उम्मेदवारी दर्तापछि लमजुङमा चुनावी माहाेल बढ्यो

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि लमजुङमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । एक  प्रतिनिधिसभा र  दुई प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न  थालेको हाे । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ ।

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको लमजुङमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादीका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको उम्मेदवारीलाई चासोको रूपमा हेरिएको छ ।  

निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् ।  कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई ‘हेबीवेट’ नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् ।

पृथ्वीसुब्बा गुरुङ

०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ (ख) बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने सौभाग्य पाएका पृथ्वीसुब्बा गुरुङले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश (ख) बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनको सपना थियो । प्रदेश सभा (ख) उनको आफ्नै क्षेत्र हो, क्व्होंलासोंथार उनको गृह गाउँपालिका हो, जहाँ उनको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिनस्विप पारेको छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनको प्रभाव क्षेत्र हुन् ।

पृथ्वीसुब्बा गुरुङको यो सातौँ निर्वाचन हो । ०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । ०४८, ०५१, ०५६ को निर्वाचनमा पराजय भोगेका उनले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जिते । ०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका वेला उनलाई चुनाव जित्न पनि सहज भयो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ को प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट लमजुङ (ख) बाट चुनाव जितेर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।

देव गुरुङ

देव गुरुङले मनाङ र कास्की- १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजेका छन् । ०७४ को निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिवेला एमाले-माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलो मनाङ भएर पनि उनले कर्मथलोको रूपमा लमजुङलाई रोजेका छन् ।  

देव गुरुङ यसपटक समेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारको रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । ०७४ को चुनावमा वामगठबन्धनको साझा उम्मेदवारको रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए ।

प्रदेश सभा

जिल्लामा प्रदेश सभातर्फ गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेल चुनावी मैदानमा छन् । एमालेबाट प्रदेश सभा (क) मा संविधानसभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख)मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी चुनावी मैदानमा छन् ।

जिल्लामा सत्तगठबन्धन र एमालेबाहेक जसपा, राप्रपा, नेमकिपा, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस बिपी, मंगाेल नेसनल र स्वतन्त्रले उम्मेदवारी दिए पनि मुख्य गरी गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

आठवटा स्थानीय तह रहेको लमजुङमा वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ । तीन नगरपालिका र एक गाउँपालिका सत्तागठबन्धनले जितेको छ । 

एक लाख ३३ हजार पाँच सय ५९ मतदाता

लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् । 

प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् । त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए ।

See More On

सुझावित समाचार