मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Thursday, 26 December, 2024
२o८१ पौष १० बुधबार २o:२७:oo
Read Time : > 1 मिनेट
अर्थ

१६ पुसदेखि भेडेटारमा फुड फेस्टिभल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार २o:२७:oo

कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १२औँ भेडेटार फुड फेस्टिभल हुने भएको छ। होटेल एसोसिएसन अफ भेडेटारले १६ देखि १८ पुससम्म फेस्टिभल गर्न लागेको हो।

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ। ०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड  फेस्टिभल कोभिड–१९ महामारीका कारण ०७७ सालमा भने सञ्चालन हुन सकेको थिएन।

धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फेस्टिभल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए। पूर्व आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई पूर्वी नेपाल र विशेष गरी भेडेटारमा आकर्षित गर्न फेस्टिभल आयोजना गर्न लागेको आयोजकले जनाएको छ । 

फुड फेस्टिभलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुनेछ । फेस्टिभलमा करिब दुई करोडबराबरको आर्थिक कारोबार तथा ४० देखि ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको होटेल एसोसिएसनका अध्यक्ष लिम्बूले बताए । तीन दिनसम्म हुने फेस्टिभलमा विभिन्न परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका २५ वटा स्टल राखिने आयोजक होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ।

तीन दिन हुने फेस्टिभलमा आगन्तुकका लागि पहिलो दिन पाथीभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई ब्रिज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जेमा बास र खानाको गरी दुई हजार पाँच सय रुपैयाँ प्रतिव्यक्तिको प्याकेज र दोस्रो दिन पनि दुई हजार ५ सय रुपैयाँ प्रतिव्यक्तिको दरले ध्वजे डाँडा सूर्योदय अवलोकन, राजारानी तालको अवलोकन र बस्नको लागि नाम्जे वा डाँडाबजार होमस्टे र खानाको प्याकेज बनाइएको छ।

त्यस्तै, तेस्रो दिन प्रतिव्यक्ति चार हजारका दरले तमोर रिभर र्‍याफ्टिङ, भेडेटार वास र खानाको प्याकेज र प्रतिव्यक्ति आठ हजारका दरले प्याराग्लाइडिङ, भेडेटार वास र खानाको प्याकेज बनाइएको आयोजकले जनाएको छ।