दुर्गम पहाडमा टुकी, दियो र घामको उज्यालोमा पढेर बाँसका सुत्ला र धुलेमाटोमा ढुंगाले कोर्दै ज्ञान हासिल गर्ने चुनौतीपूर्ण प्रक्रिया अहिलेको पुस्ताको कल्पनाबाहिरको विषय हो। मीनराज ज्ञवालीको बाल्यकाल यसरी नै बितेको थियो।
कालान्तरमा ज्ञवालीले दुर्गम क्षेत्रसम्म पुग्ने सडकको सर्वे र डिजाइन गरे । नदीले छुट्टयाएका गाउँहरूलाई जोड्न झोलुंगे पुल बनाउने काममा नेतृत्वदायी भूमिका खेले । मिस्त्री, डकर्मीलगायत हजारौँ मजदुरहरूले ती पूर्वाधार बनाउन पसिना बगाए । आज ती सडक तत्कालीन शासक र नेताहरूका नामले चिनिन्छन् । सडकका मध्यभागमा उनीहरूकै शालिक भेटिन्छन् ।
ज्ञवाली र उनलाई सहयोग गर्नेहरू आफ्ना आत्मसंस्मरण वा डायरीमा बाँचेका छन् । घोस्ट राइटिङले प्रकाशन गरेको ज्ञवालीको आत्मकथा ‘जीवन–संघर्ष’ उनको समय र जीवनको एउटा ऐतिहासिक दस्ताबेज हो, यस आत्मकथालाई अर्जुन ढुंगानाले सम्पादन गरेका छन् ।
हँसराको बाल्यकाल
ज्ञवालीको आत्मकथा पाँच खण्डमा विभाजित छ । बाल्यकाल,सरकारी सेवाको अनुभव, स्वास्थ्य स्थिति, परिवारीक अवस्थालगायतबारे खण्ड–खण्डमा चर्चा गरिएको छ । २७ वर्षमै विधवा हुनुभएकी हजुरआमाले कुशलतापूर्वक परिवार सम्हालेको र उनकै संरक्षणमा आफू हुर्किएको यसमा उल्लेख छ । ‘जीवन संघर्ष हो । संघर्षका लागि आवश्यक तत्वहरू प्रकृतिले नै दिएको हुन्छ । पशुपन्छी, रुख, बिरुवा, हावा, पानी, प्रकाश, जमिन, आकाश आदिको सामिप्यले त्यो प्राप्त हुन्छ । ज्ञवाली लेख्छन्, ‘यही नै परमात्मा हो, जीवन जिउने तत्व हो ।’
संस्कृतको अध्ययनदेखि इन्जिनियरिङसम्मको यात्रा उनले पहिलो खण्डमा वर्णन गरेका छन् । वि.सं. २००० मा उनी गुल्मीको हँसरामा जन्मिए । बुबा आमाको इच्छा चण्डी–रुद्री, कर्मकाण्ड र सम्भव भएसम्म सबै पुराणवाचन गर्न सक्षम बनाउने थियो ।
‘जुहाङबाट हाम्रा पुर्खाहरू हँसरा आउनुभएको रहेछ । जहाँ मेरो जन्म भयो । बडिगाड खोलाको किनारमा रहेको हँसरा निकै रमणीय स्थान छ,’ ज्ञवालीले लेखेका छन् । तत्कालीन समाज सामूहिकतामा बाँचेको थियो । ज्ञवाली परिवारसँग पर्याप्त जमिन थियो । तर, जमिन नहुनेहरूलाई वर्षमा ६ महिना पनि खान पुग्ने अवस्था थिएन । उनीहरू खेतमा श्रम गर्न जान्थेँ । खेत भएकाहरूले उनीहरूलाई त्यसबापत अन्न सहयोग गर्दथेँ।
