१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Saturday, 05 July, 2025
२o७९ मङ्सिर १४ बुधबार १६:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानमा भड्किएको हिंसामा ४४८ प्रदर्शनकारी मारिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १६:४५:oo

२२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर सुरु भएको विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन्। 

विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ।

नर्वेको इरान मानव अधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्षमुनिका नाबालिग छन्। अठार वर्षमुनिका नौजना बालिका पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्।  

समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्षाकर्मीले १६ जनालाई मारेको थियो। मारिएकामध्ये १२ जना कुर्दिस जनसंख्या अधिक भएको इलाकाका हुन्। 

ती इलाकामा अहिले पनि हिंसात्मक प्रदर्शन जारी छन्। दोहोरो झडपमा मारिएका नागरिकको संख्या मात्र प्रतिवेदनमा समावेश गरिएको तथा त्यसमा सुरक्षाकर्मीको हताहती समावेश गरिएको छैन। 

इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सका ब्रिगेडियर जनरल अमिराली हज्जिजादेहले विरोध प्रदर्शनका क्रममा तीन सयजना मारिएका बताएका छन्। सरकारीस्तरमा पहिलोपटक हताहतीको विवरण सार्वजनिक भएको पनि अरब न्युजले जनाएको छ। 

उपयुक्त ढंगले टाउको नछोपेको अभियोगमा गत भदौ ३१ गते पक्राउ परेकी अमिनीको केही दिनपछि हिरासतमा मृत्यु भएको थियो। उनको हिरासतमा मृत्यु भएको खबर सार्वजनिक भएपछि इरानमा विरोध प्रदर्शन भड्किएको छ। 

धार्मिक प्रहरीले उनलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीले लगाएका छन्। यद्यपि इरान सरकारले त्यसको खण्डन गरेको छ।