मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने–आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना पश्चिमखण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी, चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौँदी बजारमा रोकिनेछ ।