भारतमा मिथ्या सूचनाविरुद्धको लडाइँ

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

मोहम्मद जुबैर र प्रतीक सिन्हा दुवै सञ्चार व्यवसाय गर्ने खालका मान्छे थिएनन् । दुवैसँग पत्रकारिताको अनुभव पनि थिएन, तर नरेन्द्र मोदी देशको प्रधानमन्त्री बनेपछि भारतमा मिथ्या सूचनाको प्रवाह बढ्दै जाँदा दुवै चिन्तित थिए । अन्ततः मिथ्या सूचनासम्बन्धी मुद्दाको सम्बोधन गर्न सन् २०१७ मा यी दुई इन्जिनियरले अल्ट न्युजको स्थापना गरे । त्यसयता अल्ट न्युज साइट भारतको मुख्य तथ्य जाँचकर्ता बनेको छ । साइटले मूलधारका सञ्चारमाध्यमा समेत समचार बन्न पुग्ने बालबालिका अपहरण गर्ने गिरोहदेखि मुसलमानले कोभिड फैलाउँदै छन् भन्नेसम्मका अफवाहको पर्दाफास गर्छ । साम्प्रदायिक तनावलाई भड्काउने र कहिलेकाहीँ हिंसा नै निम्त्याउने विद्वेषपूर्ण भाषणको प्रतिवाद पनि यो साइटको कामको एक हिस्सा बनेको छ ।

संस्थापकद्वय जुबैर र सिन्हाको नेतृत्वमा स्थापित अल्ट न्युजले अल्पसंख्यकलाई तारो बनाएर गरिने बयानका लागि मोदीको नेतृत्वको भारतीय जनता पार्टीका समर्थक एवं अधिकारीको आलोचना गर्ने गरेको छ । तर, जुबैर आफैँ नै सरकारको निसाना बन्न पुगे, जसले भारतमा मिडियाको स्वावलम्बन र स्वतन्त्रताको चिन्ताजनक स्थितिलाई प्रतिबिम्बित ग¥यो । बेनामी उजुरीकर्ता र भारतीय जनता पार्टी (भाजपा) अधिकारीले उनलाई धार्मिक भावनामा चोट पु¥याएको भन्दै उजुरी गरेपछि उनलाई पक्राउ गरी साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा छानबिन गरिएको थियो । 

‘सत्ताधारीहरू उसका प्रोपगान्डा, झुट र घृणाको पर्दाफास गरेका कारण मलाई चुप लगाउन चाहन्छन्’, ४० वर्षीय जुबैरले एक अन्तर्वार्तामा भन्छन्, ‘मलाई तारो बनाएर उनीहरू अन्य पत्रकार एवं सामाजिक अभियन्तालाई भयभीत गराउने अपेक्षा राख्छन् ।’ मुसलमान धार्मिक पहिचान भएका जुबैर मिथ्या सूचना र भड्काउ अभिव्यक्ति फैलाएको भन्ने उनीमाथिको आरोपका सम्बन्धमा आफूले भड्काउ सामग्री र मिथ्या सूचना नफैलाएको बरु तिनलाई इंगित गरेर आवश्यक कारबाहीका लागि आधिकारिक निकायको ध्यानाकर्षण गर्न खोजेको बताउँछन् ।

ट्विटरमा ‘ह्यासट्याग अरेस्ट जुबैर’ ट्रेन्ड हुन थालेपछि उनी आफ्ना परिवारजनलाई लिएर चिन्तित भए । उनले केही समयका लागि आफ्ना छोराछोरीलाई घरबाट बाहिर जानबाट समेत रोकेका थिए । सन् २०१४ मा मोदी सत्तामा पुगेदेखि भारतीय मिडियाको माहोल बदलिन थाल्यो । उनको पार्टीले जनमतलाई प्रभाव पार्न सकिने भएकाले फेसबुक र ह्वाट्सएपजस्ता इन्टरनेट प्लाटफर्ममा लाखौँ डलर लगानी गरेको थियो । आलोचकका अनुसार परम्परागत मिडियामा जस्तो झमेला नहुने र इन्टरनेटका लाखौँ नवप्रयोगकर्तालाई संलग्न गराउन सकिएकाले भाजपाले इन्टरनेट प्लाटफर्ममा ठूलो स्तरको लगानी गरेको थियो । यसलाई पछि अन्य राजनीतिक दलले पनि प्रयोग गर्न प्रयास गरे ।

