भक्तपुरको बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैँ प्रहरीमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । एक प्रहरी अधिकारीका अनुसार आफैँले बाबु र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन् ।
खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएकामा कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन थिए। आइतबार बिहान ३ बजे उनी स्कुटरमा डेराबाट निस्किएको अनुसन्धानमा खुलेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीमाथि सोधपुछ गरिरहेको छ।
मृतक कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन्। कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएका उनी छोराको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।
शनिबार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ।
आरोपी मिलन अचार्य पक्राउपछि महाराजगञ्ज वृत्तमा
जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए। नायब सुब्बा तहमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए।
प्रहरीले सोमबार दिउँसो शव उठाएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ।