ललितपुरको लगनखेलस्थित बटुकभैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माण गर्न थालिएको छ । स्कुलले कब्जा गरेको जग्गा खोसेर ल्याएपछि ललितपुर महानगरपालिकाले पुनर्निर्माण थालेको हो ।
लगनखेलको नमुना मच्छिन्द्रनाथ स्कुलले पोखरीको ११२ नम्बर कित्ताको जग्गा लामो समयदेखि अतिक्रमण गरी प्रयोग गर्दै आइरहेको थियो । तर, ३ असार ०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा फैसला गरेपछि महानगरलाई फिर्ता ल्याउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न ०६१ मा सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।
सप्तपातालमा कमलको फुल फुलाउँछौँ : चिरिबावु महर्जन, मेयर ललितपुर महानगर
अघिल्लो कार्यकालमै यो पोखरी पुनर्निर्माण गरी कमलको फूल फुलाउन खोजेको हुँ । तर, मुद्दा लड्दा र डिपिआर तयार पार्दा भ्याइएन । यो कार्यकालको पहिलो ठूलो काम नै सप्तपाताल पुनर्निर्माण हुनेछ । यसलाई मौलिक रूपमै पुनर्निर्माण गरी कमलको फूल फुलाउँछौँ ।
अदालतले सप्तपाताल पोखरीको नाममा उक्त जग्गा कायम गरेपछि महानगरले संरक्षण थालेको हो । सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, अकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्यलगायतले डिपिआर तयार पारेका थिए । एक महिनायता पोखरीलाई पुनर्जीवन दिन पुनर्निर्माण सुरु भएको छ ।
मेयर चिरिबाबु महर्जनले पोखरी संरक्षण गर्न महानगरको तर्फबाट प्रमाण उपलब्ध गराएका थिए । स्कुलको नाममा गइसकेको सार्वजनिक पोखरीको जग्गा फिर्ता भएसँगै पोखरीको क्षेत्रलाई घेराबार लगाई पुनर्निर्माण थालिएको हो ।
०७४ सालमा ललितपुर महानगरमा निर्वाचित भएका मेयर चिरिबाबु महर्जनले पोखरीलाई जसरी पनि जीवित राख्ने घोषणापत्रमा समेटेका थिए । मुद्दा लड्दा र डिपिआर तयार गर्दा अघिल्लो कार्यकालमा सो पोखरी पुनर्निर्माण गर्न नपाएका महर्जनले गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा पुनः चुनाव जितेपछि पुनर्निर्माणलाई प्राथमिकतामा राखे । उनले पहिलो काम नै सप्तपातालमा कमलको फूल फुलाउने रहेको बताएका थिए । ‘मैले अघिल्लो कार्यकालमै यो पोखरी पुनर्निर्माण गर्न खोजेको हुँ, तर मुद्दा लड्दा र डिपिआर तयार पार्दा भ्याइएन, अब यो कार्यकालको पहिलो ठूलो कामको रूपमा सप्तपातालको काम सुरु भएको छ,’ उनले भने, ‘यसलाई मौलिक रूपमै पुनर्निर्माण गरी पानी भर्छौँ ।’
यो पोखरीलाई माछा छाडिने पोखरीका रूपमा पनि लिइन्छ । पोखरीको जग्गा फिर्ता भएसँगै १ असार ०६६ मा सप्तपाताल पुनर्निर्माण उपभोक्ता समिति गठन गरी सुरु गरिएको भए पनि काम अघि बढेन । लगनखेलमा रहेको नमुना मच्छिन्द्र स्कुलले पोखरी बनाउन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । पोखरीको मुद्दा सर्वोच्चमा पुगेपछि लामो समय काम रोकिएको थियो । तर, सर्वोच्चले पोखरीको पक्षमा फैसला गरे पनि डिपिआर तथा योजनाको काम सुरु भएको थियो ।
सांस्कृतिक हिसाबले सप्तपाताल निकै महत्वपूर्ण
सप्तापाताल पोखरी ललितपुरकै फराकिलो र गहिरो मानिन्छ । तर, सहरीकरण र संरचना बढ्न थालेसँगै ०३४÷३५ देखि सप्तपातालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको थियो । जानकारहरूका अनुसार यो पोखरी लगनखेल बसपार्कस्थित अशोक स्तुपासँगै १४ रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो । तर, चारैतिरबाट पोखरी मिचिएपछि हाल करिब चार रोपनी मात्रै बचेको छ । राजकुलो मासिएपछि पोखरी सुक्दै गएको थियो । पोखरी सुकेपछि पोखरीको जग्गा स्कुल तथा अन्य व्यक्तिले कब्जा गरेका थिए ।
तर, प्रमाण नभएकाले सबै जग्गा फिर्ता ल्याउन नसकिएको महानगरले जनाएको छ । यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलोमार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि भने राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेको छ । यो पोखरीमा राख्ने पानीको अन्य स्रोत नभएकाले ट्यांकर तथा भैँसेपाटी र गोदावरी क्षेत्रबाट पाइपद्वारा पानी ल्याएर पुनर्निर्माणपछि पानी भरिने योजना छ ।