‘अभाव र दु:खले च्याप्दै गएपछि मगराति र अन्य युवाहरू अवसर र रोजगारीको खोजीमा कोही सैनिकमा भर्ना भए, कोही चौकीदारी गर्न भारत पुगे । भारतको दिल्ली, बम्बई, बैंगलोर, कोलकाता जाने क्रम बढ्न थाल्यो । महिला , बालबालिका तथा अशक्तहरू मात्र गाउँमा हुन थाले । रोजगारीको खोजीमा गाउँ छाड्नेहरू आफ्नो परिवारलाई गाह्रो-साह्रो परेमा रेखदेख गरिदिन अनुरोध गर्दथेँ,’ ज्ञवाली लेख्छन्, ‘हाम्रो परिवारले समस्या परेकाहरूलाई धान, मकै कोदो, आदि दिएर सहयोग गरेको सम्झना छ । कमाउन गएकाहरू घर फर्किएपछि लगेको पैसा तिरिन्दिथेँ।’
ज्ञवालीका बुबा कालान्तरमा गाउँको प्रधानपञ्च पनि भए । बाल्यकालमा श्रीकृष्ण जन्माष्टमी, तिज, दसैँ, तिहार , कात्तिके एकादशी, हरिबोधिनी एकादशी, माघे संक्रान्ति आदि पर्व उल्लासपूर्व मनाएको सम्झना उनले पुस्तकमा समेटेका छन्। जुवाको प्रसंग उत्तिकै रोचक छ । ज्ञवाली लेख्छन्, ‘गाउँमा जुवाको रौनक बेग्लै थियो । एकपटक खुमे साहुले जुवामा धेरै हारेपछि गण्डकीमा हात चोपर जुवा नखेल्ने कसम खाएछन् । तर, अर्को वर्ष पुनः जुवा खेल्न बस्दा अरूले कसम सम्झाएपछि दाँया हात पो चोपेको हो, बायाँ हातले खेल्न मिल्छ भनेर जवाफ दिएछन् । गाउँघरका धेरै मानिस जुवामा बिग्रिएका थिए ।’
आफ्नो बाल्यकालीन शिक्षाबारे उनले लेखेका छन्, ‘धुलेपाटीमा लेखिन्थ्यो। कापी र डटपेन थिएन । बुबाले कर्मी लगाएर झुन्ड्याउन मिल्ने काठको ठुलो पाटी बनाइदिनुभयो । त्यही पाटीमा क देखि ज्ञ सम्म लेख्न थालेँ । खरी नहुँदा रातो धुले माटो लगाएर लेख्ने गरिएको थियो । बुबाले होल्डरजस्तो बाँसको सिन्का ताछेर कलम बनाइदिनुभएको थियो। जडीबुटी पकाएर घरमै मसी तयार गरिन्थ्यो। सामान किन्दा आउने कागज जम्मा गरेर लेख्न अभ्यास गरियो।’
एघार वर्षको उमेरमा संस्कृत शिक्षाका लागि उनी बाबुसँगै दुई दिन पैदल हिँडेर अर्घाखाँचीको खिदिम (तत्कालीन समय गुल्मी र अर्घाखाँची एकै जिल्ला थियो) पुगे। नुन, तेल आदिको जोहो गर्न तीन–चार दिन पैदल हिँड्न जानुपर्ने तत्कालीन समय पाठशाला जान पाउनु आफैँमा एउटा ठुलो अवसर थियो ।
खिदिम ऋषिमुनिहरूको तपोभूमि र आध्यात्मिक ज्ञानको केन्द्र हो । यसलाई संस्कृति व्याकरणका प्रणेता महर्षि पाणिनीको तपोभूमि भनेर चिनिन्छ । ‘यहाँ हरिहर गौतमको एकल लगानी र महापण्डित दधिराम मरासिनीको निर्देशनमा तीनवटा विद्यालयलाई संयोजन गरेर १९९४ देखि एकीकृत विद्यालयको रूपमा पोखराथोकमा हरिहर संस्कृत पाठशाला सञ्चालन भइरहेको थियो । हरिहर गौतमले तत्कालीन समय दुर्गम क्षेत्रमा सर्वसाधारणका छोराछोरीलाई पढाउन यसरी पाठशाला खोल्ने पहल गरेका थिए,’ ज्ञवाली लेख्छन् ।
