१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Monday, 01 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o७९ पौष १ शुक्रबार o६:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख, चालू खाता दबाबमै

शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति बढ्यो, तर खस्किँदो निर्यात र आयात वृद्धिले चालू खाता पुनः दबाबै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार o६:३६:oo

अर्थतन्त्रमा बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि चालू खाता भने दबाबमा परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अघिल्लो महिनाको तुलनामा कात्तिकमा चालू खाता घाटा बढेको देखाएको हो । शोधनान्तर स्थिति बचत भई विदेशी मुद्राको सञ्चितिसमेत बढेको भए पनि खस्किँदो निर्यात र आयात वृद्धिले चालू खाता पुनः दबाबमै देखिएको हो । 

गत असोजमा चालू खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो । कात्तिकमा गएर यो घाटा बढेर ३५ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । कात्तिकको तुलनामा मंसिरमा आयात बढेपछि यसले चालू खातामाथि दबाब बढाएको हो । पुसदेखि सरकारले केही वस्तुको आयातमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । यसले आयात बढ्न सक्ने र चालू खातामा थप दबाब पर्न सक्नेसमेत देखिन्छ । वर्तमान स्थिति सहज बन्दै गएको देखिए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । आयात फुकुवासँगै यसको व्यवस्थापन गर्न नसकिएमा समस्या फेरि बल्झिन सक्ने उनको भनाइ छ । 

‘सरकार र राष्ट्र बैंकको प्रयासले अहिले बाह्य क्षेत्रमा सुधार आएको छ । यो एक प्रकारको उपलब्धि हो । तर, ढुक्क हुने अवस्थामा छैनौँ,’ उनले भने, ‘आयातमा वृद्धि भएको छ । त्यसमाथि हामीले प्रतिबन्ध फुकुवा गरेका छौँ । यसको सही व्यवस्थापन भएन भने फेरि समस्या ब्युँतिन सक्छ ।’

चालू खाता देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो । यसबीच ६ खर्ब एक अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा बाहिरिँदा पाँच खर्ब ६५ अर्ब रुपैयाँ मात्रै भित्रिएको छ । मासिक रूपमा चालू खातामा वृद्धि भए पनि गत आर्थिक वर्षको तुलनामा भने निकै सुधार भएको हो । गत आर्थिक वर्षको चार महिनामा चालू खाता घाटा दुई खर्ब २० अर्ब पुगेको थियो । 

केन्द्रीय बैंकको तथ्यांकअनुसार कात्तिकमा एक खर्ब ३१ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । असोजमा चालू आर्थिक वर्षकै कम एक खर्ब २७ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएको थियो । असोजमा आयात घट्दा चालू खाता घाटासमेत घटेको थियो । तर, कात्तिकमा आयात बढेसँगै चालू खाता घाटासमेत बढेको हो । 

आयात वृद्धिसँगै निर्यातमा समेत गिरावट आएको छ । कात्तिकमा १२ अर्ब ९५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । गत असोजमा १३ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । चार महिनाको तथ्यांक हेर्दा निर्यात क्रमशः घट्दै गएको देखिन्छ । साउनमा १४ अर्ब ८१ करोडको वस्तु निर्यात भएको थियो । 

गत असारको तुलनामा कात्तिकमा विदेशी मुद्रा सञ्चिति १ प्रतिशतले वृद्धि भएको छ । कात्तिकमा सञ्चिति नौ अर्ब ६३ करोड डलर पुगेको छ । नेपाली मुद्रामा यो १२ खर्ब ४६ अर्ब हो । असोजमा यस्तो सञ्चिति नौ अर्ब ४८ करोड पुगेको थियो । हालको सञ्चिति ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्नका लागि पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मासिक तथ्यांकअनुसार कात्तिकमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । असोजमा घटेको रेमिट्यान्स आप्रवाह कात्तिकमा बढेको हो । यस महिनामा ७४ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाली मुद्रामा यो करिब ९७ अर्ब हो । अघिल्लो महिनामा ७२ करोड डलर मात्रै रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको चार महिनाको रेमिट्यान्स १०.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको ७.३ प्रतिशले घटेको थियो । 

रेमिट्यान्समा आएको सुधारले शोधनान्तर स्थिति बचतमा गएको छ । अघल्लिो महिनादेखि बचतमा गएको शोधनान्तर कात्तिकमा बढेको छ । असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर कात्तिकमा २० अर्ब तीन करोड पुगेको छ । यसले नेपालको अन्य देशसँगको वित्तीय लेनदेनलाई सूचित गर्छ । 

ad
ad
ad
ad