चिसो बढेसँगै बाँके– २ मा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ। देशका अधिकांश निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र सत्ताबाहिरका दलबीच चुनावी गठबन्धन भए पनि यहाँ सत्तागठबन्धन दल नै विभाजित भएका छन्।
सत्तागठबन्धन दलबाट कांग्रेसका सुदीपनरसिंह राणा चुनावी मैदानमा छन्, तर उनलाई सत्तागठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले खुलेर सहयोग गरेका छैनन्।
यस क्षेत्रको प्रदेश सभातर्फ माओवादी केन्द्रले पनि उम्मेदवार उठाएको छ। सत्तागठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले मात्र उम्मेदवार खडा गरे पनि सत्ता साझेदार दलबीच अहिलेसम्म कांग्रेस उम्मेदवारलाई मतदान गर्न छलफलसमेत गराउन सकेका छैनन्।
सत्ता साझेदार दलबीच कांग्रेस उम्मेदवारलाई मतदान गर्ने विषयमा कुनै छलफल नभएको कांग्रेस बाँके उपसभापति गोपालप्रसाद अधिकारीले बताए।
उनले माओवादी केन्द्रले प्रदेश सभा सदस्यका लागि उम्मेदवार उठाएपछि प्रतिनिधिसभा सदस्यका उम्मेदवारको विषयमा छलफल हुन नसकेको बताए।
त्यसैगरी, एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पनि यहाँ एक्लै चुनावी प्रतिस्पर्धामा छ। जसपाको तर्फबाट निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई चुनावी मैदानमा छन्। उनी यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्।
जसपासँग तराईका १७ क्षेत्रमा तालमेल गरेको एमालेले यो क्षेत्रमा राप्रपासँग तालमेल गरेको छ। राप्रपाका महामन्त्रीसमेत रहेका नेपालगन्जका निवर्तमान मेयर डा. धवलशमशेर राणा एमाले–राप्रपा गठबन्धनको उम्मेदवार हुन्। यो क्षेत्रमा जसपाका राई, एमाले– राप्रपाका राणा र कांग्रेसका राणाबीच त्रिकोणात्मक प्रतिस्पर्धा छ।
नेपालगन्ज उपमहानगरको २१ वटा वडा र डुडुवा गाउँपालिका समेटिएको बाँके क्षेत्र नं. २ कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार भएकाले विशेष महत्व राख्दछ। योसँगै यी दुई प्रदेशको व्यापारिक, शैक्षिक तथा स्वास्थ्य उपचार गर्ने केन्द्र पनि हो, बाँकेको नेपालगन्ज।
नेपालगन्जमा क्षेत्रीय विमानस्थल भएकोले कर्णाली र सुदूरपश्चिम प्रदेश जाने वेला देशका मुख्य नेताहरू केहीबेर रोकिने स्थान पनि हो। त्यसैले बाँकेको अन्य निर्वाचन क्षेत्रभन्दा नेपालगन्जसमेत रहेको २ नं. क्षेत्रलाई ठूला, साना दलले विशेष चासोका साथ हेर्ने गरेका छन्।
बाँके क्षेत्र नंं. २ मा मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता भएकोले अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. २ को मत कता जान्छ भन्ने सहजै अनुमान गर्न सकिने अवस्था रहँदैन। हरेकपटकको मत परिणाम फरक–फरक आउने गरेकोले पनि यहाँका मतदाताले राजनीतिक आस्थाभन्दा व्यक्तिकेन्द्रित भएर भोट दिने गरेको स्पष्ट हुन्छ। यहाँको मत स्थिर नभई अस्थिर छ।