१३ वर्षको उमेरमा उनको विवाह भयो । एक दिन लगाएर हिँडेर जन्त जाँदाको रमाइलो प्रसंग पनि उनले पुस्तकमा वर्णन गरेका छन् । ‘अरूका सामुन्ने पत्नीसँग बोल्ने चलन थिएन । पाठशालाबाट छुट्टीमा घर आउँदा उनीसँग आँखा जुध्नेसम्म हुन्थ्यो। तर, गाउँले र परिवारको लाजले बोलचाल हुँदैन थियो,’ बालविवाह र तत्कालीन समाजमा महिलाका संघर्ष झल्काउने गरी उनले लेखेका छन्, ‘महिलाको काम धेरै थियो । बिहान तीन–चार बजेदेखि उठेर ढिकीजाँतो, गाईभैँसीलाई पानी खुवाउनुपर्ने, बिहानको खाना बनाउनुपर्ने, खेतबारीमा मल बोकेर पुर्याउनुपर्ने, घाँसपात ल्याउनुपर्ने, बेलुकी खाना तयार गर्नुपर्नेलगायत काम थियो । महिला र छोरी बुहारी यही जीवन जिउन बाध्य थिए।’
हरिहर संस्कृत पठाशालाबाट मध्य कौमुदीसम्म अध्ययन गरेपछि उनी थप अध्ययनका लागि बनारस गए। बनारसको मंगलागौरी, बालाजी मन्दिरको भवनको एउटा तलाको ठुलो हलमा हरिहर गौतमद्वारा स्थापित हरिहर संस्कृत महाविद्यालय थियो। जहाँ छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाइएको थियो। ‘बनारसको दुधको मिठो स्वाद जिब्रोले सधैँ सम्झन्छ। माटाको भाँडामा दुधमलाई र राबटी राख्दा मगमग बास्ना आउँथ्योे, बजारको मिठाई र चाट बिर्सनै नसकिने थियो,’ उनले लेखेका छन्। कहिलेकाहीँ सिनेमा हेर्न जाने अवसर पाउँदाको खुसी उनले यसमा वर्णन गरेका छन्। नेपालीप्रति बनारसमा राखिने सद्भाव, त्यहाँ पसलमा समेत नेपलीमै कुरा गर्न सकिने वातावरण पनि उनले उल्लेख गरेका छन् ।
दुई वर्षमा यहाँ उनले पूर्वमध्यमा उत्तीर्ण गरे। उनी लेख्छन्, ‘बनारसमा नेपाली धर्मशालाहरू राजनीतिक व्यक्तिहरू जम्मा हुने अखडाजस्तै थिए । त्यहाँ नेताहरू, विद्यार्थीहरू भेट हुने र राजनीतिक योजनाहरू बन्नेसमेत गरेको सुनिन्थ्यो। नेपालका राजा, महाराजाले पाटी पौवा बनाएका र वर्षमा एक-दुईपटक आउने जाने, गंगा तटमा अवस्थित बनारसमा साधुसन्त, साधक, पुजारी, संस्कृत र वैदिक ज्ञानका विद्धान तथा अनुयायीहरूको बाक्लो हुन्छ। यसले बनारसको सुन्दरतालाई थप भव्य बनाएको छ।’
१७ वर्षमा ए,बी,सी,डी
मध्यमाको तेस्रो वर्षमा पुग्दा अंग्रेजी सिकेका दाइहरूमार्फत उनले पनि ए,बी, सी, डी लेख्न र पढ्न पाए। तर, हरिहर संस्कृत पाठशालाले संस्कृत पढ्न छात्रवृत्ति दिएकाले अंग्रेजी पढ्न पाइँदैन थियो । उनी अलग्गै डेरा लिएर बस्न थालेका थिए, तर छात्रवृत्तिको रकम लिन पनि छाडेका थिएनन् ।
