पर्साको वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सो अवधिमा राजस्व संकलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आव ०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको तीन लाख ७० हजार ९२० किलोलिटर डिजेल आयात भएको थियो । चालू आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।
चालू आवको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलको आयात १६.३ प्रतिशत र राजस्वको आधारमा भने १२.५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ ।
यसैबिच, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताए ।