- विश्वका तीन शक्तिशाली राष्ट्रका नेताको ऐतिहासिक जमघट भए पनि यो शिखर सम्मेलनबाट तत्काल कुनै कूटनीतिक सफलता वा निकास भने देखिएन
बेइजिङ/ अमेरिका, रुस र चीनका राष्ट्राध्यक्षबिच बिहीबार चीनमा सम्पन्न अभूतपूर्व त्रिपक्षीय शिखर सम्मेलन एक संयुक्त लिखित घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको बहुप्रतीक्षित तथा अभूतपूर्व त्रिपक्षीय बैठक ‘शान्ति घोषणा’ गर्दै टुंगिएको हो ।
बैठकपछि जारी घोषणापत्रमा संयुक्त राष्ट्र संघको सुधार, इन्धन आपूर्ति सुचारु गर्नेदेखि आणविक जोखिम न्यूनीकरण गर्ने विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । तथापि, धेरैले अपेक्षा गरेजस्तो बैठकमा युक्रेनसँग सम्बन्धित द्वन्द्वका साथै इरान युद्धका विषयमा भने कुनै ठोस प्रगति वा निकासको घोषणा गरिएन ।
विश्वका तीन शक्तिशाली राष्ट्रका नेताको ऐतिहासिक जमघट भए पनि यो शिखर सम्मेलनबाट तत्काल कुनै कूटनीतिक सफलता वा निकास निस्किएको देखिएन । अमेरिकी राष्ट्रपति ट्रम्प सम्मेलन स्थलबाट सीधै विमानस्थलतर्फ प्रस्थान गरेका थिए ।
क्रेमलिनद्वारा जारी गरिएको एक भिडियोमा शिखर सम्मेलनपछि सी जिनपिङले पुटिनलाई गाडीसम्म पुर्याउँदै गर्दा पुटिनले ‘बैठक आयोजना गर्नुभएकोमा धन्यवाद । सबै कुरा यति राम्रोसँग अघि बढ्ला भनेर कसैले सोचेको पनि थिएन’ भनेको सुनिन्छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम र रुसी अधिकारीका अनुसार सम्मेलनपछि ‘त्रिपक्षीय शान्ति घोषणा’ नामक एक संयुक्त वक्तव्य जारी गरिएको छ ।
यसमा सी, पुटिन र ट्रम्पले आफूहरू रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । तथापि, घोषणापत्रमा युक्रेन, इरान, उत्तर कोरिया वा विश्वका महत्वपूर्ण मुद्दाबारे स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।