बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिता न्तर्गत आज समूह चरणका दुई खेल हुने भएका हुन् ।
आजको खेलमा नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुलीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आज हुने पहिलो खेलमा बट्टार युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ । खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।
यस्तै, आजै दिउँसो ३ बजेबाट सुरु हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिस्पर्धा हुँदै छ । खेल हेटौँडा– ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
यसअघि प्रतियोगिताअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको थियो ।
प्रदेश लिगमा १३ जिल्लाका ११ टोलीको सहभागिता रहेको छ । दुई जिल्ला रामेछाप र रसुवा भने प्रतियोगितामा सहभागी भएका छैनन् । एन्फामा दर्ता नभएका कारण सो जिल्ला लिगमा सहभागी नभएका हुन् । प्रतियोगितामा जिल्ला फुटबल संघको आयोजना भएको जिल्ला लिगको विजेता मात्र सहभागी हुने व्यवस्था रहेको छ ।
सोहीअनुसार प्रदेश लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनीबेँसी युथ समाज धादिङ, बट्टार युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी छन् । प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः दुई लाख र एक लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।