‘धेरै दिन यसरी संस्कृत महाविद्यालयका गुरुहरूदेखि लुकेर अंग्रेजी पढ्न राम्रो नलागेपछि एकदिन गुरुलाई सत्य कुरा बतायौँ। महाविद्यालयको व्यवस्थापन हेर्ने दामोदर भट्टराई वेद गुरुलाई यो कुरा राख्यौँ। आजसम्म जति खायौँ, खायौँ, अब यहाँको सुविधा र छात्रवृत्ति लिदैनौँ भन्यौँ,’ उनले लेखेका छन्, ‘गुरुले नरमाइलो मान्नुभयो। कम्तीमा मध्यमासम्म पढेको भए हुन्थ्यो, बिचमै छाडेर जाँदा मज्जा भनेर भन्ने आशय व्यक्त गर्नुभयो । हुन त घरबाट पनि संस्कृत पढ्न नै पठाउनुभएको थियो।’ पूर्वमध्यमा उत्तीर्ण गरेकाहरूले प्राइभेटमा म्याट्रिक परीक्षाको फाराम भर्न पाउने युपी बोर्डको नियमअनुसार उनी पनि फाराम भर्न योग्य थिए । गणित र अंग्रेजीको ट्युसन लिन थाले ।
एक वर्ष निकै मेहेनत गरेर अंग्रेजी पढेपछि उनले १८ वर्षको उमेरमा दोस्रो श्रेणीमा म्याट्रिक पास गरे । त्यसपछि भारतमा आदर्श सेवा इन्टरमिडियट कलेजमा आइएस्सी भर्ना भए । त्यहाँ पढ्दा कुनै छात्रवृत्ति पनि थिएन, उनले विद्यार्थी कालको आर्थिक अभाव पनि पुस्तकमा वर्णन गरेका छन् ।
यसपछि उनी काठमाडौं आएर त्रिचन्द्र कलेजमा बिएस्सी भर्ना भए । लेखकका अनुसार त्यसताका नेपालमा इन्जिनियरिङ पढ्ने कलेज नै खुलिसकेको थिएन । पुल्चोक क्याम्पसमा ओभरसियर तहसम्मको मात्रै पढाइ हुने गरेको थियो ।
यसबिच गाउँ फर्कँदा मामाले शिवपुराण लगाउन गरेको आग्रहअनुसार एघार दिनसम्म शिवपुराण भनेर आमा–बुबाको इच्छा पूरा गरिदिए। हरेक अञ्चलबाट दुईजना विद्यार्थीलाई भारतमा छात्रवृत्ति दिएर इन्जिनियरिङ पढ्न पठाउने नेपाल सरकारको योजनामा आवेदन दिएर छनोट भएपछि उनी भारतको रायपुरस्थित रविशंकर विश्वविद्यालयअन्तर्गत कलेज अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सिभिल इन्जिनियरिङमा भर्ना भए।
‘जिन्दगीमा मेहिनत नगरी सुखै छैन। कालिगण्डकीको किनारमा वर्षौसम्म घोटिएका ढुंगा शालिग्राम बन्छन् । मेहेनत गर्न प्रकृतिले पनि प्रेरणा दिन्छ । म रायपुरको कलेजमा घोटिएर पढ्दै थिएँ। अन्ततः यो मेहेनतले जीवनमा फरक रंग ल्याइदियो , इन्जिनियरिङ उत्तीर्ण गरेँ,’ आफ्नो खुसीको वर्णन उनले यसरी गरेका छन् ।
इन्जिनियरको आन्दोलन
राम्रो जागिर पाउने आशा बोकेर २०२७ साल वैशाखमा उनी काठमाडौं आए । तर, यहाँ त धेरै इन्जिनियरहरू बेरोजगार रहेछन् । भारत, रसिया , चेकोस्लोभाकियालगायत देशबाट छात्रवृत्तिमा इन्जिनियरिङ पढेर आए पनि यहाँ फर्केर काम पाएका रहेनछन् ।
