१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार १४:०३:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

लोकतन्त्रको कुरूप अभ्यासमाथि विद्रोह गरेको हुँ : शम्भु पनेरू [अन्तर्वार्ता]

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार १४:०३:००

यतिवेला चुनावी रापतापले देश तातेको छ। देशमा नीति बनाउने र थिति बसाल्ने आश्वासनसहित उम्मेदवार मतदाताका घरदैलो धाइरहेका छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा कुल दुई हजार एक सय २८ र प्रदेश सभामा दुई हजार आठ सय ४५ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये एक हुन् नुवाकोट क्षेत्र नम्बर २ (क)का उम्मेदवार शम्भुप्रसाद पनेरू। उनले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। ३० वर्ष माओवादी पार्टीमा रहेर राजनीति गरेका उनले किन स्वतन्त्र उम्मेदवारी दिए ? उनका चुनावी एजेन्डालगायतका विषयमा केन्द्रित रहेर नयाँ पत्रिकाले गरेको कुराकानीको सम्पादित अंश :

३० वर्ष माओवादी पार्टीमा लागेको मान्छे, यो समयमा आएर किन स्वतन्त्र उम्मेदवार बन्नुभयो ?
मैले ३० वर्षअघि अघिल्लो (पञ्चायती) राजनीतिक विकृतिको विरुद्धमा राजनीति सुरु गरेको थिएँ। त्यतिवेला म युवा थिए । देशमा राजनीतिक परिवर्तन गर्नुपर्छ भनेर माओवादी पार्टीमा लागेँ । नयाँ रूपमा उदाएको माओवादी पार्टीले देशलाई नयाँ शिराबाट अघि बढाउन सक्छ भन्ने अपेक्षा थियो। आमजनतामा समानता कायम गर्छ भन्ने सोचका साथ माओवादी रोजेँ। विडम्बना, बहुदल आएको ३२ वर्षसम्म देशले विकासमा कोल्टो फर्न सकेन। ३० वर्ष शासन गरेको पञ्चायत र ३२ वर्ष शासन गरेको बहुदलीय व्यवस्थामा फरकपन पाइनँ। माओवादी आफ्नो सिद्धान्त र राजनीतिक भिजनलाई एकातिर थन्क्याएर कहिले एमाले त कहिले कांग्रेससँग टाँसिन पुग्यो। लोकतन्त्रको योभन्दा कुरूप अभ्यास अरू केही होला जस्तो लागेन। त्यसैले  नयाँ जोस र  जाँगर भएका युवाहरूको साथ लिएर स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य भएँ।

तपाईंकै शब्दमा एउटा सिंगो पार्टी त कहिले एमाले कहिले कांग्रेसको साथ लिएर हिँडिरहेको छ। तपाईं एक्लैले के गर्न सक्नुहुन्छ ?
यो समयमा मान्छेले चाहेर वा नचाहेर पनि एउटा आधार सिर्जना भएको छ। दलका नेतृत्वकर्ताहरूसँग दृढ इच्छाशक्ति भएन। उनीहरू व्यक्तिगत स्वार्थमा रुमलिएका छन्।  पारिवारिक स्वार्थभन्दा माथि देश छ भनेर कहिलै सोचेनन्। देश बनाउनेभन्दा पनि विदेशीसँग मिलेर कसरी आफू र आफ्नालाई राम्रो बनाउने भन्नेतिर लागे।

अहिले युवाहरू ‘आफ्नो देश आफैँ बनाऔँ’, ‘हामीले नगरे कसले गर्ने’, ‘अहिले नगरे कहिले गर्ने’ भनेर जागिरहेका छन्। कामको लगि परदेश जान नपरोस् भन्ने उनीहरूको चाहना हो। देशमै टिक्ने वातावरण मिलाउन सक्ने नेतृत्वको खोजीमा छन्। जोस जाँगर भरिएका तिनै युवाहरूले अघि बढ्न घचघच्याए।  युवाहरूको साथ पाएकाले नै मैले पुरानो राजनीतिक विरासतलाई त्यागेको हुँ। 

तपाईंका चुनावी कार्यक्रम के–के छन् ? 
नुवाकोट प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । मैले निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा मुख्यतया तीनवटा कुरालाई आधार बनाएको छु। आधुनिक कृषि प्रणाली अपनाएर सबैभन्दा पहिले आत्मनिर्भर हुन जरुरी छ। एक नम्बरमा मैले दूध उत्पादनलाई जोड दिएको छु।  नुवाकोटलाई देशकै नमुना फर्म भएको जिल्ला बनाउन सकिन्छ। हामीसँग प्रशस्त पानी छ, चरिचरण छ। हामीले व्यवस्थापनका लागि मात्रै ध्यान दिन सक्यौँ भने पनि धेरै युवाहरूलाई आफ्नै घरमा रोजगारी सिर्जना गर्न सकिन्छ।

