मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १८ आइतबार
  • Thursday, 19 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ मङ्सिर १८ आइतबार o७:१७:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कहाँ चुक्यो एमालेकाे चुनावी रणनीति ?

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १८ आइतबार o७:१७:oo

स्थानीय तहको लोकप्रिय मतमा चार प्रतिशत वृद्धि गरेर ३८ प्रतिशत पुर्‍याउँदा पनि सामान्य बहुमत आउने आकलन गर्दै राप्रपासहित तालमेल गरेका दलसँग मिलेर अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनाउने रणनीति र कार्ययोजना बनाएर एमाले चुनावी मैदानमा उत्रेको थियो, तर, स्थानीय तहमा प्राप्त साढे ६ प्रतिशत लोकप्रिय मत राष्ट्रिय स्वतन्त्र पार्टीमा ‘डाइभर्ट’ भएकाले बहुमत प्राप्त गर्ने उद्देश्य असफल भएको प्रारम्भिक निष्कर्ष 

स्थानीय तहमा प्राप्त मतभन्दा उल्टै ६ प्रतिशत मत घट्दा समग्रमा १६ लाख मत बढाएर एकल बहुमतसहित सरकारको नेतृत्व लिने एमालेको रणनीति असफल भएको छ । गत १० भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट कम्तीमा ६ प्रतिशत मत बढाउने लक्ष्य सार्वजनिक गर्दै सोहीअनुसारको चुनावी रणनीति तयार पारेको एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा धक्का सामना गरेको छ । 

स्थानीय तहको ३४ प्रतिशत लोकप्रिय मत बढाएर ४० प्रतिशत पुर्‍याउने र त्यसका लागि आठ लाख सदस्यले अनिवार्य रूपमा दुई मत अर्थात् १६ लाख बढाउने लक्ष्य लिएको एमालेले आमनिर्वाचन परिणामको अन्तिमतिर प्रत्यक्ष र समानुपातिक दुवैमा क्षति व्यहोरेको छ । यद्यपि, एमालेका चुनावी रणनीतिकारले स्थानीय तहको लोकप्रिय मतमा चार प्रतिशत वृद्धि गरेर ३८ प्रतिशत पुर्‍याउँदा पनि सामान्य बहुमत आउने आकलन गरेका थिए । 

गठबन्धन दलले साझा घोषणापत्र नल्याएका कारण पनि उनीहरूलाई भन्दा नयाँ पुस्ता र तटस्थ मतदाताले आफूलाई नै रोज्ने र बहुमत आउन सक्ने एमालेको आकलन थियो । तर, चुनावको सम्भावित नतिजाबारे एमाले नराम्रोसँग चुकेको छ । एमालेले भावी सरकारको प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी ओलीलाई सारेको थियो । 

लोकप्रिय मत बढाउन एमालेले आन्तरिक र सार्वजनिक थुप्रै रणनीति अख्तियार गरेको थियो । प्रचारमा जोड दिँदै युवा पुस्तालाई आकर्षित गर्न डिजिटल तरिकाले चुनावी घोषणापत्र सार्वजनिक गर्ने, घोषणापत्रमाथि लाइभ डिबेटका लागि प्रतिस्पर्धी दलका सभापतिलाई आग्रह गर्ने, युवा पुस्तालक्षित चुनावी र्‍याप गीतका लागि अध्यक्ष केपी ओली एलओडी पुग्नेदेखि युवालक्षित अन्तक्र्रिया गरेको थियो । चुनाव नजिकिँदै गर्दा अध्यक्ष ओली सञ्चारमाध्यममा अन्तर्वार्ताका लागि सहज बनेका थिए । ‘मंसिर ४ ः ओली सरकार’ नारासहितको विज्ञापनमार्फत मत अपिललाई पनि बढी जोड दिएको थियो ।

