय कार्यालय हालको मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान बनेपामा रहने समझदारीपत्रमा उल्लेख भएको वित्तीय संस्थाका मर्जर एक्विजिसन समितिका संयोजक सन्तोष फुँयालले गराए ।
दुवै संस्थाबीच मर्जर सम्पन्न भई एकीकृत कारोबारपश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँ, शाखा सञ्जाल संख्या दुई सय ५० र सदस्य संख्या तीन लाखभन्दा बढी पुग्ने जनाइएको छ ।त्यस्तै, ऋणी संख्या एक लाख ७५ हजार, निक्षेप ६ अर्ब २५ करोड रुपैयाँ, कर्जा लगानी २० अर्ब रुपैयाँ तथा कर्मचारी संख्या एक हजार तीन सय पुग्ने मर्जर समितिले जनाएको छ ।
विराटनगरमा सम्पन्न भएको उक्त प्रारम्भिक समझदारी हस्ताक्षर कार्यक्रममा मिर्मिरे लघुवित्तका अध्यक्ष टेकबहादुर बोहरा र नेरुडे लघुवित्तका अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरेको जनाइएको छ ।