अर्को भनेको माछापालन। नुवाकोट माछापालनका लागि निकै सम्भावना भएको ठाउँ हो । त्रिशूली नदी माछाका लागि प्रख्यात भनेर पुस्तकमा घोकिरहे पनि यसलाई व्यवसायीकरण भने गर्न सकिएन। अहिलेको नेतृत्वले माछा उत्पादनलाई पाखा लगाएर बालुवा उत्खननमा जोड दिए। त्रिशूलीको दायाँबायाँ प्रशस्त सार्वजनिक र निजी जग्गा छ। स्थानीयसँग मिलेर त्यहाँ मत्स्य कम्पनी खोल्न सकिन्छ। 

त्यस्तै मेरो अर्काे परिकल्पना त्रिशूली नदीमा व्यावसायिक र्‍याफ्टिङ । हामीले त्यहाँ व्यावसायिक र्‍याफ्टिङ सुरु गर्न सक्यौँ भने सयौँले रोजगारी पाउनुका साथै पर्यटनको विकासमा समेत ठूलो टेवा पुग्ने निश्चित छ।

यति काम गर्न सांसद नै त हुनुपर्दैन होला । एक नागरिक नै रहेर पनि यस्ता उद्यम गर्न सकिन्छ होइन र ?
मुलुकको सामाजिक र आर्थिक उन्नतिका लागि सरकारले हरेक वर्ष बजेट निर्माण गर्छ। त्यो बजेट जनप्रतिनिधिमार्फत नै जिल्लाजिल्ला पुग्ने हो। त्यसैले म उम्मदवार बनेर विजयी हुन सकेँ मैले अघि सारेका योजनामा राज्यको लगानी गर्न सक्ने वातावरण बनाउन सक्छु । तर, विजयी नभए पनि यसका लागि पहल अवश्य गर्नेछु । तर, यहाँ कमिसनमा बजेट हाल्ने प्रवृत्ति छ। मैले ३० वर्ष माओवादी राजनीति गरिरहँदा कसैको एक रुपैयाँ पनि दुरुपयोग गरेको छैन। कमिशनमा काम गर्ने प्रवृत्तिका नेताहरूले मैले ल्याएको योजनामा बजेट नहाल्न सक्छन्। त्यसैले यो घुसखोरी र कमिशनतन्त्रको अन्त्यका लागि पनि मैले जित्नु आवश्यक छ।  

यीबाहेक समग्र जिल्लाको विकासका लागि कुनै योजना छ?
हाम्रो जिल्लामा नियमित बाटाघाटा बनिरहेका छन्। निर्माणाधीन पुलपुलेसा, सिँचाइ खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा मेरो विशेष ध्यान जानेछ। जसरी अहिले पासाङल्हामु राजमार्ग अलपत्र परिरहेको छ, त्यसलाई बनाउन मैले नागरिकस्तरबाटै सरकारलाई घचघच्याइरहेको पनि छु। जहाँजहाँ ठूला समस्या छन् त्यसलाई पहिचान गरी त्यसको समाधानका लागि लाग्नेछु।

किसानले रासायनिक मलको अभाव खेप्दै आएका छन् ? यसको समाधानका लागि तपाईंको के छ योजना ? 
म आफैँ पनि त्यसको सिकार भएको छु। हामीले रासायनिक मलभन्दा कम्पोस्ट मलको लागि जोड गर्नुपर्ने आवश्यकता देखिएको छ। गोबर मल र पिसाबबाट बन्ने मल बढी उपयोगी हुने रहेछ।

रासायनिक मलले माटोको उर्वर शक्ति क्षयीकरण गर्ने हुनाले प्रांगारिक मलको प्रयोगलाई मैले प्राथमिकता दिनेछु। हामीले जिल्लामै अर्गानिक मल कारखाना खोल्ने तयारी गरिरहेका छौँ। रासायनिक मल नपाउनु अर्काे मुख्य कारण अस्थिर सरकार हो । एउटा सरकारले एकखाले कमिसनमा डिल गरेको मल ल्याउने वेलामा अर्काे सरकार आउँछ । त्यसमा फेरि कमिसनको कुरा मिल्दैन । नेताहरूमा जनताका समस्याभन्दा कमिसन ठूलो भएकै कारण जनताले दुःख पाएका छन्। त्यसैले अब जनताले जसले मलमा कमिसनको खेल गरेर ठग्नेहरूलाई मत नदिएर बहिस्कार गर्न जरुरी छ।