१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Sunday, 22 September, 2024
सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२o७९ पौष १ शुक्रबार o८:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी आए पनि उपत्यकामा दैनिक १४ करोड लिटर खानेपानी अपुग 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार o८:२o:oo

४३ करोड लिटर खानेपानी माग, मेलम्ची र अन्य स्रोतबाट २९ करोड लिटर मात्रै आपूर्ति

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु गरिए पनि यो पानी उपत्यकाभरिका लागि अपर्याप्त हुने भएको छ । उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, उपत्यकाआसपासका मू्ल, मुहानबाट १२ करोड लिटर र मेलम्ची आयोजनाबाट १७ करोड लिटर गरी दैनिक २९ करोड लिटर मात्रै वितरण हुन्छ ।

अझ पनि दैनिक १४ करोड लिटर पानी अपुग भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको खानेपानी वितरण थालिएपछि सहज भए पनि उपभोक्ताको मागअनुसार खानेपानी पुर्‍याउन सकिएको छैन । यद्यपि, तालिका मिलाएर वितरण गर्दा पहिलेको तुलनामा धेरै सहज भएको प्रवक्ता राईको भनाइ छ । ‘मेलम्चीको पानी जोडिनुअघि केयुकेएलले दैनिक १२ करोड लिटर पानी वितरण गथ्र्यो । उक्त पानी उपत्यकाआसपासकै मूल तथा खोलाबाट ल्याइएको हो,’ उनले भने, ‘अब मेलम्चीको १७ करोड लिटर पानी थपिँदा एक दुई दिनको अन्तरमा पानी वितरण गर्न सकिन्छ । तर, पर्याप्त हुने गरी दिन सकिँदैन ।’ जनसंख्या तथा बस्तीको अनुपात हेरेर सातामा दुई–तीनपटक पठाउने गरी तालिका तय गर्ने उनले जानकारी दिए ।

अब सातामा दुई–तीन दिन पानी वितरण गर्न सकिन्छ : प्रकाशकुमार राई, प्रवक्ता, केयुकेएल 
यसअघि दैनिक १२ करोड लिटर पानी वितरण हुँदै आएको थियो । अब मेलम्चीको १७ करोड लिटर पानीसमेत थपिँदा धेरैजसो क्षेत्रमा साताको दुई–तीनपटक पानी वितरण गर्न सकिन्छ, यसले पनि पर्याप्त भने हुँदैन ।

मेलम्चीको पानी पाँच महिनापछि पुनः काठमाडौंमा 
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार असारदेखि बन्द रहेको मेलम्ची खानेपानी २३ मंसिरदेखि उपत्यकामा वितरण थालिएको छ । बुधबारसम्म दैनिक ११ करोड लिटर पानी मेलम्चीबाट उपत्यकामा आइरहेको छ । आइतबारसम्म पानीको मात्रा बढाएर दैनिक १७ करोड लिटर खानेपानी उपत्यकाका ट्यांकीमा खसालिने पिआइडीले जनाएको छ । 

मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याए यहाँका संरचनाले थेग्दैनन् । कतिपय स्थानका पाइपलाइन अझै परीक्षणकै चरणमा रहेको र भण्डार क्षमता पनि पर्याप्त नभएको फुट्न सक्ने वा खेर जान सक्ने हुन्छ । पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले दैनिक अधिकतम १७ करोड लिटर मात्रै रहेको बताए । उनले यो पानी सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टमा खसालेपछि शुद्धीकरण भएर १४ सय एमएमको पाइपबाट काठमाडौंका ट्यांकीहरूमा आउँछ । त्यहाँबाट तालिकाअनुसार केयुकेएलले वितरण गर्छ । 

यसअघि मेलम्चीबाहेक उपत्यकामा १२ करोड लिटर पानी आसपासबाट आपूर्ति हुँदै आइरहेको थियो । उक्त पानी अधिकांश ठाउँका उपभोक्ताको धारामा सातामा एकपटक वितरण गरिन्थ्यो । मेलम्चीको पानी थपिएपछि सातामा दुई–तीन दिनको अन्तरमा वितरण गरिनेछ । केयुकेएलले नयाँ तालिका भने तयार गरेको छैन । 

उपत्यकामा १० वटा खानेपानी भण्डारण ट्यांकी

हाल उपत्यकामा मेलम्चीसहित १० वटा खानेपानी भण्डारण ट्यांकी छन् । ती ट्यांकीबाट पालैपालो पानी वितरण भइरहेका छन् । सबै ट्यांकीमा साढे पाँच करोड लिटर पानी भण्डारण हुने भएकाले पानी वितरणमा समस्या नहुने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनका अनुसार उपत्यकाआसपासका स्रोत र मेलम्चीबाट आएको खानेपानी प्रशोधन गरी पालोअनुसार वितरण गरिने हुँदा ‘रिजर्भ ट्यांकी’ थोरै भए पनि थेग्न सक्छ । आइरहेको पानीलाई पठाउने भएकाले सबै पानी भण्डारण गर्न आवश्यक हुँदैन ।