एमालेले चुनावअघि आन्तरिक ‘च्यानल’मार्फत गरेको विश्लेषणमा प्रत्यक्षमा ५३ सिटमा जित सुनिश्चित रहेको प्रक्षेपण गरेको थियो । त्यस्तै, २० देखि २५ क्षेत्रमा उच्च प्रतिस्पर्धा रहेकाले कडा मिहिनेत गर्दा कम्तीमा २० सिट बढाएर ७३ देखि ७८ सिटसम्म जित्न सकिने सम्भावना औँल्याएको थियो । तर, मत गुम्दा एक सय सातदेखि एक सय १० सिटसम्म जितेर पहिलो पार्टी बन्ने र तालमेलमा रहेका राप्रपा र जसपासँग मिलेर बहुमतीय सरकार बनाउने अवस्था गुमेको एमालेको प्रारम्भिक समीक्षा थियो । ‘प्रत्यक्षमा २१–२२ र समानुपातिकमा ५–६ सिट बढ्दा तालमेल गरेका दलहरूसँग मिलेर हाम्रा लागि सुविधाजनक रूपमा बहुमतको सरकार बन्थ्यो भन्न सकिन्छ,’ केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय सचिव तथा एमाले उपमहासचिव विष्णु रिमालले भने । 

चुनावी रणनीतिमा चुक भएपछि एमालेले त्यसको समीक्षा पनि थालेको छ । अरू पार्टीका जस्तै आफ्नो पार्टीका पनि लोकप्रिय मत नयाँ दलतिर ‘डाइभर्ट’ हुँदा चुनावी रणनीति असफल भएको उसको प्रारम्भिक विश्लेषण छ । करिब साढे ६ प्रतिशत पकेट मत ‘डाइभर्ट’ भएका कारण बहुमत ल्याउने लक्ष्य पूरा हुन नसकेको एमालेको प्रारम्भिक निष्कर्ष छ । केन्द्रीय निर्वाचन परिचालन कमिटी सचिवालयले स्थानीय तहमा प्राप्त साढे ६ प्रतिशत लोकप्रिय मत राष्ट्रिय स्वतन्त्र पार्टीमा ‘डाइभर्ट’ भएका कारण बहुमत प्राप्त गर्ने उद्देश्य असफल भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । 

गत स्थानीय तह निर्वाचनमा एमालेले ३४ प्रतिशत तथा ०७४ को आमनिर्वाचनमा समानुपातिकतर्फ ३३ दशमलव २४ प्रतिशत लोकप्रिय मत पाएको थियो । समानुपातिकतर्फको मतगणनना अन्तिमतिर पुग्दा एमाले २७ प्रतिशतसहित साढे २७ लाख मतनजिक पुगेको छ । तीन लाख हाराहारी मत भने पार्टी विभाजनबाट एमालेलाई क्षति पुगेको छ । 

समानुपातिकतर्फको करिब आठ लाख मतगणना बाँकी हुँदा एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले दुई लाख ९० हजार मत ल्याएको छ । ‘स्थानीय तहको निर्वाचन र अघिल्लो निर्वाचनसँग तुलना गर्दा ६ प्रतिशतभन्दा बढी मत नयाँ शक्तिका रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको छ,’ केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय सचिव तथा एमाले उपमहासचिव विष्णु रिमालले प्रारम्भिक समीक्षा गर्दै नयाँ पत्रिकासँग भने, ‘ठ्याक्कै भन्न त सकिँदैन, तर हाम्रो केही मत राप्रपामा पनि गएको अनुमान छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीमा मत ‘डाइभर्ट’ हुँदा प्रत्यक्ष र समानुपातिकसहित कम्तीमा २७ सिटमा क्षति पुगेको एमालेको आन्तरिक विश्लेषण छ । ‘माओवादीको मत १२ प्रतिशतवरिपरिमै आएकाले उसको मत त्यति डाइभर्ट देखिँदैन । तर, कांग्रेस र हाम्रो दुवैको बराबरीजस्तो अझ हाम्रो एक प्रतिशतभन्दा बढी मत घटेको छ, जसपाको मत पनि घटेको छ,’ रिमालले भने, ‘यदि स्थानीय तहकै अनुपातमा मत आउँथ्यो भने हामीले समानुपातिकमै कम्तीमा ४१ सिट ल्याउँथ्यौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धामा सात सिट हामी जित्थ्यौँ, कांग्रेस र माओवादीसँगको प्रतिस्पर्धामा अरू १४–१५ सिट बढ्थ्यो ।’

एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने अहिलेकै अनुपात अन्तिमसम्म कायम रहँदा समानुपातिकमा ३५ सिट जित्ने अनुमान छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६१ सिटको नतिजा आउँदा एमालेले ४४ सिट जितेको छ भने सुनसरीको एक सिटमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ । स्याङ्जा २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ । ६ प्रतिशतभन्दा बढी मत घट्दा समानुपातिकमा ६ र प्रत्यक्षतर्फ २१ सहित २७ सिट गुमेको एमालेको प्रारम्भिक निष्कर्ष छ । एमाले महासचिव शंकर पोखरेलले अहिलेको निर्वाचन परिणामलाई पार्टीहरूले प्राप्त गरेको सिट संख्याभन्दा पनि अहिलेको राजनीतिलाई समग्रतामा बुझ्नुपर्ने बताए । उत्तरआधुनिकतावादको प्रभाव देखिँदा सहरी जनमत नयाँ पार्टीका रूपमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको र त्यसले सामाजिक अराजकतालाई प्रश्रय दिएको उनको भनाइ छ । ‘कसले कति सिट ल्यायो, कुन दल कति सिटले अघिपछि या हाराहारी भएभन्दा पनि अहिलेको निर्वाचन परिणामलाई समग्रतामा बुझ्नुपर्छ,’ पोखरेलले मंगलबार संवाददाताहरूसँग भने, ‘विश्व राजनीतिमा पछिल्लोपटक देखिएको उत्तरआधुनिकतावादको प्रभाव नेपालमा पनि देखा पर्‍यो, खासगरी मध्यमवर्गीय सहरी जनमत नयाँ पार्टीतिर आकर्षित हुँदा कुनै पार्टीको बहुमत आउने अवस्था नबनेको हो, यसलाई बुझेर राजनीतिक दलहरू समीक्षासहित अगाडि बढ्नुपर्छ ।’ उनले नयाँ पार्टीले अहिले देखिएको नैराश्यताको सम्बोधन गरेर विकल्प दिन सक्ने सम्भावना न्यून भएकाले अहिले प्राप्त जनमतमा छिट्टै फेरबदल हुन सक्ने सम्भावना पनि औँल्याए । 

एमालेले जित्दा कांग्रेसलाई धेरै, माओवादीलाई कम क्षति 
एमालेले सत्तारूढ गठबन्धनसँगको प्रतिस्पर्धामा ४४ सिटमा जित निकाल्दा कांग्रेसले धेरै र माओवादीले कम क्षति व्यहोरेको छ । गठबन्धनबाट ४७ सिटमा लडेको माओवादीले एमालेसँगको प्रतिस्पर्धामा जम्मा १० सिट मात्र गुमाएको छ । जब कि कांग्रेसले दोब्बरभन्दा बढी २१ सिट गुमाएको छ । माओवादीले २० सिट अरू साना दल, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारसँगको प्रतिस्पर्धामा गुमाएको छ । त्यस्तै, गठबन्धनबाट १० सिटमा जित निकालेको एकीकृत समाजवादीले एमालेसँगको प्रतिस्पर्धामा पाँच सिट मात्र गुमाएको छ । उसले १३ सिट अरू दलसँगको प्रतिस्पर्धामा गुमाएको छ । राजमोले एक र लोसपाले एक सिट गुमाएका छन् । जसपा र हाम्रो नेपाली पार्टीले एक–एक सिट गुमाएका छन् भने चार सिट स्वतन्त्रसँगको प्रतिस्पर्धामा एमालेले जित निकालेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय सचिव विष्णु रिमाल भन्छन्–
स्थानीय तहको निर्वाचन र अघिल्लो निर्वाचनसँग तुलना गर्दा ६ प्रतिशतभन्दा बढी मत नयाँ शक्तिका रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको छ । ठ्याक्कै भन्न त सकिँदैन, तर हाम्रो केही मत राप्रपामा पनि गएको अनुमान छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा मत ‘डाइभर्ट’ हुँदा प्रत्यक्ष र समानुपातिकसहित कम्तीमा २७ सिटमा क्षति पुगेको आन्तरिक विश्लेषण छ । माओवादीको मत १२ प्रतिशतवरिपरिमै आएकाले उसको मत त्यति डाइभर्ट देखिँदैन । तर, कांग्रेस र हाम्रो दुवैको बराबरीजस्तो अझ हाम्रो एक प्रतिशतभन्दा बढी मत घटेको छ, जसपाको मत पनि घटेको छ । स्थानीय तहकै अनुपातमा मत आउँथ्यो भने हामीले समानुपातिकमै कम्तीमा ४१ सिट ल्याउँथ्यौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धामा सात सिट हामी जित्थ्यौँ, कांग्रेस र माओवादीसँगको प्रतिस्पर्धामा अरू १४–१५ सिट बढ्थ्यो ।