धनगढी उपमहानगरपालिका १३, श्रीलंकाको सुकुमबासी बस्तीकी फुलमती चौधरी वर्षायाममा घरमा ‘चैन’ले बस्न पाउँदिनन् । डुबानले बर्खाभरि घरभित्र ओसिलो र हिलो हुन्छ । परिवारसहित कैयौँ दिन गाउँकै विद्यालय भवनमा आश्रय लिएर बस्नुपर्छ । घरनजिकै रहेको मोहना नदीको बाढी बस्तीमा पस्दा उनको परिवारको बिचल्ली हुन्छ । यतिवेला चुनावका लागि घरदैलो मत माग्न आउने उम्मेदवारलाई उनले यिनै दुःख सुनाउँछिन् ।
उम्मेदवार र राजनीतिक दलका नेता, कार्यकर्ताहरू मत माग्नका लागि दैनिकजसो उनको घर र बस्तीमा पुग्न थालेका छन् । उनीहरूसँग फुलमती एउटै आग्रह गर्छिन्– नदीको बाढी पस्दा डुबानले बर्खामा घर बस्नै हुँदैन, कटानले नदी घरनजिकै पुग्न थाल्यो । तटबन्ध बनाइ दिनुप¥यो । ‘जमिन होचो छ । निकासको ठाउँ छैन । बर्खामा थोरै पानी पर्दा पनि भरिएर घरभित्र पस्छ । बढी पानी परे मोहनामा बाढी बस्ती पस्दा हामी विस्थापित हुन्छौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘नदीमा तटबन्ध मात्र बनाइदिए हाम्रा दुःख धेरै कम हुने थियो ।’
यो बस्ती वर्षायाममा बाढी र डुबानबाट अत्यधिक प्रभावित हुन्छ । फुलमतीजस्तै बस्तीका अधिकांश सुकुमबासी परिवार डुबानका वेला विद्यालयमा आश्रय लिन पुग्छन् । नदीले बर्खामा डुबान मात्र गर्दैन, अत्यधिक कटानले बस्तीनजिकै पुगेको छ ।
बाढी र डुबानबाट पीडित सुकुमबासी परिवार अहिले मत माग्न आउने उम्मेदवार, नेता, कार्यकर्तालाई नदीमा तटबन्ध बनाइदिन आग्रह गरिरहेका छन् । उनीहरूले आफू बसेको जग्गाको लालपुर्जा दिन पनि माग गरेका छन् । त्यहाँका करिब डेढ सय सुकुमबासी परिवारमध्ये अधिकांश मजदुरी गरेर जीविकोपार्जन गर्छन् । कतिपय खेतीपातीमा संलग्न छन् । बस्तीको मुख्य समस्या डुबान भएको सुकुमबासी चम्फुलाल चौधरीले बताए । मत माग्न आउनेहरूलाई डुबानको समस्या समाधानका लागि नदीमा तटबन्ध निर्माण गरिदिन आफूहरूले आग्रह गरिरहेको उनले बताए ।
आश्वासनको भर छैन सुकुमबासीलाई
उम्मेदवार र नेताहरूले माग पूरा गर्ने प्रतिबद्धता जनाउने गरे पनि तटबन्ध बन्ला भन्ने आशा स्थानीयमा छैन । किनकि, यही समस्या यसअघिका चुनावमा पनि स्थानीयले उम्मेदवार र नेताहरूलाई नसुनाएका होइनन् । तर, अहिलेसम्म कुनै जनप्रतिनिधि, नेता र निकायले सुनुवाइ गरेनन् ।
स्थानीयले हरेक चुनावमा यही माग गर्छन् र उम्मेदवारले प्रतिबद्धता पनि जनाउँछन् । तर, चुनावपछि फर्केर कोही आउँदैनन् । ‘चुनावका वेला मात्रै नेताहरू आउँछन् । सुकुमबासीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँछन्, आश्वासन दिन्छन् । जितेर गएपछि कसैले फर्केर हेरेनन्,’ चम्फुलालले गुनासो पोखे, ‘भोट माग्न आउनेहरू सांसद, मन्त्री भए हाम्रा दुःख जहाँका त्यहीँ छन् ।’
तीन दशक पुरानो यो बस्तीका स्थानीयले विगतका हरेक चुनावमा जग्गाको लालपुर्जा र तटबन्ध निर्माणको माग उठाए । कटानले नदी बस्तीनजिक पुगिसक्यो, तर तटबन्ध बनाउन कुनै नेता र निकायले चासो दिएका छैनन् । तटबन्ध बनेमा कटान र बाढी बस्ती पस्न रोकिने स्थानीयको आशा छ ।
०७४ को चुनावमा पनि आफूहरूले उम्मेदवारलाई यही माग गरेको बस्तीका भल्मन्सा आइतराम चौधरीले बताए । तटबन्ध निर्माण गर्ने प्रतिबद्धतासहित मत मागेर विजयी भएका सांसद नारदमुनि राना यो पाँच वर्षमा एकपटक पनि सुकुमबासी बस्तीमा फर्केर नआएका चौधरीले गुनासो गरे । ‘स्थानीय चुनावमा पनि तटबन्ध र लालपुर्जाको माग गरेका थियौँ ।’ उनले भने, ‘न तटबन्ध बन्यो न लालपुर्जा पायौँ,’ नेताहरूले सुकुमबासीलाई चुनावका वेला उपयोग मात्र गरेको चौधरीले बताए ।
तटबन्ध निर्माण र लालपुर्जाको माग
यो चुनावमा पनि स्थानीय सुकुमबासीले मत माग्न आउने सबै उम्मेदवार र नेताहरूसँग तटबन्ध निर्माण र जग्गाधनी प्रमाणपुर्जाको माग गरिरहेका छन् । स्थानीय राजकुमार चौधरीले सबैजसो दल र स्वतन्त्र उम्मेदवार बस्तीमा मत माग्न आइरहेका बताए । ‘यहाँको प्रमुख समस्या नै डुबान, कटान र लालपुर्जाको हो । जग्गाधनी प्रमाणपुर्जा नहुँदा हामीले कुनै बैंकिङ कारोबार गर्न पाएका छैनौँ ।’ उनले भने, ‘अब सुकुमबासीलाई भोट बैंकको रूपमा उपयोग मात्र गर्नुहुँदैन । हाम्रा समस्या बुझिदिनुपर्छ ।’
भल्मन्सा आइतरामका अनुसार यहाँ करिब डेढ सय परिवार सुकुमबासीको बसोवास छ । सुकुमबासी बस्तीसँगै श्रीलंका मुक्त कमैया शिविर पनि छ । शिविरको प्रमुख समस्या पनि बाढी र डुबान रहेको स्थानीय बताउँछन् । सुकुमबासी र मुक्त कमैया बस्तीका भित्रि सडकहरू जीर्ण छन् । बर्खामा हिलो र अरू वेला धुलोले समस्या हुने गरेको स्थानीय बताउँछन् ।