अघिल्लो निर्वाचनको अवस्था
२०७४ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट एमाले–माओवादी केन्द्र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महेश्वर गहतराज, क्षेत्र नं. २ बाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई र क्षेत्र नं. ३ बाट एमाले–माओवादी केन्द्र गठबन्धनको तर्फबाट एमालेका नन्दलाल रोकाया विजयी भए। उक्त निर्वाचनमा क्षेत्र नं. २ मा एमाले–माओवादी र कांग्रेस–राप्रपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमका अगाडि गठबन्धनको कुनै सीप चलेन।
फोरमका राईले २१ हजार पाँच सय ७५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले–माओवादी गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ मत पाए। त्यसैगरी, कांग्रेस–राप्रपा गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६२२ मतमा चित्त बुझाए।
त्रिकोणात्मक प्रतिस्पर्धा
अहिले पनि जनता समाजवादी पार्टीबाट पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई चुनावी मैदानमा छन्। एमाले–राप्रपाबाट नेपालगन्ज उपमहानगरका निवर्तमान मेयरसमेत रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणा उम्मेदवार छन्।
यो क्षेत्रमा जसपाका राई, एमाले–राप्रपा गठबन्धनबाट राणा र कांग्रेसको तर्फबाट सुदीपनरसिंह राणाबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।
अन्यको तुलनामा पटक–पटकमन्त्रीको जिम्मेवारी सम्हालेका पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री राईको लोकप्रियाता बढ्ता छ। संसदीय निर्वाचनमा पटक–पटक बटुलेको अनुभवलाई उनले यसपटकको निर्वाचनमा पनि प्रयोग गरी मत आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । यो उनको तेस्रो अनुभव हो।
उता, दुईपटक मेयर भएका राणाको लोकप्रियता पनि कम छैन। नेपालगन्जमा राप्रपाको संगठन बलियो नभए पनि आफूसँग व्यक्तिगत करिब ६ हजार भोट रहेको उनको दाबी छ। एमालेको साथ पाएकोले उनलाई जित निकाल्न केही सहज हुने भए पनि एमालेको आफ्नो उम्मेदवार नभएकोले मत बाँडिने सम्भावना छ। नेपालगन्जमा एमालेको झन्डै १६ हजार मत भएको आकलन गरिएको छ।
बाँके क्षेत्र नं. २ का अर्का बलिया उम्मेदवार हुन् कांग्रेसका सुदीपनरसिंह राणा। कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर पनि हो नेपालगन्ज।
कांग्रेसमा हारको मानसिकता
यो क्षेत्रमा नेपाली कांग्रेसको संगठन बलियो छ तर कांग्रेस नेता, कार्यकर्तामा हारको मानसिकता देखिन्छ। उम्मेदवारी चयनका वेला कुनै विवाद नभए पनि कांग्रेसले चुनावी अभियानलाई तीव्र पार्न सकेको देखिँदैन।
