मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
जेनेप काया
२o८१ पौष ११ बिहीबार ११:२१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अस्तित्वको संकटमा सिरियाली कुर्द

Read Time : > 2 मिनेट
जेनेप काया
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार ११:२१:oo

उदीयमान सिरियाली सत्ताले दमास्कस र कुर्द स्वायत्त क्षेत्रको अग्रणी समूह पिवाइडीबिचको अप्रत्यक्ष सम्झौतालाई कायम राख्ने सम्भावना कम छ

सिरियामा बसर अल–असदको पतनपछि सत्तामा एचटिएस (हयात तहरिर अल–साम) को उदय हुँदा सिरियाली कुर्द गम्भीर संकटमा परेका छन् । सन् २०१२ मा सुरु भएको युद्धदेखि पिवाइडी (डेमोक्रेटिक युनियन पार्टी) सिरियाको सबैभन्दा प्रभावशाली कुर्द राजनीतिक समूहका रूपमा उभिएको थियो, जसले उत्तरी सिरियामा कमजोर भए पनि स्वायत्तता स्थापित गरेको थियो । तर, अहिले पिवाइडीको अवस्था झनै कमजोर भएको छ । टर्कीले कुर्द स्वायत्ततामा कडा आपत्ति जनाइरहेको छ भने एचटिएसको नेतृत्वमा रहेको सत्ताले पनि यो स्वायत्तता स्विकार्ने सम्भावना कम देखिन्छ । 

उत्तरी सिरियामा कुर्द स्वायत्त क्षेत्रको उदय अप्रत्यासित थियो । दमित अल्पसंख्यक भए पनि सिरियाली कुर्दहरू युद्ध सुरु भएपछि छिट्टै एक प्रमुख राजनीतिक र सैन्य शक्ति बनेका थिए । पिवाइडी असद वा विद्रोही समूहसँग हात नजोडी उत्तरी सिरियामा आफ्नो नियन्त्रण सुरक्षित गर्न केन्द्रित भयो । सन् २०१२ मा पिवाइडीले तीन अलग–अलग क्यान्टन (इलाका), अफ्रिन, कोबाने र सिजिरे मिलेर बनेको क्षेत्रलाई स्वायत्त क्षेत्र रोजाभाको नाम दियो ।

यो परिस्थिति टर्कीका लागि स्विकार्न कठिन थियो, किनभने पिवाइडीसँग टर्कीको पृथकतावादी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को सम्बन्ध भएकामा टर्की विश्वस्त थियो/छ । पिकेके एक सशस्त्र समूह हो, जसले दशकौँदेखि टर्कीका सेनासँग लडिरहेको छ र टर्की तथा उसका साझेदारले यसलाई आतंककारी संगठन घोषित गरेका छन् । पिवाइडीले आफूलाई स्वतन्त्र संस्था दाबी गरे पनि यसले पिकेकेका नेता अब्दुल्लाह ओजालानको विचारधारालाई पछ्याउँछ । तर, टर्कीले पिवाइडी र पिकेकेलाई एकै रूपमा हेर्छ र आफ्नो सीमामा पिकेकेसँग सम्बन्धित कुनै पनि कुर्द राजनीतिक एकाइलाई अस्वीकार गर्छ । 

टर्कीका लागि सबैभन्दा ठुलो चुनौती अमेरिकाबाट आयो, किनभने इस्लामिक अतिवादीसँगको संघर्षमा कुर्द समुदायको पिपुल्स डिफेन्स युनिट्स (वाइपिजी) प्रभावकारी रहेको देखेर अमेरिकाले २०१५ देखि इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाइँमा नेतृत्व गर्न वाइपिजीलाई सैन्य समर्थन दिन थाल्यो । यसले कुर्दहरूको स्थितिलाई सुदृढ बनाउन, आफ्नो क्षेत्र विस्तार गर्न, तीन क्यान्टनलाई एकताबद्ध गर्न र क्षेत्रलाई उत्तर एवं पूर्वी सिरियाको स्वायत्त प्रशासनका रूपमा पुनः नामकरण गर्न सक्षम बनायो । 

अमेरिकाको सन् २०१८ को फिर्तीपछि टर्कीले आफ्नो नियन्त्रण पुनः स्थापित गर्ने अवसर देख्यो यद्यपि लगभग दुई हजार अमेरिकी सैनिक कुर्द सेनालाई आइएस कैदीको निगरानी गर्न र आइएसविरुद्धको गतिविधि निगरानीका लागि सघाउन बाँकी थिए । टर्कीले सिरियाली राष्ट्रिय सेनासँग मिलेर उत्तरी सिरियाका केही भागमा आफ्नो सैन्य गतिविधिलाई पूर्ण सैन्य अपरेसनमा रूपान्तरण गर्‍यो । यसले अफ्रिन क्यान्टनको नियन्त्रण लिन र ताल अब्याद एवं रस अल–आइनबिचको लामो सिमाना क्षेत्रलाई अधीनमा पार्‍यो । र, साथै हवाई आक्रमण र निगरानी जारी राख्यो ।

