शीर्ष नेताको गृहजिल्ला झापामा प्रतिनिधिसभा सदस्यका लागि प्रभावशाली नेताबीच नै प्रतिस्पर्धा हुँदै छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेबिवेट’ उम्मेदवार छन् । एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले स्थायी कमिटी सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल प्रतिस्पर्धा गर्दै छन् । राष्ट्रिय राजनीतिमा प्रभावशाली यी मैदानमा उत्रिएपछि झापा चुनावी ‘हट केक’ बनेको छ । एमाले अध्यक्ष ओलीले तुलनात्मक रूपमा कमजोर र विगतकै प्रतिस्पर्धी पाएका छन् । शर्मा र खरेल तथा सिटौला र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । झापामा शक्तिमा रहेको एमाले र राप्रपाबीच तालमेल छ । सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी छन् । झापाका ५ वटै निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा आएको वडागत मतपरिणामको विश्लेषणसहितको रिपोर्ट :
क्षेत्र नं. १ : जितका लागि शर्माको तेस्रो प्रयास, सामुन्ने खरेल
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट तेस्रोपटक चुनावी मैदानमा होमिएका छन् । शर्मा यसअघि ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए । ०७४ मा उनलाई तत्कालीन वामगठबन्धनका उम्मेदवार माओवादीका राम कार्कीले रोके । यसपटक उनी संसद् छिर्ने तेस्रो प्रयास गर्दै छन् । यसपटक उनले एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिस्पर्धी पाएका छन् ।
०७४ मा शर्माले ३३ हजार तीन सय १० मत प्राप्त गर्दा कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए । ०७० र ०७४ मा एक्लै लडेका शर्मालाई यसपटक माओवादी र एकीकृत समाजवादीको साथ छ । क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकोे ९ र १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६, ७ वडा पर्छन् ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने वडाहरूमा कांग्रेस, माओवादी र समाजवादीका उम्मेदवारले २८ हजार चार सय ६ मत ल्याएका थिए । स्थानीय तह निर्वाचनमा विनागठबन्धन एक्लै चुनावमा सहभागी भएको एमालेको वडाध्यक्षका उम्मेदवारको मत ३१ हजार दुई सय ३२ थियो । यसपटक राप्रपासँग पनि तालमेल छ । स्थानीय तह निर्वाचनमा राप्रपाका वडाध्यक्ष उम्मेदवारले क्षेत्र नम्बर १ मा ५ हजार आठ सय ३० मत पाएका थिए । राप्रपा र एमालेको मत जोड्दा ३७ हजार ६२ हुन्छ ।
क्षेत्र नं. २ : एमाले छाडेका राना र एमाले उम्मेदवार घिमिरेबीच प्रतिस्पर्धा
झापा २ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक छ । मनोनयन दर्ताका अघिल्लो दिनसम्म एउटै पार्टी एमालेमा रहेका देवराज घिमिरे र हरि रानाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा ०७४ मै निर्वाचित भएका राना मनोनयनको दिन बिहान एमाले छाडेर गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका रानाले २३ असोज बिहान एमाले छाडेको उद्घोष गर्दै माओवादीको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराए । एमालेका स्थायी कमिटी सदस्य घिमिरे र एमाले छाडेका रानाबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । अर्जुनधाराको नगरप्रमुख भएर काम गरिसकेका राना एमालेको क्षेत्र नम्बर २ को ‘खम्बा’ मानिन्थे । एमाले छाडेपछि रानालाई एमालेको असन्तुष्ट मत आउने आकलन हुँदै आएको छ ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने यो क्षेत्र वामगठबन्धनले जितेको थियो । ०७४ मा वामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले जितेकी थिइन् । यसपटक उनलाई एमालेले उम्मेदवार बनाएन ।
खरेलले ४५ हजार आठ सय १७ मत ल्याउँदा कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त ल्याएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त वडागत मतपरिणाम हेर्दा पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ । अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोडको १ देखि ९ नम्बरसम्मका वडा र कन्काई नगरपालिकाको ७ र ८ नम्बर गरी जम्मा २५ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार सात सय ८३ मत पाएका थिए ।
एमालेका वडाध्यक्षका उम्मेदवारले भने ३६ हजार एक सय ५८ ल्याएका थिए । यहाँ राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर २ मा पनि एमालेले राप्रपासँग तालमेल गरेको छ ।
क्षेत्र नं. ३ : लिङ्देन–सिटौला आमनेसामने
