मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Thursday, 26 December, 2024
टेकराज थामी काठमाडाैं
२o८१ पौष ९ मंगलबार o६:१५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भक्तपुर डेराभित्र बाबुछोरा मृत भेटिए, जेठा छोरा बेपत्ता

कोठाबाहिरबाट लगाइएको थियो ताल्चा, हत्या भएको आशंका

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार o६:१५:oo

भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा बाबुछोरा मृत भेटिएको र जेठा छोरा बेपत्ता भएको घटनामा प्रहरीले हत्याको आशंका गरेको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण कोठाभित्रै मृत भेटिएका थिए । कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् ।

घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले मृत भेटिएका दुई बाबुछोराको शरीरमा चोट लागेकोजस्तो देखिएको, कोठाबाहिरबाट ताल्चा मारेको र सँगै बस्ने अर्का छोरा बेपत्ता भएकाले हत्या भएको हुन सक्ने बताए । बेपत्ता रहेका मिलनले नै घटना गराएको हुन सक्ने प्रारम्भिक आशंकातर्फ प्रहरी अनुसन्धान केन्द्रित छ । 

‘बाहिरबाट ताल्चा मारिएको कोठाभित्र बाबुछोरा मृत भेटिएका छन् । उनीहरूको शरीरमा चोट लागेकोजस्तो देखिन्छ । सोही डेरामा सँगै बस्ने मृतक कुलप्रसादका जेठा छोरा मिलन सम्पर्कविहीन छन् । त्यसैले घटनामा उनकै संलग्नता हुन सक्ने हाम्रो अनुमान छ,’ एसपी आचार्यले भने । सोमबार बिहान मात्रै बाहिरिएको घटना शनिबार राति नै भएको हुन सक्ने पनि अनुसन्धानले देखाएको छ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १ का ५६ वर्षीय कुलप्रसाद पाँच दिनअघि छोराहरूको डेरामा आएका थिए । मिलन स्नातकसम्मको पढाइ पूरा गरेर लोकसेवा आयोगको तयारीमा थिए भने प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए । शनिबार बेलुका तीनैजना डेरामा रहेको सोही घरमा बस्ने अन्यले बताएको प्रहरीले जनाएको छ । 

शनिबार बिहानदेखि कोठा बाहिरबाट बन्द थियो । सोमबारसम्म पनि नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुईजनाको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव भान्सामा र बुवाको अर्को कोठामा भेटिएको थियो । किचनको सिलौटामा कपाल र रगतसमेत भेटिएको प्रहरीले जनाएको छ । हत्यामा डम्बबेलको पनि प्रयोग भएको प्रहरी आशंका छ । 

अनुसन्धानमा आबद्ध प्रहरी स्रोतका अनुसार जेठा छोरा मिलन आइतबार बिहान करिब तीन बजेको समयमा स्कुटरमा डेराबाट निस्किएका थिए । उनले नै शव भएको कोठामा ताल्चा लगाएर निस्किएको आशंका गरिएको छ । प्रहरीले उनीमाथि नै केन्द्रित गरी अनुसन्धान अघि बढाएको छ ।