बाजुराको जगन्नाथ– ५ गोत्रीलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे गएको भूकम्पले दर्जनौँ परिवार विस्थापित भए, तर उनीहरूलाई रातिसम्म पनि राज्यले भोक टार्ने चिउरा र शीत छेक्ने पालसम्म उपलब्ध गराएन
१२ दिनकी सुत्केरी मुगा दमाईं (तस्बिरमा) भन्छिन्– बिहानदेखि केही खाएको छैन, बच्चा कसरी जोगाउने चिन्ता छ बिहान ज्यान जोगाउन भाग्ने क्रममा लुगा बोक्न भ्याइएन । अहिले बच्चालाई कसरी चिसोबाट जोगाउने भन्ने चिन्ताले सताएको छ । थोत्रो पाल र आगोको भर छ । आगोनजिक बच्चा लिएर बस्न जोखिम पनि छ । बिहानदेखि केही खाएको समेत छैन । राज्यको कुनै निकायले राहत दिएको छैन ।
सुदूरपश्चिमकाे पहाडी जिल्ला बाजुरामा शनिबार बिहान ४:१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गयो । जगन्नाथ गाउँपालिका– ५ गोत्रीलाई केन्द्रविन्दु बनाएर एकाबिहानै गएको भूकम्पले मानवीय क्षति हुन पाएन । तर, १२५ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । भूकम्प आएपछि घरबाट भागेर बारीको पाटामा पुगेका पीडितले दिनभर मात्र होइन, रातिसम्म पनि राज्यको उपस्थिति महसुस गर्न पाएनन् ।
स्थलगत रिपोर्टिङका लागि साँझपख जगन्नाथ– ५ मा पुग्दा भूकम्पपीडितहरू गाउँमा भएका केही थान थोत्रा पाल जुटाएर बारीको पाटामा शीत छेक्ने वासस्थान बनाउँदै थिए । १० दिने सुत्केरीदेखि वृद्धवृद्धासम्म खुला आकाशमुनि आगो बालेर रात कटाउने बन्दोबस्त गर्दै थिए । मिर्मिरेमै घर छाडेर बाहिरिएका उनीहरूले केही खान नपाएको गुनासो गर्दै थिए । राज्यले रातिसम्म भोक टार्ने चिउरा र शीत छेक्ने पालसम्म उपलब्ध नगराएको गुनासो उनीहरूको छ ।
जगन्नाथ– ५ माथिल्लो दर्जीटोलका गोपी दमाईंले अपराह्नतिर एकपटक वडाध्यक्ष गौरी सार्की गाउँमा आइपुगे पनि गाँस र वासको बन्दोबस्ती राज्यस्तरबाट केही नभएको बताए । ‘मलगायत धेरैको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, भित्ताहरू चिराचिरा परेर खसेका छन् । भित्र छिर्नै नसक्ने अवस्था छ । छरछिमेकमा भएका थोत्रा पाल जोरजाम गरेर शीत छेक्न बारीको पाटामा टाँगेका छौँ, चिसोबाट बच्न दाउरा बटुलेर आगो बालेका छौँ,’ उनले भने, ‘अपराह्न ५ बजेतिर वडाध्यक्ष रित्तो हात आएका थिए । कतैबाट पनि गाँस र वासको कुनै व्यवस्था भएको छैन । रातिसम्म भोकै छौँ ।’
गोपीका श्रीमती, तीन छोरी र दुई छोरा छन् । सुत्केरी र केटाकेटीलाई स्थानीय पसलमा अलिअलि भएको चाउचाउ र बिस्कुट खुवाएको उनले बताए । ‘गाउँका पसलमा धेरै सामान हुँदैन, एक पुरिया बिस्कुट खुवाएर सुत्केरीको आँत कसरी भरिन्छ र ?’ उनले भने ।