जागिर छैन । खाने टुंगो छैन । बस्ने टुंगो छैन । घरबाट पैसा माग्न पनि गाह्रो थियो । अभावमै उनको केही समय बित्यो । एक दिन उनीजस्तै एक सयजना इन्जिनियरले मिलेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिए। यस काममा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले सबैमाझ उनी लोकप्रिय पनि भए ।
सन् १९६२ मै स्थापना भइसकेको नेपाल इन्जिनियर्स एसोसियसनमा सबै साथीहरू सदस्य बने। त्यसपछि संगठित रुपमा आफ्ना कुरा राख्न थाले । दुईपटक प्रधानमन्त्री कहाँ डेलिगेसन गएको र तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले इन्जिनियरका समस्या मनन गरेको पनि उनले उल्लेख गरेका छन्।
इन्जिनियरहरुले रोजगारी नपाएको, बारम्बार सिंहदरबार धाउँदा जुत्ता खिइएकोलगायत घटनाबाट प्रेरित भएर उनले ‘बेरोजगार इन्जिनियर ’ शीर्षकमा एकांकी लेखेर नेपाल इन्जिनियर्स एशोसियशनको वार्षिक साधारणसभामा प्रस्तुत गरेका थिए । ‘यसपछि तत्कालीन मुख्य सचिव क्षेत्रविक्रम राणा, सचिव रञ्जनराज खनाल, भरतबहादुर प्रधानलगायत उच्च पदस्थ व्यक्तिहरुको बैठक बसेर सरकारले इन्जिनियरका लागि विभिन्न विभागमा दरबन्दी सिर्जना गर्ने र दरबन्दी सिर्जना नभएसम्म दैनिक पारिश्रमिकमा काम लगाउने निर्णय गरेको थियो,’ उनले लेखेका छन् ।
देशको भौतिक पूर्वाधार विकासमा यो निर्णय कोशेढुंगा सरह थियो । यसपछि कोही खानेपानीमा, कोही सडक विभागमा , कोही सञ्चाई विभागमा जागिरे भए । ‘केमिकल, टेक्सटाइललगायत इन्जिनियहरुहरुलाई इन्जिनियिरिंग सम्बन्धी काम गर्न कम ब्याजदारमा ऋण उपलब्ध गराइयो । डेढ महिनाको अन्तरालमा प्रायः सबै साथीहरु काममा व्यस्त भए,’ पुस्तकमा लेखिएको छ ।
ज्ञवालीको पहिलो जागिर सिंचाइ विभाग पानीपोखरीमा थियो । कर्णध्वज अधिकारी त्यतिबेला विभागका चिफ इन्जिनियर र देबहादुर रायमाझी डेपुटी चिफ इन्जिनियर थिए । २०–२५ जनाजति इन्जिनियर विभागमा कार्यरत थिए । उनीहरुलाई फिल्डमा पठाइयो । पहिलो काम तौलिहवामा सञ्चालित बाणगंगा सिंचाई योजनामा थियो ।
यहाँबाट फर्किएपछि इन्जिनियरहरुलाई अस्थायी नियुक्ती दिने निर्णय सरकारले लियो । सडक विभागमा उनी नियुक्त भए । सिनामंगलबाट भक्तपुर जाने पुरानो बाटो एयरपोर्ट बिस्तारका क्रममा बन्द थियो । जडिबुटीबाट पेप्सिकोला जाने नयाँ बाटो सर्भे गर्नुपर्ने काममा खटिए । यस काममा उनीसँगै इन्जिनियर साम्राज्यप्राप्त राणा पनि खटिएका थिए ।
