जुम्लामा सत्तागठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा राप्रपा प्रवेश गरेको छ । कम्युनिस्ट र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको जुम्लामा ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा भने माओवादीले कांग्रेसको साथ पाएको छ भने एमाले एक्लै भिड्दै छ।
जिल्लामा पार्टीको जनाधार कमजोर रहे पनि ‘व्यक्तिगत जनमत रहेको’ भन्दै राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही माओवादीका गोमा गौतम कुँवर र एमालेका रतननाथ योगीलाई चुनौती दिन पुगेका छन्।
जुम्लाको चुनावी माहोल हेर्दा ४ मंसिरमा यी तीन उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने ठानिएको छ। यहाँ कुँवर, योगी र शाहीसँगै नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि मैदानमा छन्। तर, स्वतन्त्र उम्मेदवार कलबहादुर रोकायाले भने उम्मेदवारी निष्क्रिय गरेर माओवादी केन्द्रका उम्मेदवार कुँवरलाई समर्थन जनाएका छन्। स्वतन्त्र उम्मेदवार रोकाया, कांग्रेस र एकीकृत समाजवादीको पनि साथ पाएकी माओवादी उम्मेदवार कुँवर आफ्नो सहज जिते हुने दाबी गर्छिन्।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट माओवादीका गजेन्द्रबहादुर महतले देवेन्द्रबहादुर शाहीलाई हराएका थिए। महतले २२ हजार एक सय ७३ मत पाउँदा शाही १४ हजार एक सय ४९ मतमा सीमित भएका थिए। त्यतिखेर राप्रपाले उम्मदवारी दिएन।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा छन्। तर, नेताहरू चुनावमा मात्र सम्झने गरेको भन्दै पातारासी गाउँपालिका– ३ हुरीमहरीका चन्द्रबहादुर बुढा असन्तुष्ट छन्। ‘गाउँका गर्भवतीले स्वास्थ्य चौकीमा बच्चा जन्माउन पाउँदैनन्, जुम्लामा गर्भवतीले अकालमै ज्यान गुमाउँदै आएका छन्,’ उनले भने, ‘नेताले जितेर गए पनि डाक्टर पठाउँदैनन्।’
स्थानीय निर्वाचनको अंकगणित
स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा यहाँ कांग्रेस सबैभन्दा ठूलो दल हो। त्यसपछि क्रमशः माओवादी र एमाले रहेका छन्। आठ स्थानीय तह रहेकामा कांग्रेसले पाँच पालिका प्रमुख र तीन उपप्रमुख जितेको थियो। माओवादीले दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख जित्दा समाजवादीले एक उपप्रमुखमा चित्त बुझाएको थियो।
एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार ६ सय ५५, माओवादीको ६ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ। राप्रपाले स्थानीय चुनावमा कुनै वडाध्यक्ष जित्न सकेन। मत पनि पाँच सय ४० मात्र थियो।
प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताको संख्या ६८ हजार ६ सय ३८ जना रहेको छ। जुम्ला कुनै वेला नेपाल मजदुर किसान पार्टीको गढ थियो। तर, अहिले जिल्लामा यस पार्टीको जनाधार छैन। यहाँ ०४८ मा डिल्लीबहादुर महत, ०५१ मा भक्तबहादुर रोकाया र ०५६ मा देवीलाल थापा निर्वाचित भएका थिए, तीनैजना नेमकिपाका हुन्।
०६२-६३ को जनआन्दोलनसँगै यहाँको जनमत फेरिएको हो। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका नरेश भण्डारी विजयी हुँदा ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसका ललितजंग शाही निर्वाचित भए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महत विजयी भएका थिए।
प्रदेशमा गठबन्धनलाई बागीकै डर
प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जुम्लामा (क)मा गठबन्धनबाट कांग्रेसका ललितजंग शाहीविरुद्ध सोही दलबाट देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन्।
ललितजंग ०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए भने देवेन्द्र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतसँग हारेका थिए। कांग्रेसले टिकट नदिएपछि देवेन्द्र प्रदेश सभामा बागी बनेका हुन्। (क)मा एमालेका जिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा पनि चुनावी मैदानमा छन्।
प्रदेश सभा (ख) गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन्। उनी ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेबाट विजयी भएका थिए। रोकाया कर्णाली प्रदेशका भौतिक तथा सहरी विकास पनि मन्त्री हुन् । तर, (ख)मा पनि गठबन्धनले बागी भोग्दै छ। कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन्। राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बृखबहादुर रावत पनि (ख)बाट चुनावी मैदानमा छन्।
के भन्छन् उम्मेदवार ?
गोमा कुँवर, माओवादी उम्मेदवार
कर्णालीको विकटतालाई चिर्न सडक सञ्जाल विस्तार नै मुख्य प्राथमिकतामा राखेकी छु। जुम्लाबाट जाजरकोट, मुगु, डोल्पा र कालिकोट हुँदै बाजुरासम्म गुणस्तरीय सडक सञ्जाल विस्तार गर्ने एजेन्डा रहेको छ। कर्णाली राजमार्ग डेढ दशकसम्म स्तरोन्नति हुन सकेको छैन, यसमा पहल गर्नेछु। महिला सशक्तीकरण, महिलालाई राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा अब्बल बनाउने मेरा एजेन्डा हुन्।
रतननाथ योगी, एमाले उम्मेदवार
आर्थिक समृद्धि र विकासमैत्री नीति निर्माण पहिलो प्राथमिकता हो। विकास निर्माण, सेवा प्रवाह, आर्थिक समृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धि, नागरिकको आयआर्जन वृद्धि चुनावी एजेन्डा हुन्। मेरो प्राथमिकता बहुवर्षीय योजना र बजेटमा रहनेछ। बेरोजगारी अन्त्यका लागि युवालाई कृषिसँग जोड्ने, उत्पादन वृद्धि र बजारीकरणमा सहयोग गर्ने, निःशुल्क स्वास्थ्य शिक्षाको सुनिश्चितता गर्ने, गुरुयोजनाका माध्यमबाट मात्रै जिल्लामा बजेट पठाउने, प्रत्येक जिल्लामा बहुवर्षीय योजना अनिवार्य हुनुपर्ने विभिन्न पक्षको विकासका लागि ठोस नीति निर्माण नै पहिलो प्राथमिकता हो।
ज्ञानबहादुर शाही, राप्रपा उम्मेदवार
जुम्लामा किसानले उत्पादन गर्ने स्याउ, सिमी, धान, ओखरलगायत वस्तु सबै सरकारले किन्ने नीति बनाउने मेरो एजेन्डा हो। बजार र मूल्य नपाएर भौँतारिने कर्णालीका किसानको पीडामा मल्हम लगाउन नीतिकै अभाव छ। जुम्लासहित कर्णालीमा पाइने जडीबुटीको व्यावसायिक खेती गर्ने अधिकार किसानलाई दिने र सहज व्यापार पनि गर्न पाउने नीतिको आवश्यकता खड्किएको छ, जसको पूर्ति जित्नेबित्तिकै गर्छु। स्रोत परिचालनको नीति बनाउन सकेका छैनौँ, जसका कारण सधैँ परनिर्भर भएर बाँच्न बाध्य छौँ। मेरो उम्मेदवारी जुम्लाको विकास र एकपटक जुम्ली नागरिकले पनि राष्ट्रको नेतृत्व गर्न सक्छ भन्ने देखाउनका लागि हो।