१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Wednesday, 26 June, 2024
कोटेश्वर–सातदोबाटो सडकखण्डको बालकुमारीस्थित अकासे पुलनजिकै रहेको मुख्य सडकमा अव्यवस्थित फुटपाथ । पैदलयात्रीले दैनिक रूपमा प्रयोग गर्ने यो फुटपाथ धेरै जोखिमपूर्ण छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o७९ पौष ३ आइतबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोटेश्वर–कलंकी सडकखण्ड  धरापजस्तो फुटपाथ

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार o६:२७:oo

देशकै फराकिलो र सुन्दर सडकका रूपमा कहलिएको कोटेश्वर–कलंकी सडकखण्ड पैदलयात्रुका लागि ‘ज्यानमारा सडक’जस्तो छ । गाडी हुइँक्याउन सहज भए पनि मध्य सहरमा रहेको यो सडक पैदलयात्रुलाई भने धराप थापेको जस्तो छ । 

यहाँ न हरियाली देखिन्छ, न आइल्यान्ड नै व्यवस्थित गरिएको छ । न त प्रशस्त फुटपाथ नै छ । चिनियाँ कम्पनीले पाँच वर्षअघि निर्माण सकेको यो सडक वारपार गर्न र फुटपाथमा हिँड्न निकै जोखिमपूर्ण छ ।

फुटपाथमा ठाउँ–ठाउँमा भ्वाङ छन् । सवारीसाधनको तीव्र गतिका कारण सडक पार गर्दा पैदलयात्रुले युद्ध जितेझैँ महसुस गर्छन् । सडकको दुवैपट्टि धेरैजसो ठाउँमा फुटपाथ निर्माण गरिए पनि कतिपय त्यो फुटपाथ अपूरो छ । हिँड्दै जाँदा कतिपय ठाउँमा फुटपाथ नै भेटिँदैन । ललितपुरको बालकुमारी चोकदेखि एकान्तकुनासम्म ठाउँ–ठाउँमा फुटपाथ भत्किाएका छन् । ढललाई बिर्कोले छोपेर बनाएका फुटपाथमा बिर्को नै गायब छ । 

भीमार्जुन अधिकारी,उपमहानिर्देशक, सडक विभाग 
ढलसम्बन्धी काम ढल निकास विभागले गर्छ । यसको मर्मत पनि उसैले गर्छ । सडकका अन्य संरचना भने हामी बनाउँछौँ । रेलिङ भाँचिएको बारे पनि अध्ययन गरिरहेका छौँ ।

पैदलयात्रु तथा सडकआसपासका स्थानीयलाई वारपार गर्न यहाँ पर्याप्त अकासे पुल र जेब्राक्रससमेत छैनन् । भएका अकासे पुल पनि यात्रुको भिड हुने उपयुक्त ठाउँमा छैनन् । सडकखण्डको बालकुमारीस्थित अकासे पुलनजिकै रहेको मुख्य सडकको फुटपाथ निकै अव्यवस्थित छ । पैदलयात्रीको भिडभाड हुने यो फुटपाथ भत्किएको छ । ठाउँ–ठाउँमा ढलको बिर्को नहुँदा ओहोरदोहोर गर्न निकै जोखिमपूर्ण छ । यस्तै, सातदोबाटो चोक, चापागाउँ दोबाटो चोक, एकान्तकुना, नख्खु, बल्खु, कलंकी खसीबजार क्षेत्रमा पनि यो सडकको फुटपाथ अव्यवस्थित र जोखिमपूर्ण छ ।

पैदलयात्रुको प्रश्न– सडक पैदलयात्रुको पनि होइन र ?
सवारीसाधन हिँड्न फराकिलो सडक बनाउने चिनियाँ कम्पनीले पैदलयात्रुमैत्री सडक नबनाउँदा दुर्घटना बढेको सातदोबाटो हात्तीवनका देवीदत्त पौडेलले बताए । उनको प्रश्न छ– सडक पैदलयात्रीको चाहिँ होइन र ? मुख्य सडकका रूपमा रहेको रिङरोड सडकको फुटपाथ र अकासे पुल व्यवस्थित नहुँदा दुर्घटना बढिरहेको उनको भनाइ छ । ‘यो सडक बनाउँदा पैदलयात्रु पनि हिँड्छन् भन्ने ठेकेदार कम्पनीले सोचेन,’ उनले सुनाए, ‘मानिस नै नहिँड्ने र कुनै जंगलको बीचमा यो सडक हुन्थ्यो भने ठिकै थियो, तर यो सडक सहरको बीचमा छ ।’ उनले सहरको बीचमा रहेको सडक मानवमैत्री नहुनु दुःखद रहेको बताए । 

सडक विभाग भन्छ– अध्ययन गर्दै छौँ
सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले ढलसम्बन्धी काम ढल निकास विभागले गर्ने र त्यसको मर्मतको जिम्मा पनि सोही निकायको भएको बताए । ‘ढलको बिर्को हामी राख्दैनौँ, यदि सडकका अन्य संरचना हुन् भने हामीले बनाउँछौँ,’ उनले भने, ‘रेलिङ भाँचिएको बारे अध्ययन गर्छौँ ।’

पाँच वर्षमा एक सय ३० पैदलयात्रीको मृत्यु 
चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकखण्डमा दुर्घटना पनि उत्तिकै छ । पाँच वर्षयता यस खण्डमा एक सय ३० भन्दा बढी पैदलयात्रुले ज्यान गुमाएका छन् । उपत्यकामा सवारी दुर्घटना हुने सडकमध्ये यो सडक पहिलो स्थानमा पर्छ । नेपाल प्रहरीको पाँचवर्षे तथ्यांकअनुसार यो सडकमा साना–ठूला गरी ६ हजार सवारीसाधन दुर्घटना भइसकेका छन् । सवारीसाधन दुर्घटनामा परेर थप दुई सय यात्रुको ज्यान गएको छ । 

फुटपाथ व्यवस्थित बनाउन सडक विभागलाई आग्रह गरेका छौँ : ट्राफिक
सातदोबाटो ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रह्लाद सिलवालले फुटपाथ व्यवस्थित बनाउन सडक विभागलाई असोजमै आग्रह गरे पनि हालसम्म नबनाएको बताए । उनले अधिकांश ठाउँमा रेलिङ भाँचिएको जानकारी दिए । ‘यो सडक निकै अव्यवस्थित छ, न सडकबत्ती छ, भएका जेब्राक्रस पनि मेटिइसकेका छन्,’ उनले भने, ‘फुटपाथमा राखिएका ढलका बिर्कोहरू चोरी भएका छन् ।’ ढलको बिर्को चोरी हुँदा पैदलयात्रु त्यसलाई छलेर ओहोरदोहोर गरिरहेको उनले बताए । 

 

ad
ad
ad
ad