दर्जीटोलकै मुगा दमाईं सुत्केरी भएको १२ दिन मात्र भयो । यसअघिका दुई छोराछोरी छन् । उनको पनि घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । लत्ताकपडाविना १२ दिने शिशु च्यापेर भागेकी उनलाई कठ्यांग्रिँदो रातमा चिसोबाट जोगिन र बच्चा जोगाउन मुस्किल परेको छ । राति १० बजेतिर पालमुनि आगो तापिरहेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘बिहान ज्यान जोगाउन भाग्ने क्रममा लुगा बोक्न भ्याइएन । अहिले बच्चालाई कसरी चिसोबाट जोगाउने भन्ने चिन्ताले सताएको छ । थोत्रो पाल र आगोको भर छ । आगोनजिक बच्चा लिएर बस्न जोखिम पनि छ । बिहानदेखि केही खाएको समेत छैन । भूकम्प बिहानै गएको भए पनि रातिसम्म राज्यको कुनै निकायले राहत उपलब्ध गराएको छैन ।’
अर्की स्थानीय पानु दमाईं पनि भूकम्पले घर क्षतिग्रस्त भएपछि पुसको ठण्डीमा १५ महिने बच्चा काखमा च्यापेर खुला आकाशमा बस्न बाध्य छिन् । ‘भूकम्पले घर भत्काएपछि खुला आकाशमा बस्न बाध्य भएका छौँ, चर्किएको घरभित्र बस्न डर लाग्छ,’ उनले भनिन् ।
भूकम्पले केन्द्रविन्दु बनाएको वडा नं. ५ मा मात्रै १२५ घरमा पूर्ण क्षति भएको वडाको प्रारम्भिक तथ्यांक छ । आफ्नो वडामा १२५ घरमा पूर्ण क्षति भएको वडाध्यक्ष गौरी सार्कीले बताए । तर, आंशिक क्षति भएका घरहरूको हिसाब गर्न नभ्याइएको उनको भनाइ छ । केन्द्रविन्दुआसपासका गाउँमा भएको क्षतिको विवरण पनि आउन सकेको छैन ।
वडाध्यक्ष सार्कीले भूकम्पबाट विस्थापित भएकालाई राहतको व्यवस्था गर्न नसकिएको स्वीकार गरे । ‘हाम्रो यतातिर माटो र ढुंगाले बनेका घर छन् । १२५ घर बस्नै नमिल्ने गरी भत्किएका छन् । सयौँ मान्छेहरू विस्थापित भएका छन् । तर, हामीले राज्यस्तरबाट पाल, खाद्यान्नलगायत केही पनि वितरण गर्न सकेका छैनौँ,’ राति पौने ११ बजेतिर उनले भने, ‘पालिका अध्यक्षसँग समन्वय गरेको छु, भोलि (आइतबार) बिहान पालिका विपत् व्यवस्थापन समिति बैठक बस्दै छ । के गर्ने भनेर बैठकबाट निर्णय हुन्छ । पालिकाको आयस्रोतले भ्याएसम्म पाल र खानपानको व्यवस्था गर्छौँ ।’ जिल्ला प्रशासनबाट पनि भूकम्प प्रभावित क्षेत्रमा कोही नआएको उनले बताए ।
पीडित बिहानदेखि रातिसम्म भोकभोकै छन् । तर, पालिका अध्यक्ष कालीबहादुर शाही पनि भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गरेपछि आइतबार पालिका विपत् व्यवस्थापन समितिको बैठक बसेर मात्रै राहतबारे निर्णय लिन सकिने जवाफ दिन्छन् । ‘क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । आइतबार पालिका विपत् व्यवस्थापन समितिको बैठक बसेर राहतबारे निर्णय लिएर अगाडि बढ्छौँ,’ उनले भने ।
स्थानीय गोपी दमाईंको दुखेसो- रातिसम्म भोकै छौँ, गाउँका पसलमा धेरै सामान हुँदैन, एक पुरिया बिस्कुट खुवाएर सुत्केरीको आँत कसरी भरिन्छ र?
मलगायत धेरैको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, भित्ताहरू चिराचिरा परेर खसेका छन् । भित्र छिर्नै नसक्ने अवस्था छ । छरछिमेकमा भएका थोत्रा पाल जोरजाम गरेर शीत छेक्न बारीको पाटामा टाँगेका छौँ, चिसोबाट बच्न दाउरा बटुलेर आगो बालेका छौँ । अपराह्न ५ बजेतिर वडाध्यक्ष रित्तो हात आएका थिए । कतैबाट पनि गाँस र वासको कुनै व्यवस्था भएको छैन । रातिसम्म भोकै छौँ । गाउँका पसलमा धेरै सामान हुँदैन, एक पुरिया बिस्कुट खुवाएर सुत्केरीको आँत कसरी भरिन्छ र ?