१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १० आइतबार o७:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देश मध्यावधिमा जान सक्ने ओलीको दाबी कति बलियो ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार o७:oo:oo

एमाले अध्यक्ष केपी ओलीले शनिबार दुईवटा दाबी गरे । पहिलो– माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको । दोस्रो– देश मध्यावधि निर्वाचनमा जान सक्ने । तर, उनले दाबी गरेजस्तै प्रचण्ड प्रधानमन्त्री नबन्ने र मुलुक मध्यावधिमा जाने–नजाने निक्र्योल अहिलेको गठबन्धन निरन्तर रहने वा भत्किने भन्नेमा भर पर्नेछ । 

भावी सरकारको नेतृत्वलाई लिएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको दाबी कायमै रहेका वेला ओलीले सरकार गठन हुनै नसक्ने अवस्था आएको भन्दै मध्यावधि निर्वाचनको सम्भावना औँल्याएका हुन् । ‘उहाँ (प्रचण्ड)को प्रधानमन्त्री हुने सम्भावना सामान्यतया समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन,’ काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ‘अरूले पनि समयमा कदम चालेनन् भने, समयमा आफू–आफूलाई हेरेनन् भने देश फेरि घुमिफिरीकन मध्यावधितिर जाने सम्भावना छ, जाँदैन भन्न सकिँदैन ।

किनभने, सरकार गठन हुनै सकेको छैन, स्वार्थको टकराव हुन थाल्यो भने सरकार सञ्चालन कसरी हुने ?’राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिँदै छ । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री नियुक्त हुन नसके उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रूपमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके प्रधानमन्त्री पद स्वतः रिक्त हुन्छ । त्यसपछि उपधारा (५) अनुसार सरकार गठन प्रक्रिया अघि बढ्छ । उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

प्रचण्डले प्रधानमन्त्रीको इच्छा गरेको, तर निर्णय गर्न ढिला गरेको समेत ओलीको दाबी छ । ‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर, उहाँले निर्णय गर्न ढिला गर्नुभयो । लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम, जे–जस्ता छन् ती समयमै गर्नुपर्छ । समयमै कुनै काम गरिँदैन भने, समयले नै त्यसको उपलब्धि समाप्त पारिदिन्छ । यदि तपाईंले आँप पाकेकै वेला टिप्नुभएन भने खान पनि पाउनुहुँदैन, बेच्न पनि पाउनुहुँदैन । किनभने त्यो आफैँ झरेर जान्छ,’ ओलीले भने । 

एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले अध्यक्ष ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त हुन लाग्यो मात्रै भनेको स्पष्ट पारे । एमालेले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको थियो भन्ने प्रश्नमा भट्टराईले भने, ‘गठबन्धन त्यागेर सहकार्यमा आउन एमालेले आग्रह गरेको थियो । तर, गठबन्धन कायमै रहेको अवस्थामा त्यतातिर सोच्ने कुरै भएन । मुलुकलाई निकास दिन एमालेले स्वाभाविक रूपमा पहल गर्छ । हामी जिम्मेवार राजनीतिक दल भएकाले मुलुकले निकास पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । मुलुकले निकासै पाउन सकेन भने त मध्यावधिमा गइहाल्छ नि !’ एमाले अहिले पनि पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । 

गठबन्धनलाई सत्ताको मात्रै चिन्ता रहेको ओलीको आरोप छ । दलगत स्वार्थभन्दा माथि उठेर सोच्नुपर्नेमा उनले जोड दिए । ओलीले ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउन सकिन्छ भन्नेमा एमालेको ध्यान रहेको पनि बताए । उनले भने, ‘हामी मूकदर्शक भएर हेरेर बस्न सक्दैनौँ । जेसुकै भए पनि अहिलेको ओरालो लागेको परिस्थितिलाई फेरि सकारात्मक बाटोमा कसरी फर्काउन सकिन्छ ? त्यतापट्टि एमालेको ध्यान छ ।’ 

एमाले नेताहरूले कांग्रेस र एमाले वा एमाले र माओवादी मिलेर सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् । त्यसका लागि पहिला गठबन्धन त्याग्नुपर्ने सर्त एमालेको छ । माओवादीसँग मिलेर सरकार गठन गर्न एमालेका दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रचण्डसँग नियमित सम्पर्कमा छन् । एमाले नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री पद स्विकारेर एमालेसँग सहकार्य गर्न आग्रह गर्दै आएका छन् । तर, माओवादी गठबन्धनबाटै सरकारको नेतृत्व लिएर जाने नीतिमा छ । गठबन्धनमा कुरा नमिले मात्रै अन्य विकल्पमा जाने रणनीति माओवादीको छ । 

मुलुकले निकासै पाउन सकेन  भने त मध्यावधिमा गइहाल्छ नि !
राजन भट्टराई, एमाले स्थायी कमिटी सदस्य

गठबन्धन त्यागेर सहकार्यमा आउन एमालेले आग्रह गरेको थियो ।

तर, गठबन्धन कायमै रहेको अवस्थामा त्यतातिर सोच्ने कुरै भएन । मुलुकलाई निकास दिन एमालेले स्वाभाविक रूपमा पहल गर्छ ।

हामी जिम्मेवार राजनीतिक दल भएकाले मुलुकले निकास पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

मुलुकले निकासै पाउन सकेन भने त मध्यावधिमा गइहाल्छ नि ! एमाले अझै पर्ख र हेरको अवस्थामा छ ।

ad
ad
ad
ad