जुम्लामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा फर्किएका छन्। नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी एक भएको घोषणा गरेका हुन्।
एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको जानकारी दिए।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको कुनै औचित्य नरहेको बताउँदै उनले बहुमत सदस्यसहित एमालेमा समाहित भएको बताए।
दुई पार्टी समाहित भएपछि एक ढिक्का भएर अघि बढ्ने एमाले जिल्ला पार्टी अध्यक्ष शान्तिलाल महतले बताए। उनले भने, ‘एकीकृत समाजवादीका नेता कार्यकर्तालाई पार्टीमा सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिन्छ।’
यता नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तीर्थ बुढाले नेकपा एकीकृत समाजवादी पार्टी यथावत रहेको बताए। उनले बहुमत सदस्यसहित सबै एमालेमै फर्केको भन्ने हल्ला मात्रै भएको दाबी गरे। उनले भने, 'हाम्रो जिल्ला कार्य समिति दुई सय एकजनाको हो। एमालेसँग समाहित हुने पार्टीमा कुनै आधिकारिक निर्णय भएको छैन।’
नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको थियो। एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार रतननाथ योगी र प्रदेश (क) मा धीरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार छन्।
कारबाहीको घोषणा
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासन गर्ने घोषणासमेत गरेको छ। पार्टी महासचिव डा बेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरू देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरूले पार्टीविरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।