विश्व बैंकको सहायतामा चारवटा पुल निर्माण गर्ने अर्को महत्वपूर्ण काममा उनी संलग्न थिए । चारवटामध्ये दुईवटा पुल काठमाडौं (विष्णुमती र सेतो पुल) र दुईवटा तराइमा निर्माण हुँदै थियो । तोकिएको समयमै यी पुलको निर्माण सम्पन्न भएको ज्ञवालीले सगर्व लेखेका छन् । नागार्जुन सडकदेखि जामाचोकसम्म जाने बाटोको सर्वे, दरबार स्क्वायर जिर्णोद्धारलगायत काम उनले यसक्रममा गरे ।
२०३० सालदेखि उनीसरकारी सेवामा स्थायी भए । सुरुमा भवन विभागमा पदस्थापन भएपनि छोटो समयमै फेरि सडक विभागमै सरुवा भयो । २०३१÷३२ सालमा दोलालघाट–चौतारा सडक निर्माण, बनेपा–पनौती सडक, धुलिखेल–नमोबुुद्ध , धुलिखेल सहरी सडक, बनेपा–नाला सडक आदी कार्यक्षेत्र थिए । उनले यी कार्यक्षेत्रका अनुभव पुस्तकमा उल्लेख गरेका छन् । जसमध्ये बाह्रबिसेमा एक बालकलाई जोगाउन खोज्दाजीप दुर्घटना भएको, तर सबै सकुशल रहेको वर्णन पनि छ ।
‘अहिले भ्रस्टाचार बढेको छ ।पञ्चायतकालमा यसको आकार र प्रकार कम थियो । चेक एन्ड ब्यालेन्स थियो । मन्त्रीदेखि सचिवसम्मलाई दरबारको डर थियो । राजाका एडिसीहरुको पनि चेकजाँच हुन्थ्यों,’ उनले लेखेका छन् ।
त्रिभुवन राजपथअन्तर्र्गत थानकोट–नौबिसे सडकको डिजाइन र ड्रइंग, म.रा,मा. सन्धीखर्क सडक योजना आदिमा काम गर्दाको अनुभव पनि उनले पुस्तकमा उतारेका छन् ।
मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा गठित मन्त्रीमण्डलमा गुल्मीका श्रीप्रसाद बुढाथोकी निर्माण तथा यातायतमन्त्री हुँदा ज्ञवालीले केही समय मन्त्रीको निजी सचिवको भूमिकामा रहेर पनि काम गरेका थिए ।
त्यसपछि फेरि सडक विभागमा फर्किएर नुवाकोट सब डिभिजन रानीपौवामा काम गर्दाको अनुभव पनि उनले लेखेका छन् । ‘एकपटक नुवाकोट ककनीको पुलिसचौकी कटेर ओरालो लागेपछि बाटामा रगतले छट्पटाएको घाइते मानिस देखें । उनी घाँस काट्न जाँदा लडेका रहेछन् । उनलाई गाडीमा राखेर वीर अस्पताल ल्याइयो । ड्राइभर र ममात्रै थियौं । तर फर्कदाँ प्रहरीले जान दिएनन् । सडकमा घाइते अवस्थामा मानवीय नाताले ल्याएको स्पष्टीकरण दिएपछि बल्ल फर्कन पाएँ,’ उनले लेखेका छन् ।
स्थानीय चुनावमा मतदान अधिकृत भएर खटिँदा मतदाता सुचीमा नाम नै नभएकाहरुले मत खसाल्न गरेको प्रयत्न, रोक्न खोज्दा मतपेटिका लुट्न गरिएको प्रयत्न र अवस्था असामान्य भएपछि प्रहरी प्रमुखसँग सल्लाह गरेर दुईपटक हवाई फायर गराउनुपरेको अनुभव पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । अन्त्यमा चुनाव स्थगित र एक हप्ताभित्र रानीपौवाको स्कुलमा व्यवस्थित ढंगले मतपेटिका राखेर चुनाव गराइएको प्रसंग पनि यसमा समावेश छ ।
