बागमती प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका तीन र प्रदेशको एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट आएका तीनजना र प्रदेशमा हालै बढुवा भएका एकजना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार संघीय सरकारले सरुवा गरी पठाएका डा. सुमित्रा गौतम, वीरेन्द्रदेव भारती र रितेशकुमार शाक्यलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश निजामती ऐनअनुसार ११औँ तहमा बढुवा भएका खुबीराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई स्वास्थ्य मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको उनले बताए। डा. गौतम यसअघि भक्तपुर अस्पतालको मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारीमा रहेर काम गर्दै आएकी थिइन्। उनी ११औँ तहको कर्मचारीसरह रहेकी छिन्। प्रदेश निजामती ऐनअनुसार अधिकृतस्तर ११औँ तहको कर्मचारी प्रदेशसचिवसरह रहने व्यवस्था छ।
मन्त्रिपरिषद् बैठकले अन्य तीनजना कर्मचारीको पदस्थापनको लागि विभाग तोक्ने जिम्मेवारी मुख्यमन्त्री बहादुरसिंह लामालाई तोकेको छ। मुख्मयन्त्री लामाका सचिवालयका अनुसार प्रदेशमा रिक्त अन्य ६ निकायमा उनीहरूको जिम्मेवारी तोक्ने तयारी छ।
मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिवमा रितेशकुमार शाक्यलाई जिम्मेवारी तोक्ने तयारी गरेका छन् भने हालै बढुवा भएका प्रदेशका अधिकृतस्तर ११औँ तहका अधिकारीलाई शिक्षा निर्देशनालयको महानिर्देशक बनाउने तयारी रहेको सचिवालयको भनाइ छ।
निर्देशनालयको महानिर्देशक रहेका दीपेन्द्र सुवेदीको जिम्मेवारी भने संस्कृति तथा पर्यटन मन्त्रालयमा तोक्ने तयारी रहेको सचिवालयले जनाएको छ। यस्तै, संघबाट सरुवा भएका भारती भने सम्पर्कमा नआएकाले उनको पदस्थापनको विषयबारे पछि निर्णय गरिने सचिवालयले जनाएको छ।