टर्कीको सैन्य हस्तक्षेपले पिवाइडीले संकट व्यहोर्नुपर्‍यो तर समूहले कठिन परिस्थितिमा पनि प्रभावकारी एवं व्यवस्थित प्रशासन कायम राख्यो, जसले तल्लो तहको लोकतन्त्र, लैंगिक समानता र पारिस्थितिकी केन्द्रित दृष्टिकोणमा प्रतिबद्धता जनायो । यस्तो परिस्थिति मध्यपूर्वमा असाधारण विशेषतः अरब वसन्तपछि प्रजातन्त्रको आशा प्रायः दबाइएका छन् । तर, यति भन्दै गर्दा यसलाई आदर्श लोकतन्त्रको नमुनाका रूपमा हेर्नु अलिक अतिशयोक्ति हुन्छ । पिवाइडीलाई राजनीतिक प्रतिद्वन्द्वीप्रतिको व्यवहार र जनतालाई यसको विचारधारासँग मनाउन गरिएका प्रयासका लागि आलोचना गरिएको छ । तर, यो एक नयाँ परियोजना हो, जसले उत्तरी सिरिया र पश्चिमका धेरै समुदायमा आकर्षण सिर्जना गरेको छ र ऐतिहासिक रूपमा दमनमा परेका समूहलाई एउटा भिन्न भविष्यको वचन दिएकोजस्तो देखिन्छ ।

हाल असद शासनको पतनसँगै पिवाइडी थप कमजोर भएको छ । नयाँ उदीयमान सत्ताले दमास्कस र पिवाइडीबिचको अप्रत्यक्ष सम्झौतालाई कायम राख्ने सम्भावना कम छ, जसले कुर्दलाई उत्तरी सिरिया नियन्त्रण गर्न अनुमति दिएको थियो । र, यो अवस्थामा दमास्कसले त्यहाँका जनतालाई सीमित मात्रामा स्रोत, सेवा र तलब उपलब्ध गराउँथ्यो । एचटिएससँग पिवाइडीको शत्रुतापूर्ण सम्बन्ध छ र टर्कीसँग मैत्रीपूर्ण सम्बन्ध छ । यसले टर्कीलाई कुर्द–नियन्त्रित क्षेत्रमा आफ्नो सैन्य हस्तक्षेप बढाउन अधिक स्वतन्त्रता र सहजता प्रदान गर्नेछ । एचटिएसको पछिल्लो पूर्वी सिरियामा प्रवेश र टर्कीको समर्थनमा सिरियाली राष्ट्रिय सेनाले मन्जिबको कब्जा यसको संकेत हो । यद्यपि टर्की आफ्नै कुर्दसँग वार्ता गर्दै छ र संविधानमा परिवर्तन गर्न उनीहरूको समर्थन प्राप्त गर्न सक्छ भन्ने आशा गरेको छ, जसले राष्ट्रपति एर्दोगानलाई अर्को कार्यकालका लागि पदमा रहने वातावरण निर्माण गर्न सक्छ । 

सिरियाली युद्ध परिवर्तन र अनिश्चितताको अवधि भएको छ । युद्ध र सत्ता परिवर्तनले गैरराज्यीय राजनीतिक समूहका लागि अवसर प्रदान गर्न सक्छ, तर यसले ती समूहसम्मुख महत्वपूर्ण जोखिम पनि निम्त्याउँछ । कुर्द इतिहासका यी तमाम उतारचढावसँग परिचित छन्, चाहे त्यो सन् १९२० को दशकमा इराकको छोटो समयको सुलेमानीया प्रशासन हो वा सन् १९४६ मा इरानको महाबाद गणराज्य होस् वा सन् १९९१ देखि इराकको कुर्दिस्तान क्षेत्र वा सन् २०१२ देखि सिरियाको रोजाभा । असदकालपछि कुर्द र सम्पूर्ण सिरियालीका लागि स्थिरता, शान्ति र लोकतन्त्र आउँछ या आउन्न, यो भने हेर्न बाँकी नै छ ।

(काया सेफेल्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धकी लेक्चरर हुन्) 
द गार्डियनबाट