पछिल्लो समय बर्ड फ्लुको ‘एचफाइभएनवन’का केसहरू अमेरिकीहरूमा पनि बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ
अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले राज्यमा ‘बर्ड फ्लु’का केस बढेपछि बुधबार राज्यमा स्वास्थ्य आपत्काल घोषणा गरे । उता सोही दिन अर्को अमेरिकी राज्य लुइजियानामा देशको पहिलो बर्ड फ्लुको गम्भीर केस रिपोर्ट गरियो । आखिर क्यालिफोर्निया आपत्काल घोषण गर्ने अवस्थामा कसरी पुग्यो ?
संक्रमणबारे अनुसन्धान सुरु
दक्षिणी क्यालिफोर्नियाका कैयौँ डेरीमा गाईहरूमा भाइरस देखिएपछि बुधबार आपत्कालीन घोषणा गरिएको थियो । आपत्कालीन अवस्था घोषणा गरिएपछि प्रकोप नियन्त्रण गर्ने प्रयासका लागि ‘सुव्यवस्थित र द्रुत’ कोष उपलब्ध हुनेछ । सन् २०२२ मा अमेरिकामा पहिलोपटक डेरी फार्ममा ‘बर्ड फ्लु’ देखिएको थियो । त्यसयता अमेरिकाका १६ राज्यमा सयौँ गाईवस्तुमा यो भाइरस फैलिसकेको छ । केही डेरी फार्मका कामदारमा समेत संक्रमण सरेको पाइएको छ । तथापि, हालसम्म मानिसमा सामान्य खालको संक्रमण मात्र देखिएका छन् । तर, बुधबार नै लुइजियाना राज्यमा भाइरसको ‘एचफाइभएनवन’ स्ट्रेनका पहिलो गम्भीर बिरामीको पहिचान भयो ।अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सिडिसी)’का अनुसार नाम सार्वजनिक नगरिएका ती ६५ वर्षीय वृद्ध पहिलेदेखि अन्य रोगबाट बिरामी रहेको र उनको अवस्था गम्भीर छ ।
‘सिडिसी संयुक्त राज्य अमेरिकामा एचफाइभएनवन बर्ड फ्लुको पहिलो गम्भीर केस भेटिएको पुष्टि गर्दछ । संक्रमणको स्रोतबारे अनुसन्धान चलिरहेको छ । हालसम्मको अध्ययनले बिरामीले उनको घर पछाडि करेसामा बिरामी र मरेका चराहरूसँग सम्पर्क राखेको पाइएको,’ सिडिसीले भनेको छ । अमेरिकामा ‘एचफाइभएनवन’ स्ट्रेनको पहिलो केस यस वर्ष मार्चमा पहिचान भएको थियो । त्यसवेलादेखि सात राज्यका ६१ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३४ क्यालिफोर्निया राज्यकै छन् । अधिकांश मानिसमा प्रायः संक्रमणका हल्का लक्षण मात्र देखिएको सिडिसीले बतायो ।
मानिसमा संक्रमण हालसम्म ‘बर्ड फ्लु’ बिरलै सर्ने गरेको छ । यसका बाबजुद पछिल्लो समय विशेषगरी उत्तर अमेरिकामा विगतको तुलनामा धेरै मानिसमा भाइरस देखिन थालेको छ । सन् २०२२ अघि अमेरिकामा ‘बर्ड फ्लु’को मानव केस रिपोर्ट गरिएको थिएन । सन् २०२२ मा ‘बर्ड फ्लु’ लागेको जम्मा एकजना मात्र केस फेला परेका थिए । त्यसपछिको वर्षमा कुनै मानव केस फेला परेन । तर, यो वर्ष भने धेरै मानिसमा एकैपटक बर्ड फ्लु देखिएको छ । त्यस्तै उता अमेरिकाको छिमेकी क्यानडामा पनि नोभेम्बर ९ मा पहिलोपटक एक किशोरमा पहिलो मानव ‘बर्ड फ्लु’को केस रिपोर्ट भएको थियो ।
के हो बर्ड फ्लु ?