संगठन मजबुद हुँदाहुँदै कांग्रेस नेता, कार्यकर्ताहरू नै इस्तियाक र डा. धवलबीच नै कडा प्रतिस्पर्धा भएको भन्दै हिँडेका कारण कांग्रेस समर्थक मतदाता अन्योलमा परेका छन्। ‘यो क्षेत्रमा कांग्रेस कमजोर छैन तर हार्ने मानसिकताका कारण कांग्रेस उम्मेदवार कमजोर बन्दै गएका छन्,’ कांग्रेसका एक नेताले भने।
बाँकेमा कांग्रेसले राणालाई उम्मेदवार बनाए पनि सबैको ध्यान क्षेत्र नं. ३ का उम्मेदवार किशोरसिंह राठौरलाई जिताउनमा केन्द्रित गरेको देखिन्छ। जसका कारण बाँके २ मा सबैभन्दा ठूलो जनमत भए पनि कांग्रेस उम्मेदवारलाई मुख्य प्रतिस्पर्धी ठानिएको छैन। कांग्रेसको शुभेच्छुक मत राप्रपाका धवलशमशेर राणा, जसपाका इस्तियाक राई र शिव सेनाका दिवाकर खनालतिर चुहिने संकेत जिल्लास्तरकै नेताले बताउने गरेका छन्। ‘राप्रपाका राणा र जसपाका राईभन्दा हाम्रो उम्मेदवार कमजोर भन्दै केन्द्र र जिल्ला स्तरका नेताबाट भ्रम फैलाउने काम भयो। कांग्रेस नजित्ने भएपछि हाम्रो भोट बाँडिने देखिन्छ,’ जिल्लास्तरीय एक नेताले भने।
जसपाका राईलाई रोक्नुपर्छ भन्ने मानसिकता
अहिलेसम्मको चुनावी माहोल हेर्दा राप्रपाका धवलशमशेर र जसपाका इस्तियाकबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ। जनमतको दृष्टिले खासै कमजोर नभए पनि कांग्रेसका सुदीपनरसिंह राणाले माहोल बनाउन नसक्दा कांग्रेसले आफ्नो मत सुरक्षित राख्न सकेका छैन। यसको फाइदा राप्रपाका डा. धवललाई पुगिरहेको छ।
उता, शक्ति सन्तुलन मिलाउन दुईपटक सांसद र तीनपटकमन्त्री भइसकेका जसपाका राईलाई अहिले रोक्नुपर्छ भन्ने मानसिकता मतदातामा उठेको छ। प्रतिनिधिसभामा जानबाट राईलाई अहिले रोक्न नसके दुई–तीन कार्यकाल उनले कब्जा गर्ने डर कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलका नेता, कार्यकर्तालाई छ।
एकातिर कांग्रेस उम्मेदवार कमजोर हुनु र अर्कोतर्फ राईलाई रोक्नुपर्छ भन्ने मानसिकताले कांग्रेस समर्थकको मत राप्रपाका डा. धवललाई जाने देखिएको छ। ‘डा. धवल राम्रो भएर जित्ने होइन। यहाँ त मोहम्मद इस्तियाकलाई रोक्नका लागि धवलको पक्षमा माहोल बन्दै छ,’ नेपालगन्जका एक मतदाताले भने।
आफ्नो दलका उम्मेदवारले नजित्ने संकेत देखेका कांग्रेस समर्थकले डा. धवललाई भोट दिने मनस्थिति बनाएको कांग्रेसबाट वडाध्यक्ष जितेका एक सदस्यले भने, ‘इस्तियाकलाई रोक्नुपर्छ भन्ने मानसिकताले कांग्रेसको मत बाँडिने देखिन्छ, यो कांग्रेसका लागि राम्रो होइन। कांग्रेसले आफ्नो मत सुरक्षित राख्न नसके भविष्यमा ठूलो असर पर्नेछ।’
तर, कांग्रेसको मत डा. धवललाई मात्र जान्छ भन्न सकिने अवस्था छैन। एमाले र कांग्रेसको मत इस्तियाकलाई पनि जाने अनुमान गरिएको छ। ‘एमालेको आफ्नो उम्मेदवार नभएकोले केही मत इस्तियाकलाई जाने देखिन्छ। इस्तियाकलाई रोक्न कांग्रेसको केही मत डा. धवलतर्फ ढल्किने अहिलेको अवस्थाले देखाउँछ,’ एक मतदाताले भने।
