मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Monday, 23 December, 2024
२o७९ मङ्सिर १९ सोमबार १३:२२:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

बन्द हुँदै चितवनका ह्याचरी, तरलताको समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार १३:२२:oo

अर्थतन्त्रलाई चलायमान बनाउन र अहिलेको तरलताको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक र राज्यले भूमिका खेल्न नसकेको भन्दै चितवनका उद्योगीले आन्दोलनको चेतावनी दिएका छन्। चितवन उद्योग संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै माग सम्बोधन नभए सम्पूर्ण उद्योगी व्यवसायीले पुस मसान्तमा कुनै पनि कर नबुझाउने र चणबद्ध आन्दोलनमा होमिन चेतावनी दिएका हुन्।

दुई वर्ष भन्दा लामो अवधिको बन्दाबन्दीले थलिएको अर्थतन्त्र तंग्रिन नपाउँदै रुस–युक्रेन युद्धका कारण अकासिएको पेट्रोलियम पदार्थको मूल्यले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परी मुद्रास्फीति उच्च हुन पुगेको छ। चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले भने, ‘मुद्रास्फीतिको असरले उपभोग्य आयमा गिरावट आएपछि औद्योगिक उत्पादनको मागमा संकुचन भएको छ। माग र बजार नहुनु मात्र होइन, कच्चा पदार्थको मूल्यवृद्धि र बैंक  ब्याजदरमा भएको अचाक्ली वृद्धिका कारण उत्पादन लागत अत्यधिक बढ्न गई अधिकांश उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन्।’ कँडेलका अनुसार यो अवस्थाको निरन्तरता रहेमा अर्थतन्त्र गरिबी र बेरोजगारीको दुश्चक्रमा फस्ने देखिन्छ।

‘बजार छैन, कारोबार छैन,’ उनले भने, यो अवस्थामा उद्योगहरूलाई जीवन्त राख्न राज्यले अभिभावकीय भूमिकाका साथ विशेष संरक्षण योजना ल्यानुपर्नेमा उदासीन देखिएको छ। विदेशी विनिमय सञ्चिति बढाउने नाममा राज्यले कैयौँ वस्तुको आयातमा प्रतिबन्ध लगाएको भए तापनि अनौपचारिक कारोबारको बाटोलाई प्रश्रय पुगेको आभास दिने गरी बजारमा सहजै ती वस्तुहरूको उपलब्धता हुनुले औपचारिक अर्थतन्त्रलाई झन् चुनौती दिएको उनले बताए।

अर्थतन्त्रलाई दिगो बनाउन औद्योगिक लगानीमा वृद्धि गरी औद्योगिक उत्पादकत्वसमेत वृद्धि गर्नुपर्ने अवस्थामा बढ्दो ब्याजदर, नगद प्रवाहमा परेको असर र मागमा देखिएको संकुचनका कारण उद्योगीहरूमा निराशा पैदा भएको संघका निवर्तमान अध्यक्ष राजु पौडेलले बताए। ‘यस अवस्थामा राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन र कर्जाको किस्ता तथा ब्याज उठौतीका लागि मानसिक तनाव दिने गरी बैंकहरूले गरेको ताकेताले उद्योगीहरूलाई थप हतोत्साहित बनाएको छ,’ पौडेलले भने ।

बैंकसँग रकम अभाव हुँदा त्यसको प्रभाव उद्योगमा परेको भन्दै उद्योगलाई जीवन्त राख्न सहयोग पुग्ने गरी सिडी अनुपातलगायतका तरलतासम्बन्धी अनुपातहरूमा अधिकतम लचकता अपनाई तरलता व्यवस्थापन गर्न, ब्याजदर एक अंकमा सीमित गर्न, उद्योगमा रहेको कर्जालाई उद्योगीले आवश्यकता महसुस गरेमा एकपटकका लागि पुनर्संरचना, पुनर्तालिकीकरण गर्न, पुस मसान्तसम्मको ब्याजलाई पुँजीकरण गर्न तथा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिनुपर्ने उद्योगीहरूको माग छ। त्यसैगरी, चालूपुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई दुई वर्षपछि मात्र कार्यान्वयनमा लैजान, पूर्वाधार निर्माणअन्तर्गत भएका खर्चहरूको कार्यको भौतिक प्रगति देखिएलगत्तै तत्काल भुक्तानीको व्यवस्था गर्नुपर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरूको आयात खुकुलो बनाउन उनीहरूले माग गरेका छन्।

‘जिल्लाका ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा छन्। चालू उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन्। कुनै पनि मुलुक उद्योगधन्दाको विकास र विस्तारविना समृद्ध भएको इतिहास छैन। नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायले यो विषयमा चासो दिनुपर्छ। हामी ज्ञापनपत्रसहित सबै क्षेत्रमा पुग्छौँ,’ पौडेलले भने।

बन्द भए चितवनका ह्याचरी
कोरोना महामारीको समयमा भएको लकडाउनले थलिएको पोल्ट्री क्षेत्र पनि मारमा परेको छ। माग र बजार नभएपछि ह्याचरीले चल्ला उत्पादन रोकेका छन्। पोल्ट्रीको राजधानी मानिने चितवनमा तीन महिनादेखि लेयर्स चल्ला उत्पादन गर्ने सबै ह्याचरी बन्द छन्। ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चितवनमा रहेका ६ वटासहित देशभरि रहेका ह्याचरी १२ वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी बन्द छन्।

‘बैंकले पैसा दिएको छैन। लिनेले बैंकमा तिर्न पनि सकेको छैनन्,’ पोखरेलले भने, ‘ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचारी पनि बन्द हुने अवस्थामा छन्। बैंकहरूको ब्याजदर बढिरहेको छ । माग नहुँदा तीन महिनायता लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी बन्द छ। कुखुरा पालन व्यवसायमा सबैभन्दा बढी खर्च दानामा हुने र दानाको मूल्य बढ्दा व्यवसाय सञ्चालनमा समस्या भएको देखिन्छ।’

उनका अनुसार ब्रोइलर ५५ देखि ६० र लेयर्स ९० देखि सय रुपैयाँमा बेच्न सके लागत उठ्ने भए पनि बजारमा माग भने छैन। ‘उत्पादन भएको चल्ला २० रुपैयाँमा पनि बिकेको छैन,’ उनले भने। नेपालमा उत्पादितभन्दा भारतबाट ल्याउने कुखुरा सस्तो पर्ने भएपछि कुखुरा पाल्नेहरू व्यवसायबाट पलायन भएका उनी बताउँछन्। पोल्ट्री क्षेत्रसहित चितवनमा निर्माण, औषधि, खाद्यान्नलगायतका उद्योगमा यसको प्रभाव परेको छ। जिल्लामा ५० हजार बढी जनशक्ति यी नै उद्योगमा आबद्ध छन्।