‘बर्ड फ्लु’ वा ‘एभियन इन्फ्लुएन्जा’ विशेषतः चराहरूलाई संक्रमित गर्ने भाइरस हो । तर, यसले मानव र अन्य जनावरलाई पनि असर गर्न सक्छ । पछिल्लो समय गाई, सिल, बिरालो, कुकुर, स्याल, स्कन्क्स, बाघ, चितुवा र घरमा पालिएका मिन्कलगायत जीवमा पनि यस भाइरसको संक्रमण पुष्टि भइसकेको सिडिसीले पुष्टि गरेको छ । बर्ड फ्लुले पछिल्लो समय चरामा निकै तीव्र रूपमा फैलिएको घटनाबाट वैज्ञानिकसमेत चिन्तित बनेका छन् । एक–दुुई वर्षमै विश्वभर करोडाैँ चरा यस संक्रमणबाट मरेको तथ्यांकले देखाउँछ । तथापि, हालसम्म ‘बर्ड फ्लु’ एक मानिसबाट अर्को मानिसमा सरेको कुनै पनि घटना भेटिएको छैन । जति पनि मानव केस भेटिएका छन्, ती या त चरा या चराबाट संक्रमित अन्य जीवबाट सरेको छ ।
यदि बर्ड फ्लुको भाइरस मानवबाट मानवमा सर्ने गरी विकसित भए भने त्यो मानव जगत्का लागि निकै भयावह हुन सक्छ । करिब तीन दशकअघि चीनमा पहिलोपटक फेला परेको यो भाइरसले त्यसयता चीन, इजिप्ट, भियतनाम र टर्किएलगायत २३ देशमा करिब ८६० मानिसलाई संक्रमित गरिसकेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । संक्रमितमध्ये ४६३ को मृत्यु भयो । अर्थात्, यस भाइरसबाट संक्रमितको मृत्युदर ५२ प्रतिशत देखिन्छ । तुलनाका लागि पछिल्लो समय महामारीको रूप लिएको कोभिड–१९ को मृत्युदर एक प्रतिशत वरिपरि थियो । बर्ड फ्लुले माहामारीको रूप लिए, यसले धेरैको ज्यान लिने वैज्ञानिकको डर छ ।
मानिसमा कसरी सर्छ बर्ड फ्लु ?
‘बर्ड फ्लु’ भाइरस मानिसको आँखा, नाक वा मुखबाट शरीरमा प्रणालीमा प्रवेश गर्छ । भाइरस संक्रमित चराका र्याल, विष्टा आदिमा हावा र जमिनमा केही समय रहन सक्छ । त्यस्तै यो भाइरस धुलो वा थोपामा केही समय बाँच्न सक्छ, जसले गर्दा त्यस्तो वातावरणमा पुग्ने मानिसले सासमार्फत भाइरस लिन सक्छ । सिडिसीको रिपोर्टअनुसार भाइरस हालसम्म एउटा मानिसबाट अर्को मानिसमा फैलिएको प्रमाण भेटिएको छैन । त्यस्तै सिडिसीले नपकाएको वा राम्ररी नपाकेको कुखुरा नखान पनि सल्लाह दिएको छ । संस्थाका अनुसार संक्रमण फैलिएको दक्षिण पूर्वी एसियामा नपकाएको संक्रमित कुखुरा र कुखुराको रगत खाएका मानिसमा भाइरस संक्रमण भेटिएको थियो ।
कसरी बच्न सकिन्छ ?
हालसम्म संक्रमण मानिस–मानिसबिच नसरेकाले बर्ड फ्लुबाट संक्रमित भएका वा त्यस्तो आशंका भएका जनावर तथा चराचुरुंगीसँगको सम्पर्कबाट टाढा रहनु संक्रमणबाट बच्ने उत्तम उपाय हो । मानिसका लागि बर्ड फ्लुका कुनै पनि खोपले स्वीकृत पाएका छैनन् । तथापि, चरा र कुखुराका लागि खोप उपलब्ध छन् । जसले रोगको विस्तार रोकेको पाइएको छ । बाहिर हल्ला आएजस्तो मौसमी इन्फ्लुएन्जाको भ्याक्सिनले ‘ बर्ड फ्लु’विरुद्ध सुरक्षा प्रदान गर्दैन । सिडिसीको रिपोर्टअनुसार मानिसका लागि पनि ‘बर्ड फ्लु’को खोप उत्पादन गर्ने काम तीव्र रूपमा भइरहेको छ । यसै वर्षको जुलाईमा अमेरिकाको सरकारले कोभिड भ्याक्सिन निर्माता कम्पनी मोडर्नालाई ‘बर्ड फ्लु’विरुद्ध प्रकाभकारी हुने खोप विकास गर्न १७ करोड ६० लाख डलर उपलब्ध गराएको थियो ।
– अल जजिराबाट