भारतको पश्चिमी राज्य गुजरातको अहमदाबादमा तत्कालीन सफ्टवेयर इन्जिनियर प्रतीक सिन्हाले मिथ्या तस्बिरको तथ्यजाँच गर्न थालेका थिए । उनले त्यतिवेलै प्रोपगान्डा एवं मिथ्या सूचनाको निर्माण भइरहेको भेउ पाइसकेका थिए । मोदी र उनका समर्थकको विरोध गर्ने उनी आफ्नो परिवारको पहिलो सदस्य थिएनन् । उनका आमाबाबुले मोदीलाई उनी सन् २००२ मा गुजरात राज्यका मुख्यमन्त्री हँुदै मुसलमानको कत्लेआम रोक्न असफल भएकोमा आलोचना गरेका थिए । त्यही वेला बैंगलोर बस्ने किसान पृष्ठभूमिका इन्जिनियर जुबैर भारतीयमाझ मिथ्या सूचना बढ्दो रूपमा फैलिँदै गएको देखेर विस्मित थिए । यो समस्यासँग जुध्न उनले सुरुमा व्यंग्यको सहारा लिएका थिए, जहाँ उनी सत्तारुढ दलका सदस्यमाथि कटाक्ष गर्थे । उनको चर्चा बढ्दै गयो र प्रतीक सिन्हासँग भेट हुन पुग्यो ।

त्यसपछि दुवै मिलेर प्रतीककै घरमा एउटा कार्यालय स्थापना गरे र मिडिया पृष्ठभूमि एवं भिडियो उत्पादनको सीप भएका तथ्य जाँचलगायत एक दर्जनभन्दा बढी कर्मचारी थपिए । कुनै दलीय वा पन्थीय पूर्वाग्रहविना अंग्रेजी र हिन्दीमा सामग्री पस्किने अल्ट न्युजलाई हालसम्म आठ करोड मानिसले हेरिसकेका छन् । पहिले गैरनाफामुखी संस्था सञ्चालन गरेकी प्रतीककी आमा निर्झरी सिन्हासमेत अल्ट न्युजमा जोडिन पुगेकी छिन् ।  

अल्ट न्युजकी सदस्य किन्जल परमार भिडले एक व्यक्तिलाई निर्ममतापूर्वक कुटेको भिडियोको हरेक फ्रेम नियालिरहेकी थिइन् । उनी तुरुन्तै सो भिडियो मुसलमान युवाको लिन्चिङ नभई सामान्य झगडा भएको निष्कर्षमा पुगिन् । उनले त्यसलाई समाचार बनाई पोस्ट गरिन्, अब यसले साम्प्रदायिक तनाव रोक्न सहयोग गर्नेछ ।

मासिक पत्रिका क्याराभानका सम्पादक अनन्त नाथ अल्ट न्युज साइटले ‘तथ्य जाँचमा निरन्तर र व्यापक आवाज बुलन्द गर्दै मिथ्या समाचारको पर्दाफास’ गरेको मान्छन् । अल्ट न्युजले ‘सार्वजनिक विश्वसनीयता विकास गर्दै छ, जुन महत्वपूर्ण काम हो,’ नाथ थप्छन् ।इन्टरनेटमा फैलिरहेको मिथ्या सूचनाविरुद्ध लडिरहेका थोरै वेबसाइटमध्ये अल्ट न्युज एक हो । तथ्य–जाँच गर्ने अर्काे भारतीय वेबसाइट बुमका मुख्य सम्पादक जेन्सी ज्याकबले ‘मूलधारका मिडिया यी झुटलाई खण्डन गर्न असफल भएको’ दाबी गर्छन् । ‘दुराशयपूर्ण सूचनाले भारतमा समाजका सबैभन्दा जोखिममा रहेका वर्गमाझ घृणाको बिउ छर्छ,’ उनी भन्छन् ।

तथ्य जाँच गर्ने काम दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । सरकारी तथ्यांक नै पल्टाउने हो भने पनि समाजिक सञ्जालको मिथ्या सूचना रोक्ने प्रयासका बाबजुद भारतमा ‘मिथ्या समाचार’ र ‘अफवाह’ सन् २०१९ देखि २०२०सम्ममा करिब तीन गुणाले बढेको छ । ४० वर्षीय प्रतीक धेरै मिथ्या सामग्री कहाँबाट आयो भनेर पत्ता लगाउन गाह्रो भए पनि ती सबै मिथ्या सूचना राजनीतिक दलले आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरेको दाबी गर्छन् । प्रतीक यसमा सबैभन्दा बढी फाइदा भाजपालाई भएको स्विकार्छन् । 

यो वर्षको सुरुमा जुबैरले भाजपा नेताले गरेको दुराशयपूर्ण टिप्पणीलाई उजागर गरेका थिए । त्यो टिप्पणीलाई धेरै मुसलमानले पैगम्बर मुहम्मदको अपमानको रूपमा माने । मुसलमान राष्ट्रहरूले मोदीलाई कूटनीतिक अप्ठ्यारोमा पारेर माफीको माग गर्नेसम्मको स्थिति बन्यो । जुबैरले मुसलमानको हत्याको आह्वान गर्ने उग्रवादी हिन्दूलाई पनि सार्वजनिक जवाफदेहीको कठघरामा उभ्याए । 

