मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुद्दा चलाउने पर्याप्त आधार हुँदाहुँदै एमाले नेता पहारीलाई जोगाएर साक्षी मात्र बनाइयो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार o९:५९:oo

पोखराको सूर्यदर्शन सहकारी ठगीमा मुछिएका एमाले केन्द्रीय सदस्य राजीव पहारीलाई भने सत्ताको आडमा उन्मुक्ति दिइएको छ । उनको नाममा सहकारीबाट १५ लाख रुपैयाँ पेस्की निकासा भएको फरक–फरक अनुसन्धानबाट देखिए पनि उनीमाथि मुद्दा चलाइएन । जोगाउन साक्षी बनाएर उभ्याइएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा राजनीतिक प्रतिशोधका आधारमा अनुसन्धान गरेको आरोप लागिरहेका वेला सत्तारूढ दलका नेतालाई प्रहरीले जोगाएको अभियोगपत्रबाटै देखिन्छ । पोखरा महानगरपालिकाको छानबिन प्रतिवेदन र सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पहारीले पेस्की लिएको देखिन्छ । तर, त्यसबारे आफूलाई जानकारी नभएको भन्ने पहारीको दाबीका आधारमा उनलाई मुद्दामा साक्षी मात्रै बनाएर उन्मुक्ति दिइएको छ । जब कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिको नाममा पनि नक्कली कर्जा खडा गरी पैसा निकालिएकोमा उनीहरूलाई भने प्रहरीले प्रतिवादी बनाएको छ ।

आइतबार कास्की जिल्ला अदालतमा सरकारी वकिलले दायर गरेको अभियोगपत्रअनुसार पहारीले १२ चैत ०७४ मा सहकारीबाट पेस्कीका रूपमा १५ लाख लिएको देखिन्छ । प्रहरी स्रोतका अनुसार हाल थुनामा रहेका सूर्यदर्शन सहकारीका तत्कालीन सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे)मार्फत पहारीले सो रकम लिएका थिए । गुरुङ पहारीनिकट व्यक्ति हुन् । सोही आधारमा उनी सहकारीको साधारणसभामा पनि प्रमुख अतिथिका रूपमा पटक–पटक जाने गरेका थिए । प्रहरीसँगको कागजमा नेता पहारीले सहकारीसँग निकटता खुलाएका छन्, तर आफ्नो नाममा पेस्की रकम भुक्तानी भएकोमा भने अनभिज्ञता देखाएका छन् ।

उनले प्रहरीसँगको कागजमा भनेका छन्, ‘मलाई सो सहकारीको वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा आमन्त्रित गरेकै भरमा मेरो नाममा समेत यसरी गैरकानुनी तवरबाट मेरो जानकारी र मञ्जुरविना म आफूले कुनै रकम नलिएको अवस्थामा १५ लाख पेस्की भनी देखाई हालसम्म फस्र्योट नगरी राखेको देखिँदा यस्तो प्रकारको कानुनविपरीतको कार्य गर्ने व्यक्तिको पहिचान गरी निजहरूलाई प्रचलित कानुनबमोजिम हदैसम्मको सजायसमेत हुनुपर्छ ।’

यसरी अनभिज्ञता देखाएकै आधारमा पहारीले मुद्दाबाट छुटकारा पाउँदा अन्यको हकमा भने प्रहरीको अनुसन्धान मापदण्ड फरक छ । अन्यको नाममा पनि यसैगरी कुनै कागजातविना नै उनीहरूको नाममा कर्जा बनाएर दुरुपयोग गरेको अनुसन्धानमा देखिए पनि मुद्दा नै दायर गरिएको छ । रास्वपा सभापति लामिछानेका नाममा एक करोड रुपैयाँ कर्जा देखाइएकोमा त्यसलाई भने प्रहरीले सहकारी ठगीको बिगो बनाएको छ । जसकारण प्रहरी अनुसन्धानको निष्पक्षतामा प्रश्न उठेको छ ।

