सधैँ पदमा रहन सकिँदैन

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)बाट पूर्वकप्तानसमेत रहेका सौरव गांगुलीलाई हटाउने लगभग तय भएको छ । यसपछि कोलकाताको एक कार्यक्रममा गांगुलीले खेलाडी सधैँ खेल्न नसक्ने र एक पदाधिकारी सधैँ एउटा पदमा बस्न नसक्ने बताएका हुन् । आफ्नो भविष्यका बारेमा बोल्दै उनले संकेत गरेका छन्, ‘ऊ केही राम्रो गर्न चाहन्छ र त्यसैगरी अगाडि बढेको छ । केही राम्रो गर्न चाहेको छ,’ ५० सालका गांगुलीले भनेका छन्, ‘म पाँच वर्ष बंगाल क्रिकेटको अध्यक्ष रहेँ । 

विगत केही वर्षदेखि बिसिसिआईको अध्यक्ष छु । एक प्रशासकका रूपमा सफल बनाउने निकै योगदान गरेको छु । एक खेलाडीको नाताले समेत मैले यो सोच राखेको थिएँ । एक प्रशासकका रूपमा आफ्नो समयमा आनन्द महसुस गरेँ । तपाईं सधैँ टोलीमा खेल्न सक्नुहुन्न । त्यस्तै, प्रशासनमा समेत रहन सकिँदैन ।’ 

पछिल्लो तीन दिनदेखि गांगुली यस पदबाट हट्ने अवस्थामा छन् । उनले अध्यक्ष पदका लागि नामसमेत दिएका छैनन् । उनी बाहिर भएसँगै सन् १९८३ विश्व च्याम्पियन टोलीका सदस्य रोजर बिन्नी बिसिसिआईको अध्यक्ष बन्ने लगभग तय भएको छ । गांगुली यही पदमा रहन चाहन्थे । तर, ११ अक्टोबरमा मुम्बईमा भएको बैठकमा सदस्यहरूले समर्थन नगरेपछि गांगुली पछि हटेका हुन् । यद्यपि, गांगुलीलाई आइपिएलको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ ।

यस्तै, गांगुलीले आइसिसी अध्यक्ष पदमा दाबेदारी दिने मानिएको छ । वर्तमान अध्यक्ष ग्रेगर बार्कलेको कार्यकाल यही नोभेम्बरमा सकिँदै छ । बार्कलेलाई समेत समर्थन कम रहेकाले उनी अध्यक्षमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा गांगुलीलाई आइसिसीको भावी अध्यक्षका रूपमा हेरिएको छ ।  

यी पदाधिकारी निर्विरोध चुनिए
गांगुलीको कार्यकाल समाप्त भएसँगै बिसिसिआईको नयाँ अध्यक्षमा रोजर बिन्नी आउने लगभग पक्का छ । यस्तै, उपाध्यक्षमा राजीव शुक्ला, सचिवमा जय शाह, देवजित सैकिया र कोषाध्यक्षमा आशिष सेलार निर्विरोध हुने भारतीय सञ्चारमाध्यमले बताएका छन् । यस्तै, आइपिएल अध्यक्षमा अरुणसिंह धुमल निर्विरोध चयन हुने बताइएको छ । 

सुझावित समाचार