भाजपाका प्रवक्ता टम वडक्कनले पार्टीले मिथ्या समाचारबाट लाभ लिएको दाबीलाई खण्डन गरे, बरु यही आरोप अल्ट न्युजतर्फ तेस्र्याए । जवाफमा अल्ट न्युजका संस्थापकहरूले आफूले मिथ्या दाबी खण्डन गरेर सार्वजनिक हितका लागि काम गरिरहेको दाबी गरेका छन् । केही आलोचक अल्ट न्युजका कर्मचारी पत्रकार होइनन् समेत भन्छन् ।

हाल १४ जना कर्मचारीमध्ये चारजनाले मात्रै औपचारिक रूपमा पत्रकारिता पढेका छन् । यी आलोचक आफ्नो दाबीलाई पुष्टि गर्न जुबैरका कहिलेकाहीँका व्यक्तिगत राय र उनका केही सख्त आलोचनात्मक ट्विट औँल्याउँछन् । यही वर्ष जुबैरलाई एक अज्ञात ट्विटर प्रयोगकर्ताले सन् २०१८को एक ट्विट उद्धृत गर्दै हिन्दू देवताको अपमान गरेको र धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाएपछि प्रहरीले उनलाई हिरासतमा लियो र अन्ततः जमानत दिइयो । तर, त्यतिन्जेलसम्म उनलाई एक अदालतदेखि अर्काे अदालत घिसारियो र कैयौँ मुद्दाका चाङसहित मिडिया ट्रायलमा लतारियो । उनी अहिले पनि अनुसन्धानकै दायरामा छन् ।  

प्राब्दा मिडिया फाउन्डेसन नामक गैर(नाफामुखी कम्पनीका संस्थापकले सञ्चालन गरेको अल्ट न्युजलाई अप्ठ्यारोमा पर्दा समर्थकले जोगाइदिएका छन् । न्युज साइटमा आउने सहयोग रकम स्थिर छ । अर्थात् अल्ट न्युजले प्रतिव्यक्ति औसत १२ डलर प्रतिमहिनाको सहयोग पाई नै रहेको छ । नयाँदिल्ली टेलिभिजन अर्थात् एनडिटिभी भनेर चिनिने स्वतन्त्र च्यानलको सेयरको एक ठूलो हिस्सालाई मोदीका निकटस्थ एवं एसियाकै धनी गौतम अडानीले जबर्जस्ती हत्याएपछि भारतीय मिडियामा नियन्त्रणको नयाँ आयाम थपिएको छ ।

अडानीले समाचार च्यानलको बहुमत सेयर हिस्सा ओगटे भने सम्पादकीय विचारमा सम्झौता हुने भन्दै धेरै व्यक्ति चिन्तित छन् । जुबैरविरुद्ध कानुनी कारबाही चलिरहे पनि अल्ट न्युजले मोटामोटी रूपमा राम्रै व्यावसायिक सफलता हासिल गरिरहेको छ । कम्पनीले कोलकातामा ब्युरो बनाएको छ र अहमदाबादमा अफिस खरिद गरेको छ । मिथ्या सूचनाबारे पुस्तक पनि प्रकाशन गर्दै छ । 

हालैमा जुबैर, सिन्हा र बाँकी टोली सदस्यलाई अहमदाबाद भेट्दा उनीहरू जोखिम मोलेरै भए पनि कस्तो समाचार र जानकारी पछ्याउने भनेर छलफल गर्दै थिए । समाचारका लागि उनीहरू ह्वाट्सएप ग्रुप छुट्याइरहेका थिए । अल्ट न्युजको आर्थिक मामिला हेर्न लेखापालसँग निर्झरी सिन्हा सहकार्य गरिरहेकी थिइन् । अर्की सदस्य किञ्जल परमार भिडले एक व्यक्तिलाई निर्ममतापूर्वक कुटेको भिडियोको हरेक फ्रेम नियालिरहेकी थिइन् । नियालिसकेपछि उनले तुरुन्तै सो भिडियो मुसलमान युवाको लिञ्चिङ (भिडले गर्ने कुटपिट) नभई सामान्य झगडा भएको निष्कर्षमा पुगिन् । त्यसपछि उनले त्यसलाई समचार बनाई पोस्ट गरिन्, जसले साम्प्रदायिक तनाव रोक्न सहयोग गर्नेछ । तथ्य जाँच्नका लागि विशेष सीपको आवश्यकता नपर्ने केवल के गडबड भइरहेको छ भन्ने सामान्य सुझबुझ मात्रै भए पुग्ने परमार बताउँछिन् । ‘हाम्रो काम प्रत्येक नागरिकलाई सूचनाको अधिकारको प्रत्याभूति गराउनु हो र मिथ्या सूचनाको तीव्र फैलावटको युगमा भारतजस्तो लोकतन्त्रमा यसको थप महत्व हुन्छ,’ परमार भन्छिन् ।
–न्युयोर्क टाइम्स

सुझावित समाचार