हसिनाको गृहजिल्लामा अबामी लिगका कार्यकर्ताको हिंस्रक प्रदर्शन

मंगलबार, १ मंसिर, २०८३
प्रिन्ट संस्करण

ढाका/ डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि बढेको राजनीतिक तनावबिच बंगलादेशकी अपदस्थ प्रधानमन्त्री सेख हसिनाको ‘आबामी लिग’ पार्टीका समर्थकले उनको गृहजिल्ला गोपालगन्जमा हिंस्रक प्रदर्शन गरेका छन् ।  

प्रदर्शनकारीले प्रहरीका सवारी साधन र संरचनामा आक्रमण गरेका छन् । अगस्ट २०२४ मा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण आफ्नो सरकार ढलेपछि बंगलादेश छाडेर भारतमा बस्दै आएकी हसिनाको प्रस्तावित फिर्तीलाई लिएर देशमा पुनः तनाव चुलिएको छ ।

आन्दोलनकारीमाथि दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै बंगलादेशको ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण’ले नोभेम्बर २०२५ मा सेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनले आफूमाथि लगाइएका आरोप र उक्त न्यायिक प्रक्रियालाई अस्वीकार गरेकी छिन् । ७९ वर्षीया हसिनाले डिसेम्बरमा बंगलादेश फर्किएर कानुनी प्रक्रियाको सामना गर्न चाहेको बारम्बार बताउँदै आएकी छिन्  ।

बंगलादेश सरकारले द्विपक्षीय सन्धिअन्तर्गत भारतबाट उनलाई सुपुर्दगी गराउन पहल गरिरहेको छ । साथै, हसिनाको तर्फबाट लन्डनस्थित एक कानुन व्यवसायी संस्थाले उनको फिर्तीका लागि राहदानी उपलब्ध गराउन गरेको अनुरोधलाई पनि बंगलादेश सरकारले अस्वीकार गरेको छ ।

कानुनमन्त्री मोहम्मद असदुज्जमानले बताएअनुसार बंगलादेशले हसिनाको फिर्ती सुनिश्चित गर्न आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको छ । अब यससम्बन्धी निर्णय भारतको हातमा छ । भारतले बंगलादेशबाट सुपुर्दगीका लागि अनुरोध प्राप्त भएको कुरा स्वीकार गरेको छ, तर यससम्बन्धी कुनै निर्णय भने सार्वजनिक गरेको छैन । 

सुझावित समाचार