भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या नै भएको आकलनमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएका हुन्।
त्यहीँ बस्दै आएका जेठा छोरा मिलनको अवस्था भने अझै अज्ञात छ। प्रहरी प्रहरीका अनुसार उनको मोबाइल आइतबारदेखि स्विच अफ छ। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार उनी बिहान करिब तीन बजे डेराबाट निस्किएको थिए । उनले नै कोठामा ताला लगाएर निस्किएको हुन सक्ने भएकाले उनीमाथि नै प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।
मृतक आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन्। कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएका उनी छोराको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।
शनिबार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ। शवमा चोटपटक रहेको र घटनास्थलको अवस्थाका आधारमा हत्या नै भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।
आफन्तले परिवारलाई बताएअनुसार जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए। नायब सुब्बा तहमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए।
प्रहरीले सोमबार दिउँसो शव उठाएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ।
अन्य प्राविधिक अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।