मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार ०८:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक उडानमा निगम जहाजविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार ०८:४१:००

भोजपुर उडेको निगमको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएर ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) आन्तरिक उडानमा जहाजविहीन बनेको छ । नियमित उडान गरिरहेको अल्फा ब्राभो युनिफर्म ट्विनअटर विमानमा समस्या आएपछि निगम जहाजविहीन बनेको हो । शुक्रबार बिहान पौने सात बजे काठमाडौंबाट भोजपुरतर्फ उडिरहेको जहाजमा एक्कासि प्राविधिक समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको थियो ।

१५ यात्रु बोकेर भोजपुर जाँदै गरेको जहाजमा काठमाडौं फर्किनका लागि १० यात्रुले बोर्डिङ पास लिएर बसेका थिए । निगमले भोजपुरपछि सोलुखुम्बुको फाप्लु र दाङमा उडान गर्नेवाला थियो । तर, निगमसँग भएको एउटा जहाज बिग्रिएपछि भोजपुरसहित तीनवटै गन्तव्यका यात्रु अलपत्र परेका छन् । निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज छन् । तर, एउटा जहाज पहिल्यै बिग्रिएर ह्यांगरमा थन्किएर बसेको छ । अर्को जहाज पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान पूरै ठप्प भएको छ ।

कुनै समय एक दर्जन जहाजबाट आन्तरिक उडान गर्दै आएको निगम पछिल्लो समय करिब जहाजविहीन बनेको छ । आन्तरिक उडानका लागि चीनबाट ल्याइएका ६ वटा जहाज उडाउन नसकेपछि निगमले थन्क्याएर राखेको छ । चिनियाँ दुईवटा एमए–६० र चारवटा वाई–१२ ई जहाज प्रयोगविहीन भएका छन् ।

चिनियाँ जहाज बिग्रिरहने र उडाउँदा झन् धेरै घाटा व्यहोर्नुपर्ने भएपछि निगम व्यवस्थापनले चिनियाँ जहाज उडाउन नसक्ने घोषणा गरेरै ग्राउन्डेड गरेको हो । निगमले यी जहाजहरू भाडामा दिन सार्वजनिक प्रस्ताव आह्वान गर्दा पनि कोही भाडामा लिन इच्छुक देखिएका छैनन् ।