मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर २७ मंगलबार ०९:०७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकपका ६ रोचक घटना

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २७ मंगलबार ०९:०७:००

कतार फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भइसकेको छ । अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरक्को फुटबल महाकुम्भको अन्तिम चारमा छन् । चार टोलीबाट लुसेल मैदानमा आइतबार हुने फाइनल खेलका लागि दुई टोलीले स्थान बनाउनेछन् । प्रतियोगिताअघि निकै नै विवादबीच घेरिएको कतार विश्वकप अहिलेसम्म अप्रत्याशित नतिजा, युवा खेलाडी र खेलका क्रममा देखिएका केही विवादास्पद घटनाले निकै रोमाञ्चक बनेको छ । विश्वकपमा ६४ मध्ये ६० खेल पूरा भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा पहिलो खेलदेखि क्वार्टरफाइनलसम्मका ६ रोचक घटना यस्ता छन् :

१ राष्ट्रिय गान गाउन इरानका खेलाडीको अस्वीकार
विश्वकपको आफ्नो पहिलो खेलमा इरानले इंग्ल्यान्डसँग खेलेको थियो । खेल सुरु हुनुअघि आयोजकले दुवै टोलीको राष्ट्रिय गान बजाएको थियो । इरानका खेलाडीले राष्ट्रिय गान बजिरहँदा चुप लागेर बसे । एक प्रकारले इरानी खेलाडीले आफ्नो देशमा भइरहेको विद्रोहको विरोध गरेका थिए । हिरासतमा २२ वर्षीय माहसा अमिनीको मृत्यु भएपछि इरानका खेलाडीले मैदानबाटै विरोध जनाएका थिए । 

२ मुख छोपेर खेलाडीको विरोध
चारपटकको विजेता जर्मनीले जापानविरुद्धको पहिलो खेलमा ११ खेलाडीले नै मुख छोप्दै फोटो सेसन गरेका थिए । उनीहरूले बोल्ने अधिकार सबैको भएन भन्ने संज्ञा गरेका थिए । पछि यो फोटो निकै भाइरल बन्यो । यसको विरोध जनाउँदै कतारका टेलिभजन कार्यक्रम प्रस्तोताले मुख छापेर बाई बाई गर्दै समूह चरणबाट बाहिरिएको जर्मनीको मजाक गरेका थिए । जर्मनी लगातार दोस्रोपटक विश्वकपको पहिलो चरणबाट बाहिरियो । 

 ३ भाग्यमानी क्रोएसिया
क्रोएसियाले नकआउट चरणमा लगातार दुई खेलमा पेनाल्टी सुटमै जित निकालेको छ । प्रिक्वार्टरफाइनलमा जापान र क्वार्टरफाइनलमा पाँचपटकको विजेता ब्राजिललाई पनि टाइब्रेकरमै क्रोएसियाले पराजित गरेको थियो । क्रोएसियाले छैटौँपटक विश्वकप खेलिरहेको छ । जसमध्ये तीनपटक क्रोएसिया सेमिफाइनल पुगेको इतिहास छ । लगातार दोस्रोपटक क्रोएसिया सेमिफाइनलमा पुगेको यो पहिलोपटक हो ।  

४ मोरक्कोको म्याजिकल रन
प्रशिक्षक वालिड रेग्रागुईको मोरक्कोले प्रिक्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित पार्चुगललाई हराउँदै खुसीयाली मनायो । छैटौँपटक विश्वकप खेलेको मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । अफ्रिकन राष्ट्र पहिलोपटक सेमिफाइलनमा पुगेको यो नै हो । यसअघि घाना, सेनेगल र क्यामरुनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।  

५ रोनाल्डो पहिलोपटक बेन्चमा
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समकालीन फुटबलका प्रभावशाली खेलाडी हुन् । यसमा कसैको प्रश्न छैन । यस विश्वकपमा एक कीर्तिमान बनाएर पनि रोनाल्डोका लागि दुःखद बहिर्गमन भयो । अन्तिम १६ को खेलमा स्विट्जरल्यान्ड र क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्दा प्लेइङ सेटमा रोनाल्डोले मौका पाएनन् । प्रशिक्षक फ्रर्नान्डो सान्तोषले पोर्चुगलका सर्वाधिक गोलकर्ता तथा कप्तान रोनाल्डोलाई बेन्चमै राखेर ‘रिस्क’ मोलेका थिए । जारी विश्वकपमा एक गोल गरेसँगै रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । 

६ इन्जुरी समय
यस विश्वकपको रोचक पक्ष भनेको इन्जुरी समय रह्यो । इंग्ल्यान्ड र इरानबीचको खेलमा रेफ्रीले २७ मिनेटको इन्जुरी समय थपेका थिए । समूह चरणको खेलमा मात्रै पाँच सय ६३ मिनेटको इन्जुरी समय राखिएको थियो । पहिलोपटक फिफा विश्वकपमा यसरी इन्जुरी समय थपिएकाले चर्काे विवाद पनि भयो । नकआउट चरणमा भने केही कम गरिएको छ ।