१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १६:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १६:४४:००

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदै छ। प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कुल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार एक सय ८७ महिला गरी कुल दुई हजार एक सय ९९ उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रदेशसभाको प्रत्यक्षतर्फ दुई हजार नौ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य गरी कुल तीन हजार दुई सय २४ तथा समानुपातिकतर्फ दुई हजार एक सय ९७ पुरुष र एक हजार पाँच सय ११ महिला गरी कुल तीन हजार सात सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन्। आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ। 

काठमाडौं उपत्यकामा मात्रै पाँच सय २७ मतदानस्थलमा एक हजार दुई सय ७९ मतदान केन्द्र तोकिएको छ। काठमाडौंमा तीन सय २० मतदानस्थल र सात सय ६७ मतदान केन्द्र, भक्तपुरमा ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र दुई सय ९० मतदान केन्द्र रहेको छ । काठमाडौं १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौं २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौं ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौं ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौं ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौं ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौं ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडौं ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौं क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् । 

यस्तै, ललितपुर क्षेत्र नम्बर १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा एक सय पाँच मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र एक सय १५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र एक सय ७ मतदान केन्द्र निर्धारण गरिएको छ । 

काठमाडौंमा तीन लाख १५ हजार दुई सय ५४ पुरुष, तीन लाख ३६ हजार आठ सय ६४ महिला र आठ अन्य गरी कुल ६ लाख ५२ हजार एक सय २६ मतदाता रहेका छन्। 

ललितपुरमा एक लाख २२ हजार दुई सय ७४ पुरुष, एक लाख २८ हजार एक सय ३५ महिला र एक अन्य गरी दुई लाख ५० हजार चार सय १० मतदाता छन् । भक्तपुरमा ९४ हजार ६ सय ८३ पुरुष, ९९ हजार सात सय ५१ महिला र पाँच अन्य गरी कुल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेको आयोगको तथ्यांक छ।

देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र

यसपटकको निर्वाचनमा देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र रहेको आयोगले जनाएको छ। 

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका, तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाउन देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । आयोगले ०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलोपटक कार्यान्वयनमा ल्याएको हो। 

आयोगले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकामा सातवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । काठमाडौंमा चार, ललितपुरमा दुई र भक्तपुरमा एक अस्थायी मतदान केन्द्र राखिएको आयोगले जनाएको छ। 

काठमाडौंमा जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, कारागार कार्यालय डिल्लीबजार, केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक, ललितपुरमा कारागार कार्यालय नख्खु र नमुना मछिन्द्र माध्यामिक विद्यालय लगनखेल तथा भक्तपुरमा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा अस्थायी केन्द्र तोकिएको छ। देशभर चार लाख ५० हजार अस्थायी मतदाता कायम छन्। रासस