सञ्चालनको २४ महिना पुग्नै लाग्दा पोखरामा आठौं चार्टर अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरले ११ पुसमा पोखरामा चार्टर उडान गर्न लागेको हो ।
१३ देखि १५ पुसमा पोखरामा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन चिनियाँ टोली विमान चार्टर गरेर पोखरा आउन लागेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एक सय २६ यात्रु लिएर आउने विमान ११ गते बिहान ९ः५० बजे पोखरामा अवतरण गर्नेछ । पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको सिचुवानले यसअघि दुईपटक चार्टर उडान गरिसकेको छ ।
पोखरा अवतरण गरेपछि सो विमान एक घण्टा पोखरामा बसी काठमाडाैं जानेछ । १०:५० बजे सोही विमानमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको नेतृत्वमा पर्यटन व्यवसायी, उद्योगीलगायत एक सय २६ जना प्रवद्र्धनात्मक उडान गर्दै काठमाडाैं जानेछन् । श्रेष्ठका अनुसार पोखराबाट फुल लोडमा विमानले उडान र अवतरण गर्न नसक्ने भनी फैलिएको हल्ला चिर्न फुललोड प्रवद्र्धनात्मक उडान गर्दै काठमाडौं जान लागेको हो । उनले भने, ‘योसँगै अन्य विमान कम्पनीहरूलाई पोखरामा उडान गर्नका लागि सन्देश दिने उदेश्यसहित टोलीले उडान गर्न लागेको छ ।’
१७ पुसमा ०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि विमानस्थल तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन ।
पोखरामा य अघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो, जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो ।
त्यसपछि २२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए, ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमानले, २२ कात्तिक ०८१ मा चीनको सिचुवान एयरलाइन्सले पोखरामा छैटौँ, १३ मंसिरमा भारतको दिल्ली विमानस्थलबाट निजी विमान जेल एयरले साताैँ चार्टर उडान गरेको थियो । भारतबाट आएको यो पहिलो उडानसमेत हो ।
चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा फोरडी मोडेलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ । जाहा बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका विमान आउजाउ गर्न सक्ने विमानस्थलमा साना र ठुला गरी ११ विमान पार्किङ गर्न सकिन्छ ।