झापा ३ मा ०७४ मा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन विजयी भए । प्रतिनिधिसभामा विजयी भएसँगै लिङ्देनले राप्रपाको अध्यक्षका लागि आधार तय गरे । उनी राप्रपा अध्यक्षमा पनि बने । ०७४ मा सिटौलाले ३१ हजार एक सय ७१ मत ल्याउँदा लिङ्देन ४४ हजार ६ सय १४ मत ल्याएर विजयी भएका थिए । त्यो समयमा राप्रपाका लिङ्देनलाई एमाले–माओवादी वामगठबन्धनको सहयोग थियो । यसपटक पनि यी दुई पुराना प्रतिस्पर्धीबीच चुनावी भिडन्त हुँदै छ । यद्यपि, अवस्था विगतको जस्तो छैन । यसपटक लिङ्देनलाई एमालेको साथ रहे पनि सिटौलालाई माओवादी र समाजवादीको साथ छ । सिटौला लिङ्देनसँग बदला लिने दाउमा छन् ।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारलाई आएको मतपरिणामअनुसार सत्तारूढ गठबन्धनका वडाध्यक्षले ३३ हजार ६ सय नौ मत पाएका थिए । यो क्षेत्रमा राप्रपाका वडाध्यक्षहरूका उम्मेदवारले २१ हजार एक सय ५९ मत पाएका थिए । एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार एक सय १३ मत प्राप्त गरेका थिए । राप्रपालाई एमालेको साथ रहे पनि एमालेभित्र असन्तुष्टि छ । एमालेका डम्बर गिरीले लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिएका छन् । गत वैशाखमा हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनसँग पराजित भएका गिरीले बागी उम्मेदवारी हालेका छन् । एमालेभित्र प्रभाव राख्न सक्ने गिरीले एमालेको मत काट्ने आकलन छ ।
क्षेत्र नं. ४ : एमालेका एलपी साँवा र कांग्रेसका देउमान थेबे पुरानै प्रतिस्पर्धी
झापा ४ मा पुरानै प्रतिस्पर्धी एमालेका एलपी साँवा र कांग्रेसका जिल्ला सभापति देउमान थेबेबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । ०७४ मा पनि उनीहरू दुईबीच प्रतिस्पर्धा भएको थियो । त्यो समयमा साँवा विजयी भएका थिए । साँवाले ४३ हजार पाँच सय १५ मत ल्याउँदा थेबेले २६ हजार आठ सय २२ मत ल्याएका थिए ।
यसपटक पनि यी दुईबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, कन्काई नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ नम्बर वडा, गौरादहको वडा नम्बर ९ र गौरीगन्जको वडा नम्बर १ र २ पर्छ । गत स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार निकै प्रतिस्पर्धा हुने देखिन्छ ।
त्यसवेलामा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार दुई सय ७३ मत पाएका थिए । कांग्रेस–माओवादीसहितको गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले ३२ हजार आठ सय ९२ मत ल्याएका थिए ।
यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले चार हजार पाँच सय ५६ मत पाएका थिए । यहाँ एमाले–राप्रपाबीचको तालमेल छ । यद्यपि, राप्रपाकी खुश्बु ओलीले एमालेका साँवाविरुद्ध बागी उम्मेदवारी दिएपछि राप्रपाको मत काटिने सम्भावना छ ।
क्षेत्र नं. ५ : एमाले अध्यक्ष ओलीसँग पुरानै प्रतिस्पर्धी
एमाले अध्यक्ष केपी ओलीले झापा ५ मा ०७४ कै प्रतिस्पर्धी पाएका छन् । सत्तागठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । ओली र अधिकारीले ०७४ मा यही क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । त्यसवेला ओली माओवादीसहितको गठबन्धनबाट थिए भने अधिकारी कांग्रेसबाट थिए । यसपटक भने अधिकारी कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनको उम्मेदवार बनेका छन् ।
०७४ मा वामगठबन्धनका तर्फबाट उम्मेदवार बन्दै ओलीले ५७ हजार एक सय ३९ मत पाएका थिए भने अधिकारीले २८ हजार दुई सय ९७ मत पाएका थिए । यसपटक राजनीतिक समीकरण केही फरक छ । एमाले फुटेर एकीकृत समाजवादी बनेको छ । समाजवादी पनि अहिले सत्तागठबन्धनमा छ । माओवादी पनि कांग्रेससहितको गठबन्धनमा छ ।
यो क्षेत्रमा ओलीका प्रतिस्पर्धी परिवर्तन हुँदै आएका छन् । ०४८ देखि ओली भने यही क्षेत्रमा निरन्तर निर्वाचन लड्नै आएका छन् । ०४८ देखि ०५६ सम्म यो क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ६ मा थियो । ०६४ र ०७४ मा यो क्षेत्र झापा क्षेत्र नम्बर ७ भयो । ०७४ यता भने यो क्षेत्र झापा क्षेत्र नम्बर ५ भएको छ । ०४८ यता ओलीले ०६४ मा मात्र यहाँ पराजित भएका छन् । ओलीलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन (हाल कांग्रेस)ले पराजित गरेका थिए ।
झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र गौरीगन्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यी चार पालिका प्रमुखमा एमालेले एउटामा मात्र जित निकालेको छ । एउटामा राप्रपा र दुईवटामा कांग्रेसले जित निकालेको छ ।
तर, वडाध्यक्षका उम्मेदवारको मत हेर्दा एमाले अगाडि छ । एमालेको वडाध्यक्ष उम्मेदवारले ४१ हजार ६ सय १९ मत पाएका छन् । सत्तागठबन्धन कांग्रेस, माओवादी र समाजवादीका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ६ सय ६९ मत पाएका छन् ।
यो निर्वाचन क्षेत्रको निर्णयक मानिएको राप्रपाका वडाध्यक्षका उम्मेदवारले आठ हजार तीन सय ५३ मत ल्याएका थिए । यो क्षेत्रमा राप्रपाका तर्फबाट दमकमा निर्वाचित मेयर तथा राप्रपा प्रदेश अध्यक्ष राम थापा निर्णायक मानिन्छन् ।