नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउन महाशाखा स्थापना गर्ने भएको छ। बैंकले माघ १ गते देखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारिता बढाउन छुट्टै विशिष्टीकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो।
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण विभिन्न वित्तीय इकाइहरूमार्फत गर्दै आएको थियो। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पूरा गर्नका लागि राष्ट्र बैंकले छुट्टै युनिट स्थापना गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।
उनले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले प्रभावकारी रूपमा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका सम्बन्धमा सुपरीवेक्षण गर्ने बताए। प्रवक्ता भट्टले नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धीकरणका कारण मुलुकको प्रतिष्ठा र व्यावसायिक वा बैंकिङ गतिविधि अप्ठ्यारो नपरोस् भन्ने विषयमा सचेत र सजग रहेको बताए।
विभिन्न विभागहरूमा छरिएर रहेको सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारण गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाबाट विशिष्टीकृत रूपमा काम गर्ने गरी गठन गरिएको उनको भनाइ छ।