प्राथमिकतामा धार्मिक मुद्दा
बाँके क्षेत्र नं. २ मा धार्मिक मुद्दा उठाइएको छ। डा. धवलले एमाले र राप्रपाको मतसँगै कांग्रेस तथा हिन्दुवादी भोट तान्ने रणनीति लिएको देखिन्छ। त्यसो त शिव सेनाबाट दिवाकर खनालको उम्मेदवारीले बाँके २ मा चुनावमा धार्मिक मुद्दाले प्रवेश पाएको छ।
धवल स्वयं हिन्दु राष्ट्रको माग गरिरहेको राप्रपाका उम्मेदवार हुन्। २०५४ मा धवलले नेपालगन्जको मेयर जित्दा यिनै खनाल शिव सेनाबाट निकटतम प्रतिद्वन्द्वी थिए। त्यसैले बाँकेमा धार्मिक मुद्दालाई बिकाउ नारा मानिँदै आएको छ।
तर, हिन्दुवादी मतदाताको भोट दुईतिर बाँडिदा इस्तियाकले फाइदा उठाउन सक्ने पनि विश्लेषण गरिएको छ। तर, शिव सेनाका खनाल त्यो विश्लेषणमा कुनै सत्यता नभएको बताउँछन्। ‘हिन्दुको भोट मैले बाहेक अरूले पाउने सम्भावना छैन। धवलजीले पार्टीका भोट पाउनुहुन्छ । मैले कांग्रेस, हिन्दु र मेरो व्यक्तिगत मत पाउँछु,’ उनले भने।
बाँके क्षेत्र नं. २ मा कुल ९७ हजार ८ सय ९ मतदाता छन् । यी मध्ये झन्डै ७४ हजार हिन्दु र २३ हजार मुस्लिम मतदाता छन् ।
मोहम्मद इस्तियाक राई विकासप्रेमी नेताको रूपमा परिचित छन्। बाँकेको विकासमा अतुलनीय योगदान पुर्याएकोले उनले मतदातामाझ राम्रो इमेज बनाएका छन्। सामान्य जीवनबाट राजनीतिमा आएका उनी मन्त्री भएको वेला विकासका धेरै योजना ल्याएर समुन्नत बाँके बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्छन्।
सहरी विकासमन्त्री भएका वेला उनले भेरी अस्पतालको अत्याधुनिक नयाँ भवनका लागि बजेट विनियोजन गरे। अहिले उक्त भवन निर्माण पूरा भई सञ्चालनको तयारीमा छ। पुरानो भवन भत्काएर सुविधासम्पन्न नयाँ भवन निर्माणका लागि उनकै पहलमा ६ अर्ब रुपैयाँ विनियोजन भएको छ।
उनले आइसियूका लागि उपकरणको व्यवस्था गर्नुका साथै नेपालगन्जको बाइपासलगायत २२ वटा सडक कालोपत्रे गर्न बजेट ल्याइसकेका छन्। धम्बोझी–गुलरिया सडक ४ लेनका लागि बजेटको व्यवस्था गरेका उनले बैजापुर–कालाकाँटे जोड्ने हुलाकी सडकका लागि पनि बजेट विनियोजन गरेको बताए।
त्यसैगरी, जमुनाह–राँझा सडक स्तरोन्नतिका लागि पनि उनले बजेट ल्याएका छन्। उक्त सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्न बजेट विनियोजन भई ठेक्का प्रक्रियामा गइसकेको छ। भने, नेपालगन्ज र कोहलपुरको पाँच ठाउँमा आकाशे पुल निर्माणको प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताए। ‘म बाँकेमा जन्मिएँ। बाँकेमा हुर्किएँ। जे गर्छु बाँकेकै लागि गर्दै आएको छु र गर्नेछु,’ उनले भने।
सडक डिभिजन कार्यालयका अनुसार राप्ती नदीस्थित सिधनियाघाटमा डबल लेनको पुल निर्माणका लागि पनि बजेट विनियोजन भएको छ। पुष्पलाल चोकदेखि सिधनियाघाटसम्म पर्ने हुलाकी सडक स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरेको उनले बताए।
