
दाङका कर्मचारीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाटै कार्य सञ्चालन गर्न माग गरेका छन्।
कर्मचारीका विभिन्न संगठनका पदाधिकारीहरूले बिहीबार विज्ञप्ति जारी गरी प्रदेशको स्थायी राजधानी तोकेको दुई वर्ष बितिसक्दा पनि प्रदेश राजधानी कायम गरी सेवा सुचारु गर्न नसक्नु दुःखद भएको बताएका छन्।
साथै, उनीहरूले अब भन्ने प्रदेश सभा तथा प्रदेश सरकारको कार्य सञ्चालन राप्ती उपत्यका देउखुरीबाटै सञ्चालन गर्न उनीहरूले माग गरेका छन्। प्रदेशको स्थायी राजधानी तोकिएको स्थान प्रदेशका सबै जनताको पायक पर्ने भएकाले पनि त्यहीँबाटै सेवा प्रवाह गर्न उनीहरूकाे माग छ।
बुधबार कर्मचारी संगठनहरूका राष्ट्रियस्तरका पदाधिकारीहरूले मुख्यमन्त्री कार्यालयमा प्रदेश राजधानी तोकिएको स्थानमा नसारी अस्थायी स्थानमै बस्नुपर्ने भनी ज्ञापनपत्र बुझाएकोप्रतिसमेत उनीहरूले असहमति जनाएका छन्।
नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य वामदेव शर्मा, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य सरस्वती रेग्मी, नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारी, युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष रेश्मीराज अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) दाङका अध्यक्ष रुद्रमणि पौडेल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य हिरण्यराज शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो बताएका हुन्।