झोलुंगे पुल डिभिजनमा कार्यरत रहदाँको अनुभव पनि कम्ति रोचक छैन । २०४८ सालमा स्विस डेभलपमेन्ट कर्पोरेसन र सरकारले मिलेर सस्पेन्सन ब्रिज डिभिजन परियोजना नेपालमा सञ्चालन गरेको थियो । यो विशाल परियोजनामा उनी प्रमुख बनेर गए । २०४८ सालमा यसमा झन्डै ४० इन्जिनियर, ओभरसियर, र कन्सल्टेन्टहरु आबद्ध थिए । झोलुंगे पुलहरुको मापदण्ड बनाउने, स्ट्यान्डर्ड मेन्टेन गर्ने, स्तर जाँच गराउनेलगायत काम थियो ।
स्विस कम्पनी हेल्भाट्स यस परियोजनामा कन्सल्टेन्ट थियो । ‘मोटरबाटो बन्नुअघि देशभर धेरै मुलबाटाहरु थिए । यस परियोजनाको लक्ष्य भित्री बाटाहरुलाई मुल बाटोसम्म जोड्ने थियो । दुर्गम क्षेत्रमा यस्ता पुल बनाउन धेरै समस्या थियो । सिमेन्ट ढुवानी, बालुवा ढुवानी, लठ्ठा तान्ने र झोलुंगे पुलका उपकरण ढुवानी गर्ने कार्य अति कठिन र जोखिमपूर्ण थियो,’ उनले लेखेका छन्,‘कहिलेकाँही खच्चड र च्यांग्रामार्फत सामान ढुवानी गराउनुपर्ने र कहिलेकाँही हेलिकप्टरको सहारा लिनुपर्ने स्थिती थियो ।’
स्विस भूगर्भविद्, लेखक तथा फोटोग्राफर टोनी हेगनले स्विस सहयोग ल्याउन र नेपाललाई विश्वमा चिनाउन खेलेको भूमिकाको पनि उनले कदर गरेका छन् । ‘सन् १९५० देखि नै हेगनले नेपालका विभिन्न जिल्ला घुमेका थिए । हेगनले १९५२ यता राष्ट्रसंघअन्तर्गत रहेर विभिन्न जिल्लाको भौगोलिक सर्वेक्षण गर्दै नेपाललाई विश्वमा चिनाए । टोनी हेगनको नेपाल भ्रमण र त्यसपश्चात झोलुंगे पुलमा भएको लगानी अनुकरणीय तथा प्रशंसनीय छ,’ ज्ञवालीले लेखेका छन् ।
ज्ञवालीले द्वन्द्वकालमा मध्यपश्चिमाञ्चलका क्षेत्रीय निर्देशकको भूमिकामा खटिदाँको अनुभव, २०६० सालमा सेवा निवृत्त भएलगत्तै अख्तियारमा परेको उजुरी, तीन वर्षसम्म व्यहार्नेुपरेको हन्डर रसफाई , बैंकिङ कसुर सम्बन्धी मुद्दा र सफाई , विभिन्न देशको भ्रमण अनुभव तथा आफ्नो पारिवारीक जीवन, साथीभाई र सहयोगीबारे पनि यस पुस्तकमा उल्लेख गरेका छन् ।
हजुरआमाको संरक्षण र संघर्ष, बुबाको सही मार्गदर्शन, आमाको वात्सल्य माया र पत्नीसँगको सुखद् सहयात्राबारे उनले खण्ड ५ मा लेखेका छन् । त्यस्तै, आफ्नो स्वास्थ्यमा पटक–पटक देखिएका समस्याबारे पनि लेखेका छन् ।
देशको भौतिक पूर्वाधार विकासमा ज्ञवाली पुस्ताका इन्जिनियर तथा श्रमिकहरुको योगदान ठूलो छ । जीवनका आरोह–अवरोहलाई सरल ढंगले सामना गर्नसक्नु ज्ञवालीको विशेषता हो । १९ भदौ २०८१ मा स्ट्रोकको समस्याले ज्ञवालीको निधन भयो । तर‘जीवन संघर्ष’ मार्फत उनी र उनको परिवेश सधैं जीवन्त रहनेछ ।