लामिछानेले वयानमा भनेका छन्, ‘मिति २०७७÷०३÷३१ गते सहकारीमा नामथर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर एक करोड ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा वयान दिन जाँदाको क्रममा आधिकारिक रुपमा थाहा पाएको, सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोगसमेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन ।’ यसरी समान प्रकृतिको घटनामा लामिछाने र पहारीको वयान पनि समान प्रकृतिकै छ । तर, लामिछानेलाई मुद्दा चलाएर पहारीलाई भने उन्मुक्ति दिएको छ ।

पहारीको नाममा ग्लोबल आइएमई बैंक र त्रिवेणी बैंकको दुई चेकबाट १५ लाख रुपैयाँ पेस्की दिइएको सहकारीको रेकर्ड छ । शिवबहादुर गुरुङका कर्मचारी छिरिङ फुन्सोङ ठकुरीमार्फत रकम निकासा भएको उल्लेख छ । तर, ठकुरीले पनि आफूले सो रकम नलिएको प्रहरीमा कागज गरेका छन् । उनको बयानमा भनिएको छ, ‘वित्तीय विश्लेषण प्रतिवेदनमा मिति २०७४÷१२÷१२ गते राजीव पहारीको नाउँमा सहकारीले पेस्की देखाई निकासा गरेको १५ लाख रुपैयाँमध्ये सहकारीको त्रिवेणी विकास बैंकको चेक नम्बर ९१३४०९ बाट सात लाख र ग्लोबल आइएमई बैंकको चेक नम्बर २२०९८२३६ बाट आठ लाख पाउने गरी मेरो नाउँमा चेक काटिएको भन्ने उल्लेख रही सोहीअनुसारको अभिलेख सहकारीमा रहेछ, यस सम्बन्धमा म पूर्ण रूपमा अनविज्ञ छु ।’

पहारीले त ठकुरीसँग आफ्नो चिनजान नै रहेको बताएका छन् । दुवैजनाले पैसा नलिएको बताएको यो विषयमाथि प्रहरीले विस्तृत अनुसन्धान नगरी पहारीलाई उन्मुक्ति दिएको छ । कतिसम्म भने ती चेक बैंकमा कसले साटेको थियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन । पहारीले भने आफ्नो नाममा पैसा निकाल्नेमाथि छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् । ‘सूर्यदर्शन सहकारीमा म कहिल्यै जोडिएको छैन, त्यसकारण मैले पैसा निकाल्ने कुरै भएन । मेरो नाममा कसले निकाल्यो छानबिन हुनुपर्छ ।’

पोखरा घर भएका पहारी ०७४ को प्रदेश सभा निर्वाचनमा कास्कीबाट निर्वाचित भएका थिए । उनी एमालेनिकट युवा संघ नेपालका पूर्वअध्यक्षसमेत हुन् । सूर्यदर्शन सहकारीका प्रायः कार्यक्रममा उनी अतिथिका रूपमा जाने गरेका थिए । पहारी सहकारीको सदस्य भने होइनन् । तर, सहकारीको गलत गतिविधिमा संरक्षण गरेर उनले फाइदा लिएको आधार देखिएको छानबिनमा आबद्ध पोखरा महानगरका अधिकारी बताउँछन् । महानगरले प्रतिवेदन हस्तान्तरण गरेपछि प्रहरीले सोहीअनुसार पहारीलाई समेत कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो ।

पहारीलाई उन्मुक्ति दिएको विषयमा कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेलाई जिज्ञासा राख्दा उनले हाल दोषी देखिएका र आरोप पुष्टि भएकाहरूको हकमा अभियोग दर्ता गरिएको बताइन् । शंकाको घेरामा रहेकालाई पुनः पछि छानबिन गरेर आरोपपत्र दायर गर्न सकिने उनको भनाइ छ ।