‘बस्ती भएको ठाउँमा ११ मिटर र नभएको ठाउँमा ७ मिटर कालोपत्रे गर्न बजेट विनियोजन गराएको छु,’ मन्त्री राईले भने।
धवलको सोझो टक्कर निवर्तमान सांसद इस्तियाक राईसँग हुने देखिन्छ। राई उनै नेता हुन्, जो २०७४ को निर्वाचनमा एमाले–माओवादी र कांग्रेस–राप्रपाका दुई गठबन्धनसँग लड्दा पनि विजयी भएका थिए। संयोगले यसपटक पनि दुईवटा गठबन्धनसँगै चुनाव लड्दै छन्।
माओवादी केन्द्र र कांग्रेसका स्थानीय केही नेता पनि आफैँतर्फ आएकाले यसपटक चुनाव जित्न सहज रहेको उनी दाबी गर्छन्। ‘जसपाले गठबन्धन नछाड्दै मैले मित्रवत् प्रतिस्पर्धा गरौँ भनेकै हो। मलाई गठबन्धनमाथि विजय हासिल गर्ने बानी भइसक्यो,’ राईले भने, ‘मैले हार्ने कुनै सम्भावना छैन।’
नेपालगन्जको विकासमा उत्कृष्ट काम गरेको दाबी गर्दै आफू मतदातामाझ लोकप्रिय भएको दाबी डा. धवलले गर्दै आएका छन्। नेपालगन्ज उपमहानगरको मेयर भएका वेला नेपालगन्जको विकासले फड्को मारेको उनको दाबी छ।
एसियाली विकास बैंकको सहयोगमा नेपालगन्जका अधिकांश सडक कालोपत्रेसँगै निर्माण भएकाले सर्वसाधारण मतदाताको मनमस्तिष्कमा राणाले इमानदार र विकासप्रेमी नेताको रूपमा छाप पारेको भन्ने उनलाई परेको छ।
पदमा बसेका वेला पनि राणाले पदको दुरुपयोग र भ्रष्टाचार नगरेको दाबी गर्दै उनले सरकारबाट पाउने पारिश्रमिकसमेत गरिव, दुःखी, असहाय र विभिन्न धार्मिक तथा सामाजिक संस्थालाई दिएकोले अरूभन्दा आफ्नो लोकप्रियता बढी भएको उनको बुझाइ छ। आफ्नो पालामा नेपालगन्जमा ल्यान्डफिल साइट निर्माण भई सञ्चालनमा आएको पनि उनले दाबी गर्दै आएका छन्। ‘घरदैलोमा राम्रो वातावरण पाएको छु। एमालेको पूरै साथ छ। मेयर हुँदा यो क्षेत्रका लागि धेरै काम गरेको छु,’ उनले भने, ‘मेरो इमानदार स्वभाव र भ्रष्टाचारविरोधी छविको मतदाताले मूल्यांकन गर्नेछन् भन्ने विश्वास छ।’
कसको भोट कसले काट्छ ?
नेपालगन्जका पुराना व्यापारीसमेत रहेका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल पनि प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ का उम्मेदवार हुन्। उनी शिव सेना नेपालनिकट मानिन्छन्। शिव सेनाको बलमा नै उनले उम्मेदवारी दिएको जानकारहरू बताउँछन्।
२०५४ सालको स्थानीय निर्वाचनमा उनी एमालेका डा. धवलशमशेर राणासँग झिनो मत अन्तरले पराजित भएका थिए। औसतमा उनले शिव सेना र हिन्दु धर्ममा आस्था राख्ने तथा पहाडी मूलका मतदाताको मत पाउने भएपछि यसको धक्का राप्रपाका उम्मेदवार डा. धवलशमशेरलाई लाग्ने देखिन्छ।
उम्मेदवारी घोषणासँगै उनी शिव सेना र हिन्दु मतदातासँगको दुरी नजिक बनाउँदै लगेका छन्। गेरु वस्त्र धारण गरेर हिँड्ने गरेका उनले हिन्दु राष्ट्र पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएका छन्। नेपालगन्जमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका खनाल व्यापारीमाझ लोकप्रिय मानिन्छन्।
‘प्रतिनिधिसभा सदस्यका लागि दिवाकर खनालको उम्मेदवारीले एमाले–राप्रपाका डा. राणालाई क्षति पुग्ने र यसको प्रत्यक्ष फाइदा जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई पुग्नेछ,’ नेपालगन्जका एक राजनीतिक विश्लेषकले भने।
डा. धवलको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरीले पनि काट्ने सम्भावना छ। अग्रहरीको पक्षमा युवा र हिन्दुवादीहरू देखिएका छन्।
उता, यो क्षेत्रमा जसपाका उम्मेदवार मोहम्मद इस्तियाकसँगै मुस्लिम समुदायका थप चारजना चुनावी मैदानमा छन्। उनका पूर्वस्वकीय सचिव समसुलहक राई, स्वतन्त्र उम्मेदवार इर्फान शेष, लोकतान्त्रिक समाजवादी पार्टीका हफिज पठान र जनसमाजवादी पार्टीबाट लिलौ दर्जी प्रतिस्पर्धामा छन्। यी सबै मुस्लिम उम्मेदवारले मुस्लिम समुदायको भोट पाउने भएकोले यसको असर इस्तियाकलाई पर्ने निश्चितजस्तै छ।
समसुलहक प्रचारप्रसारमा नदेखिए पनि अर्का स्वतन्त्र उम्मेदवार इर्फान शेषले चुनावी अभियान तीव्र पारेका छन्। पछिल्लो समय उनको चर्चा व्यापक बन्दै गएको छ। यसअघि तीनपटक चुनाव लडिसकेका लिलौ दर्जीले झन्डै एक हजार मत पाउने आकलन गरिएको छ। जित निकाल्न इस्तियाकले यी सबै उम्मेदवारलाई मिलाउनुपर्ने देखिन्छ।
वडाध्यक्षले पाएको मतको आधारमा कसको अवस्था कस्तो ?
गत स्थानीय तह निर्वाचनमा क्षेत्र नं. २ मा जसपा पहिलो पार्टीको रूपमा उदाएको छ। नेपालगन्जका २१ वटा वडामध्ये जसपाले ६ वडाध्यक्ष जित्दा एमालेले पाँच, कांग्रेस र माओवादी केन्द्रले चार–चार र राप्रपाले तीन वडा जितेको छ। क्षेत्र नं. २ मा नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ वडा पर्दैन।
त्यसैगरी, डुडुवामा जसपाले तीनवटा वडा जित्दा एमालेले दुई र कांग्रेसले एउटा वडाध्यक्ष मात्र हात पारेको छ। यो क्षेत्रमा जसपाले ९ वडा, एमालेले सात, कांग्रेसले ५, माओवादीले चार र राप्रपाले तीन वडा जितको छ भने कांग्रेसले दुई पालिका प्रमुख एक उपप्रमुख र जसपाले एक उपप्रमुख हात पारेको छ।
एकल रूपमा जसपा सबैभन्दा ठूलो दल भए पनि यो क्षेत्रमा एमाले–राप्रपा गठबन्धन बलियो देखिन्छ। नेपालगन्जमा एमालेका वडाध्यक्षले ११ हजार १५ मत पाएका छन् भने राप्रपाका वडाध्यक्षले पाएको मत संख्या आठ हजार ४२४ छ।
त्यसैगरी, डुडुवा गाउँपालिकामा एमालेका वडाध्यक्षले तीन हजार ९६९ मत पाउँदा राप्रपाले जम्मा एक सय १७ मत पाएको छ। यी दुई पालिकाको मत जोड्दा २३ हजार ५२५ हुन आउँछ।
नेपालगन्जको १६ र १७ वडाबाहेक २१ वडा र डुडुवाका कांग्रेस वडाध्यक्षले पाएको मत १८ हजार ६४ रहेको छ । यस्तै, जसपाको १३ हजार ४१९ र माओवादी केन्द्रका वडाध्यक्षले ६ हजार ८४७ मत पाएको निर्वाचन आयोगको रेकर्डले देखाउँछ।