३१ ठूला करदातालाई १० दिनभित्र कर तिर्न महानगरको पत्र

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउन पत्र काट्ने अभियान सुरु गरेको छ । सोही अभियानका क्रममा बुधबार ३१ ठूला करदातालाई घरजग्गा सम्पत्ति कर बुझाउन पत्र काटेको छ ।

महानगरअन्तर्गत राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार बुधबार ३१ ठूला करदाता र १० जनाको नाममा पत्र काटिएको छ । ‘महानगरलाई कर नतिर्नेमा ठूला करदाता मात्र होइनन् । सामान्य व्यक्ति पनि उत्तिकै छन् । अब ठूला करदातासँगसँगै अन्यका नाममा पनि पत्र काट्दै जान्छौँ । आजदेखि व्यक्तिका नाममा पनि पत्र काट्ने काम सुरु भयो,’ डा. अधिकारीले भने ।

महानगरले ४१ व्यक्ति तथा संस्थालाई १० दिनभित्र वडा कार्यालयमा घरजग्गा–सम्पत्ति कर र सोको जरिवाना, सम्पत्ति बहालमा लगाएको भए बहालमा लिनेदिनेबीचको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशत हुन आउने बहाल करसहित बुझाउन भनेको छ । तोकेको अवधिमा कर नतिरे राजस्व ऐन, ०७५ बमोजिम कारबाही गरी बाँकी कर र रकम असुुल गर्ने महानगरले जनाएको छ । 

 कर नतिर्ने यी हुन् ३१ ठूला करदाता
महानगरका अनुसार पत्र काटिएका ३१ ठूला करदातामा जयनेपाल हल हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल टे«डिङ कन्सर्न, पूजा इन्टरप्राइजेज प्रालि, ल्यान्डमार्क होटेल, ओम सान इन्टरनेसनल कलेज, वल्र्ड टे«ेड सेन्टर त्रिपुरेश्वर, सिभिल मल सुन्धारा, सिटिसी मल सुन्धारा, एनआरटी क्बल रहेका छन् । 

यस्तै, बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रस सोसाइटी, ब्लु बर्ड इन्भेस्टमेन्ट, होटेल प्लाटिनम (महावीर प्यालेस), आदर कम्प्लेक्स बल्खु, ब्याट्री कारखाना बालाजु, सिद्धार्थ वनस्थली स्कुल, एडभान्स अटोमोबाइल्स प्रालि छन् । 

भिजी अटोमोबाइल्स प्रालि, आदर्शनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, स्टार होल्डिङस, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज प्रालिलाई पनि महानगरले पत्र काटेको छ । कर नतिर्ने व्यक्तिको नाममा समेत महानगरले पत्र काट्न थालेको छ ।

महानगरले बुधबार १० जना व्यक्तिको नाममा पत्र काटेको छ । महानगरका अनुसार वडा १ का रवीन्द्रकुमार मल्ल, सुभाषकुमार घिमिरे÷सानुभाइ बखुन्छे वडा नम्बर १, मसिना अमात्य वडा नम्बर १, रविना श्रेष्ठ वडा नम्बर २, शिशु अर्यालको नाममा पत्र काटेको छ । योगनाथ पौडेल वडा नम्बर १६, प्रदीपरत्न ताम्राकार, उदयरत्न ताम्राकार र विजय रत्न ताम्राकार वडा नम्बर २०, वसुन्धरा तुलाधार वडा नम्बर २२, पुरुषोत्तम संघई वडा नम्बर २८, किरण संघई वडा नम्बर २८ को नाममा समेत १० दिनभित्र कर तिर्न पत्र काटेको छ । 

महानगरले बुधबार पत्र काटेको व्यक्ति तथा संघ–संस्थाबाट करिब १० करोड रुपैयाँ कर उठाउन बाँकी रहेको जनाएको छ । राजस्व विभाग प्रमुख डा. अधिकारीका अनुसार ती व्यक्ति तथा संघसंस्थाबाट करिब १० करोड कर उठाउन बाँकी छ ।

See More On

सुझावित समाचार